+
+
Shares

दिलनारायणमाथि निर्दयी सरकारको गोली, बानेश्वरमा अन्त्य भयो एक मजदुरको सपना

काभ्रेको तेमाल–७ काल्धरका दिलनारायण तामाङ पाटनमा मजदुरी गर्दै आएका थिए। बिहीबार मकै थन्काउन घर आएका उनी विरामी हजुरबालाई लिएर शुक्रबार काठमाडौं फर्किए। तर, उपचार गराउन नपाउँदै सोमबार प्रहरीको गोली लागेर उनको मृत्यु भयो।

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ २४ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकका मिस्त्री दिलनारायण तामाङ बानेश्वरमा जेएनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका छन्।
  • दिलनारायणको शव एभरेष्ट अस्पतालबाट शिक्षण अस्पताल लगिएको छ र परिवारले हत्यारामाथि कारबाही नभएसम्म शव नबुझ्ने निर्णय गरेको छ।
  • उनको मृत्युले काल्धर गाउँमा शोक छाएको छ र परिवारले न्यायको माग गरिरहेको छ।

२४ भदौ, काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको तेमाल– ७ काल्धरका दिलनारायण तामाङ ललितपुरको पाटनमा मिस्त्री काम गर्थे ।

अधिकांश समय काठमाडौं उपत्यकामै रहने उनी खेतीपातीका लागि भने बेला–बेला गाउँ जाने गर्थे। यसपटक पनि उनी गाउँ आए। मकै भित्र्याएर बिहीबार काठमाडौं नै फर्किए।

मजदुरी गरेर जीवन निर्वाह गर्दै आएकाले उनी काठमाडौं फर्कनै थियो। त्यसमाथि हजुरबुबा इमानसिं तामाङको पिसावमा समस्या देखिएपछि उनलाई उपचारका लागि लिएर शुक्रबार गाउँबाट काठमाडौं हिँडेका थिए।

सोमबार राजधानीको बानेश्वर चोकमा भएको जेनजी प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर उनको प्राण उड्यो। हजुरको उपचार नै गर्न नपाई एक मजदुरको जीवनयात्रा बानेश्वरमै टुंगियो।

सोमबार राजधानीको बानेश्वर चोकमा भएको जेनजी आन्दोलनका क्रममा तामाङको मृत्यु भएको उनका भाई चतुरसिंह तामाङले पुष्टि गरेका छन् ।

पाटनबाट शंखमुल हुँदै बानेश्वर आएका उनको  बानेश्वरमा नै गोली हानेको हुन सक्ने उनले बताए। ‘दिउँसो २:३० बजेसम्म कोठामै थिए, कतिखेर निस्किए परिवारलाई थाहै थिएन, भाइले सुनाए।

उनका अनुसार १२–१३ वर्षदेखि ललितपुरको पाटनमा मिस्त्री काम गर्दै आएका दिलनारायणले त्यसैको भरमा परिवार पाल्दै आएका थिए । पाटनकै एक विद्यालयमा अध्ययनरत दुई छोरा एकाएक सहारा गुमाउन पुगे ।

प्रहरीको गोली लागेर ढलेका उनलाई उपचारको लागि काठमाडौंको एभरेष्ट अस्पताल पुर्‍याइएको थियो। अस्पतालले त्यसअघि नै मृत्यु भएको घोषणा गर्‍यो । उनको मृत्यु खबर भने परिवारले बेलुकी मात्र थाहा पायो । ‘दिउँसभर थाहा भएन हामीले थाहा पाउँदा दाई त लास बनिसकेछ,’ चतुरमानले पीडा पोखे ।

भाईका अनुसार दिलनारायणको शव एभरेष्ट अस्पतालबाट महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ। परिवार शव बुझ्ने पक्षमा छैन ।

‘हत्यारामाथि कारबाही नभएसम्म दाइले न्याय पाउँदैन। त्यसैले हामी अहिले शव बुझ्दैनौं,’ चतुरमानले भने ।

‘दिलनारायणको निधनले सिंगै काल्धर शोकमा डुबेको छ,’स्थानीय चेत लामाले भने, ‘लामो समयदेखि पसिना बगाएर घर चलाउँदै आएका उनको परिवारमाथि त बज्रपात नै भएको छ ।’

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?