
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन्।
- उनले अन्तरिम सरकार गठन र संसद् विघटन अविलम्ब गर्न राष्ट्रपतिलाई सामाजिक सञ्जालमा आग्रह गरेका छन्।
२५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन् । तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनले बताएका छन् ।
‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् ।
संवेदनशिल समयमा विकास हुने घटनाक्रमको नेतृत्व गर्नका लागि कानून र विधिको रक्षा गर्नसक्ने इमान्दार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले कार्कीको नाम प्रस्ताव गरिएको बताइएको छ ।
बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए ।
बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।
धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए ।
यसअघि मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन भनेका थिए ।
बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेका थिए । उनले संयोजक समेत तोकेर आउन आग्रह गरेका थिए । त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो ।
त्यसक्रममा कतिपयले गणान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए । त्यही कारण रक्षा बमसहितको समूह बाहिरिएको थियो । यद्यपि, अन्तिममा कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति भएको थियो ।
प्रतिक्रिया 4