+
+
Shares

नेफ्स्कुनमा पनि दोहोरो पद समस्या उस्तै, वरिष्ठ उपाध्यक्षदेखि सबै कानुन विपरीत

नेफ्स्कुन सञ्चालक समितिदेखि लेखा समितिका पदाधिकारीहरू सहकारी ऐन २०७४ विपरीत दोहोरो पदमा बसेको पाइएको हो ।

भुवन पौडेल भुवन पौडेल
२०८२ भदौ १२ गते २१:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेफ्स्कुनका अधिकांश पदाधिकारी सहकारी ऐन २०७४ विपरीत दोहोरो पदमा बसेको पाइएको छ।
  • सहकारी ऐन २०७४ अनुसार एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन पाइँदैन।
  • सहकारी विभागले दोहोरो पदमा रहेका पदाधिकारीलाई बारम्बार सच्याउन निर्देशन दिएको छ।

१२ भदौ, काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) का अधिकांश पदाधिकारी अयोग्य देखिएका छन् ।

नेफ्स्कुन सञ्चालक समितिदेखि लेखा समितिका पदाधिकारीहरू सहकारी ऐन २०७४ विपरीत दोहोरो पदमा बसेको पाइएको हो ।

नेफस्कुनमा लेखा समितिका पदाधिकारी सहित कुल २२ सदस्य छन् । तीमध्ये १८ जना जुन संस्थाको प्रतिनिधित्व गरेर नेफ्स्कुन आएका हुन् । सोही संस्थाको अध्यक्ष तथा सञ्चालकमा बहाल रहेका हुन् ।

सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ अनुसार कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ ।

त्यसैगरी सोही ऐनको दफा ४४ को ‘ग’ ले पनि अर्को सहकारी संस्थाको सञ्चालक रहेको अवस्थामा आफ्नो पदमा बहाल रहन नपाउने व्यवस्था छ ।

सहकारी क्षेत्रमा काम गर्ने पदाधिकारीहरूले राजनीतिमा आबद्ध भई बहुसंस्थामा जिम्मेवार तहमा बस्ने कारण पनि यो क्षेत्रमा समस्या जटिल भएको राष्ट्रिय सहकारी प्राधिकरणका एक अधिकारीले बताए । उनका अनुसार सहकारी समस्याको मुख्य जड नै दोहोरो, तेहरो पद तथा राजनीतिक संरक्षण रहेको ती अधिकारीका भनाइ छ ।

सहकारी संघसंस्थामा दोहोरो पदमा रहेको पदाधिकारीका सन्दर्भमा सहकारी विभागले बारम्बार सच्याउन निर्देशन दिने गरेको रजिस्ट्रार उमेश ढुंगानाले बताए ।

‘दोहोरो पदमा भएका कारण कारबाही नै गरेको अवस्था नभए पनि औपचारिक तथा अनौपचारिक भेटघाटमा त्यसलाई सच्याउन सुझाउने गरेका छौं,’ ढुंगानाले भने, ‘विभागले निर्देशन दिए पनि सहकारी संघसंस्थाले पालना नगर्दा पनि समस्या आएको हो ।’

विभागको निर्देशन पालना नगरेको भनेर जरिबाना गर्न सकिने व्यवस्था पनि त्यस्तो नगरेको ढुंगानाल बताए । दोहोरो पदमा रहन नपाइने विषयमा बस्ने व्यक्ति कानुनी व्यवस्थाको विषयमा जानकार भएर पनि त्यस्तै काम दोहोर्‍याउने समस्याले जटिलतातर्फ लगेको उनको भनाइ छ । सहकारीलाई स्वनियमन भनिएकाले पनि यस्ता समस्या दोहोरिने गरेको ढुंगााको भनाइ छ ।

सहकारी संघसंस्थामा दोहोरो पदमा रहेको पदाधिकारीका सन्दर्भमा सहकारी विभागले बारम्बार सच्याउन निर्देशन दिने गरेको रजिस्ट्रार उमेश ढुंगानाले बताए ।

नेफ्स्कुनमा वरिष्ठ उपाध्यक्ष रहेका दामोदर अधिकारी सिको सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष हुन् । उनी सिको अध्यक्षमा बहाल रहँदै गर्दा नेफ्स्कुनको वरिष्ठ उपाध्यक्षको पदमा पनि छन् ।

त्यसैगरी उपाध्यक्ष शान्ति अधिकारी प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक हुन् । नेफ्स्कुनको महासचिवको जिम्मेवारीमा रहेका घनश्याम अधिकारी झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक हुन् ।

त्यसैगरी नेफ्स्कुनमा कोषाध्यक्ष रहेका दीपक थापा मधुवन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक हुन् । उनी उक्त संस्थाका बहालवाला सञ्चालक हुन् ।

त्यसैगरी नेफ्स्कुनकी सञ्चालक समिति सदस्य कमला गिरी सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी पनि सञ्चालकमा बहाल छन् ।

नेफ्स्कुन सञ्चालक समिति सदस्य मन्दरा मिश्र नालाछाप सेभिङ एन्ड क्रेडिट कोअपरेटिभकी बहालवाला सञ्चालक हुन् । नेफ्स्कुन सञ्चालक समिति सदस्य सुशील बस्नते ओम साइराम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।

त्यसैगरी सदस्य लक्ष्मी सापकोटा भने कोशी प्रदेश बचत संघ पदाधिकारी हुन् भने अर्की सदस्य ज्ञानु पौडेल विशिष्टिकृत संघ रुपन्देही अध्यक्ष हुन् ।

त्यसैगरी शोभाकुमारी राउत नेफ्स्कुन सदस्यसँगै निजगढ महिला बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिमा छिन् ।

नागरिक बचत तथा ऋण सहकारी संस्थाकी कार्यकारी अध्यक्ष रहेका दिप्ति शाह पनि नेफ्स्कुन सञ्चालक समिति सदस्य हुन् । त्यसैगरी नेफ्स्कुन सदस्य खेमराज सुवेदी सहयात्री बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष हुन् । सुवेदी ६ भदौमा भएको साधारणसभाबाट पनि अध्यक्ष चुनिएका हुन् ।

त्यस्तै पिसल्यान्ड बचत तथा ऋण सहकारी संस्थामा सञ्चालक रहेका नवराज अर्याल पनि नेफ्स्कुनको कार्यकारी समिति सदस्य छन् । नेफ्स्कुन सदस्य देवकुमार श्रेष्ठ मुनाल बचत तथा ऋण सहकारी संस्थाको कार्यकारी अध्यक्ष रहेको स्रोतले अनलाइखबरलाई बतायो ।

यस्तै शालिकराम ढकाल पनि नेफ्स्कुन सदस्य रहेकै अवस्थामा किसान कल्याण बचत तथा ऋण सहकारी संस्थामा कार्यकारी अध्यक्ष छन् ।

अर्का नेफ्स्कुन सदस्य वीरबहादुर रावत भोटे हिमाल बचत तथा ऋण सहकारी संस्था अध्यक्षमा बहाल रहेको स्रोतको भनाइ छ । नेफ्स्कुन लेखा समिति सदस्य समेत दोहोरो पदमा छन् ।

लेखा समिति संयोजक रहेका इन्द्रज्योति पौडेल भीवाईसीसीयु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् भने सदस्यहरू हेमराज विष्ट चौधरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । लेखा समिति सदस्य दुर्गा तिवारी पनि महिला अधिभया बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिमा रहेको स्रोतको दाबी छ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?