
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय मानव अधिकार आयोगले युवाहरूको प्रदर्शनमा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको जनाएको छ।
- आयोगले मृतक परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रित भएको बताएको छ।
- आयोगले घटनाको निष्पक्ष, विश्वसनीय र सुक्ष्म अनुसन्धानको माग गर्दै दोषीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
२३ भदौं, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोग युवाहरूको प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिएपछि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको जनाएको छ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गरी लोकतान्त्रिक सरकारले नागरिकको उचित आवाजलाई समयमै पहिचान गर्नुपर्ने औंल्याएको हो। उसले सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नुलाई ‘दु:खद’ भन्ने बाहेक अरु टिप्पणी गरेको छैन।
प्रदर्शनपूर्व उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन र प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न सुझाव दिएको मानव अधिकार आयोग आन्दोलनको दमनका विषयमा थप टिप्पणी गर्नुभन्दा ‘मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन’ केन्द्रित बनेको छ।
आन्दोलनको पूर्वसंकेत पाइसकेको आयोग जनज्यानको क्षति हुने घटना भइसकेपछि समेत मौन थियो। प्रदर्शन र मानव अधिकार उल्लंघनका घटनाको सघन अनुगमनको नेतृत्व गर्नुपर्ने आयोगका अध्यक्ष तपबहादुर मगर आफैं दिनभर भाषा आयोगको गोष्ठीमा व्यस्त थिए। चौतर्फी रूपमा आयोगको मौनतामाथि प्रश्न उठेपछि आयोगले विज्ञप्ति निकालेको हो।
मानव अधिकार आयोगका अध्यक्ष मगरलगायत सबै पदाधिकारीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त भएका हुन्। उनीहरूमाथि सरकारका मानव अधिकार उल्लंघनका घटनामा मौन हुने गरेको आरोप लाग्दै आएको छ। १६ जनाको ज्यान जाने गरीको अत्यधिक बल प्रयोगको घटनामाथि टिप्पणी गरेको आयोग तुलनात्मक रूपमा सरकारको काम–कारबाहीप्रति मौन देखिएको छ।
आयोगले प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गर्न खाजेको भन्दै त्यसपछि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहारको घटना भेटिएको जनाएको छ। मर्नेहरूमध्ये प्राय:लाई टाउको र छातीमा गोली लागेको घटनामा आयोगले कुनै टिप्पणी गरेको छैन। आयोगले अनुगमनका क्रममा आफ्नै सवारीसाधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको दावी गरेको छ।
आयोगले घटनाको निष्पक्ष, विश्वसनीय र सुक्ष्म अनुसन्धानको माग गरेको छ, अनि दोषीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। अनि आयोगले आफ्नो प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन प्रदर्शनकारीलाई आग्रह गरेको छ।
प्रतिक्रिया 4