
News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशसभाको भवन पूर्णरूपमा जलेर नष्ट भएको छ।
- सरकारी मन्त्रालय, कार्यालय र निजी सम्पत्तिमा आगजनी र तोडफोडले ठूलो क्षति पुगेको छ।
- एमाले र कांग्रेसका नेता र पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड भएको छ।
२५ भदौ, जनकपुरधाम । जेनजीको आन्दोलनका क्रममा जनकपुरमा पनि विभिन्न सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुगेको छ ।
आगजनीका कारण मधेश प्रदेशसभाको भवन पूर्णरूपमा जलेर नष्ट भएको छ। यस्तै जनकपुरधाम उपमहानगरपालिकाको ५ तल्ले भवन समेत खण्डहर बनेको छ ।
तोडफोड र आगलागीबाट शिक्षा तथा संस्कृति मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लगायतका मन्त्रालयमा क्षति पुगेको छ ।
यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश भवनको मुख्य प्रवेशद्वार, अन्य मन्त्रालय र सरकारी आवाससमेत तोडफोडको निशाना बनेका छन्।
मधेश प्रदेश लोकसेवा आयोगको कार्यालय जलेको छ । भन्सार कार्यालय र जनकपुर यातायात व्यवस्था कार्यालयमा समेत आगजनी र तोडफोड भएर क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषासहितका अन्य कार्यालयमा समेत क्षति पुगेको छ । निजी सम्पत्तिमा समेत आगलागी र तोडफोड भएको छ । नेकपा एमालेका नेता रघुवीर महासेठको जनकपुरधाम–९ ब्रह्मपुरीस्थित निवास पूर्णरूपमा जलेर ध्वस्त भएको छ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, कांग्रेस सह महामन्त्री महेन्द्र यादवको घरमा समेत आगजनी तोडफोडले क्षति पुगेको छ। धनुषाको विदेह नगरपालिकामा पनि आगजनी भएको छ ।
एमाले र कांग्रेस दुबैको पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको छ । यस्तै, जनकपुरस्थित भाटभटेनी सुपरमार्केटमा हिजो र आज तोडफोड, लुटपाट र आगजनीको प्रयास गरिएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले सकेसम्म सरकारी सम्पतिको सुरक्षाको प्रयास गर्दा थप क्षति हुनबाट जोगिएको बताए।
प्रतिक्रिया 4