
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो।
- उनले राजनीतिक दलका केन्द्रीय पदाधिकारीले ६० दिनभित्र सम्पती विवरण बुझाउनुपर्ने ऐनको पालना नभएको उल्लेख गर्नुभयो।
- थपलियाले दलहरू ऐनविपरीत चल्दा मुलुकको विकास, सुशासन र संस्थागत उन्नतिमा गम्भीर असर परेको बताउनुभयो।
११ भदौ, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गरे ।
बुधबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरू ऐनविपरीत लुकामारी खेलेजसरी चलिरहेको आरोप लगाएका हुन् ।
थपलियाले राजनीतिक दलका केन्द्रीय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पती विवरण राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्ने ऐनमा व्यवस्था भएपनि कुनैपनि दलले त्यसको कार्यान्वयन नगरेको बताए ।
‘राजनीतिक दलका केन्द्रीय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । कसैले पनि बुझाएको छैन । निर्वाचन आयोगले माग्दा सबैले बुझाएको छ भनेर पत्र लेख्छन्,’ उनले भने ।
थपलियाले थपे, ‘त्यो कार्यालयमा छिर्ने अधिकार आयोगलाई हुँदैन । यसरी राजनीतिक दलहरू लुकामारी खेले जसरी चलिरहेका छन् ।’
उनले राजनीतिक दलहरू नै ऐनविपरीत चल्दा मुलुकको विकास, सुशानस र संस्थागत उन्नतिका विषयमा गम्भीर असर परेको तर्क गरे ।
‘अब कहाँको सुशासन, कहाँको समृद्धि, कहाँको विकास र कहाँको संस्थागत उन्नति ? हामीले यी सबै कुराहरू समावेश गरेर कानून बनाएका छौं । त्यो ऐनको ड्राफ्ट पठाउन पहल गरौं,’ उनले भने ।
उनले थपे, ‘त्यो कानून पारित गर्न सक्यौं भने फेरी पनि यस्तमा विषयमा यो खाले छलफल गरिरहनु पर्दैन । बरु कार्यान्वयनका विषयमा छलफल गर्न सकिन्छ ।’
थपलियाले मुलुकको विकास र समृद्धिको दायित्व राजनीतिक दललाई भएको उल्लेख गर्दै दलहरू मजबुत र संस्थागत नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताए ।
प्रतिक्रिया 4