
News Summary
Generated by OK AI. Editorially reviewed.- डर एक प्राकृतिक मनोवैज्ञानिक र शारीरिक प्रतिक्रिया हो जुन खतराको सम्भावना वा अनिश्चित अवस्थाले उत्पन्न गर्छ।
- डरले हाम्रो सुरक्षा सुनिश्चित गर्न मद्दत गर्छ र मस्तिष्कको एमिगडाला भागले यसलाई नियन्त्रण गर्छ।
डर एक जटिल र बहुआयामिक भावना हो, जुन मानव जीवनको अभिन्न अंग हो। यो एक प्राकृतिक मनोवैज्ञानिक र शारीरिक प्रतिक्रिया हो । खतराको सम्भावना, अनिश्चितता वा अपरिचित अवस्थाको सामना गर्दा डर उत्पन्न हुन्छ ।
डरले हामीलाई सचेत बनाउँछ, हाम्रो सुरक्षा सुनिश्चित गर्न मद्दत गर्छ । डरले प्राचीन कालदेखि हाम्रो अस्तित्वका लागि महत्वपूर्ण भूमिका खेलेको छ । यो भावनालाई मस्तिष्कको एमिगडाला नामक भागले नियन्त्रण गरेको हुन्छ । एमिगडाला भावनात्मक प्रतिक्रियाको केन्द्र हो । डरले हाम्रो मुटुको बढाउँछ, पसिना आउँछ र मांसपेशीमा एक खालको तरंग पैदा हुन्छ ।
हाम्रो मस्तिष्कमा डर उत्पन्न भएपछि भाग्ने, लुक्ने, सतर्क रहने वा लड्ने जस्ता प्रतिक्रिया शरीरले देखाउँछ ।
डरले कहिलेकाहीँ हाम्रो दैनिक जीवनमा बाधा पनि पुर्याउँछ, जस्तै: कुनै नयाँ कुरा गर्न वा जोखिम लिन डराउने बानीले प्रगतिमा असर परिरहेको हुन्छ ।
के हो डर ?
डरको उत्पत्ति हाम्रो जैविक विकाससँग जोडिएको छ । प्रागैतिहासिक युगमा, मानिसहरू जंगली जनावर, प्राकृतिक विपद् र अन्य खतराहरूसँग निरन्तर लडिरहन्थे । डरले तिनीहरूलाई ती खतराहरूबाट बच्न र जीवित रहन मद्दत गर्यो । समयसँगै, यो भावना विकसित भयो र केवल शारीरिक खतरामात्र होइन, सामाजिक, भावनात्मक र मनोवैज्ञानिक अवस्थाहरूसँग पनि डर जोडिन पुग्यो।
त्यही अनुसार आज हामीले असफलताको डर, कसैसँगको सम्बन्धको डर, अरूका सामुन्ने राम्रो नदेखिएलाकी भन्ने डर, कसैले आफ्नो भन्दा बढी प्रगति गर्ला कि भन्ने जस्ता अनेको भावनात्मक डरहरू बोकिरहेका हुन्छौँ ।
मनोवैज्ञानिक रूपमा, डर एक संकेत हो कि हाम्रो दिमागले कुनै कुरालाई खतरा वा हानिकारक ठानेको अवस्थामा उत्पन्न हुने एक मनोवैज्ञानिक संकेत हो डर । यो हाम्रो अचेतन मनद्वारा सञ्चालित हुन्छ । अनुभव, सिकाइ, र वातावरणीय प्रभावहरूका आधार डर उत्पन्न हुन्छ ।
जस्तै: यदि कसैले कुनै समय कुकुरको टोकाइको सामना गरेको छ भने, ती व्यक्तिले जीवनभर कुकुरप्रति डर महसुस गर्न सक्छन् । कसैबाट सिकेको, देखेको वा त्यसबारे अरू कसैले मनमा उत्पन्न गराइदिएको भावनाका आधारमा कुनै वस्तु वा परिस्थितिसँग हामी डराउँछौँ ।
उदाहरणका लागि हामी भूतप्रेत हुन्छ भनेर डराउँछौँ किनकि त्यसबारे हामीलाई हाम्रा अभिभावक वा अरू कसैले विभिन्न कहानीहरू सुनाएका छन् ।
किन डर लाग्छ ?
मानिसलाई डर लाग्नुको धेरै कारणहरू छन्
१. जैविक कारण
डर हाम्रो शरीरको रक्षात्मक प्रणालीको हिस्सा हो । हाम्रो घाँटीमा रहेको हाइपोथ्यालामसले खतरा पहिचान गरेपछि तत्काल हर्मोन जस्तै एड्रिनालिन र कोर्टिसोल छोड्छ, जसले हामीलाई तयार रहन र प्रतिक्रिया दिन सक्ने बनाउँछ । यो प्रक्रिया ‘लडाइ’ वा ‘भागाइ’ प्रतिक्रियाको आधार हो। उदाहरणका लागि, यदि हामीले एउटा सर्प देख्यौं भने, हाम्रो शरीर स्वतः डरको अवस्थामा प्रवेश गर्छ र हामीलाई भाग्न वा सचेत रहन प्रेरित गर्छ । यो प्राकृतिक डरले हामीलाई जीवित राख्न मद्दत गरेको छ।
२. सामाजिक कारण
मानव समाजमा डरको भूमिका फरक हुन्छ । हामीले अरूको स्वीकृति, सम्मान र सफलताको डर महसुस गर्छौं । जस्तो कसैले आफ्नो काममा असफल हुने डरले नयाँ परियोजनामा हात हाल्न डराउँछ । यस्तो डर सामाजिक दबाब, परिवारको अपेक्षा वा समाजको न्यायको डरसँग जोडिएको हुन्छ । युवा उमेरमा सहपाठीको तिरस्कारको डरले कसैले आफ्नो प्रतिभा प्रदर्शन गर्न हिच्किचाउँछ । यी डरहरूले हामीलाई सामाजिक मर्यादामा बस्न बाध्य गर्छ, तर कहिलेकाहीँ यो हाम्रो व्यक्तिगत विकासमा बाधक पनि बन्छ।
३. व्यक्तिगत अनुभव र मनोवैज्ञानिक कारण
हरेक व्यक्तिको डर फरक हुन्छ किनभने यो हाम्रो व्यक्तिगत अनुभव, संस्कृति, र मानसिक अवस्थासँग जोडिएको हुन्छ । यदि कसैले आफ्नो जीवनमा ठूलो आर्थिक नोक्सानी बेहोरेको छ भने उसलाई थप नोक्सानीको डरले सताइरहन्छ । अँध्यारो, उचाइ वा पानीको डर धेरै लाग्ने व्यक्तिगत स्वभाव पनि हुन्छ धेरैको । यो व्यक्तिगत अनुभव वा कल्पनाको परिणाम हुन सक्छ।
मनोवैज्ञानिक रूपमा, चिन्ता र डरबीच नजिकको सम्बन्ध हुन्छ । चिन्तित व्यक्तिहरूले साना कुरालाई पनि ठूलो खतरा ठान्छन्, जसले डरलाई बढाउँछ।
४. अज्ञातको कारण
मानिसलाई अज्ञात कुराप्रति डर लाग्नु स्वाभाविक हो । मृत्यु, भविष्य वा अनजान ठाउँमा जानु जस्ता कुराहरूले डर उत्पन्न गर्छन्। यो डरले हामीलाई नियन्त्रण बाहिरको कुराबाट बच्न प्रेरित गर्छ ।
५. सांस्कृतिक कारण
संस्कृति र धर्मले पनि डरको रूप र तीव्रतामा प्रभाव पार्छ । जस्तो समाजमा भूतप्रेतको डर प्रचलित छ, जुन कथाहरू र विश्वासले बढाएको हुन्छ । यस्तै, कतिपय समुदायमा सामाजिक बहिष्कारको डरले मानिसहरूलाई सामाजिक नियम पालना गर्न बाध्य गर्छ।
डरको सकारात्मक र नकारात्मक पक्ष
डर सधैं नकारात्मक नहुन सक्छ । सकारात्मक रूपमा, यसले हामीलाई सतर्क र तयारी रहन मद्दत गर्छ । तर, अत्यधिक डरले चिन्ता, डिप्रेसन वा फोबिया जस्ता समस्याहरू निम्त्याउन सक्छ । जस्तै, सामाजिक डरले कसैलाई नयाँ मानिससँग कुरा गर्नबाट रोक्छ।
डरलाई कसरी व्यवस्थापन गर्ने ?
डरको सामना गर्न मनोवैज्ञानिक र व्यावहारिक उपायहरू अपनाउन सकिन्छ । पहिलो, डरको कारण पहिचान गर्नु जरुरी छ । दोस्रो, सानो-सानो कदम चाल्दै डरसँग भेट्नुले डर कम गर्न सक्छ। तेस्रो, ध्यान, योग, र सकारात्मक सोचले मनलाई शान्त राख्न मद्दत गर्छ ।
प्रतिक्रिया 4