+
+
Shares

शंकर ग्रुपले भन्यो- सुदन गुरुङको संस्था र राजनीतिसँग आबद्ध छैनौं

कोभिडका बेलायता सुदन गुरुङ र उनको संस्थासँग कुनै पनि सहकार्य नगरिएको र उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग कुनै सरोकार र सम्बन्ध नरहेको शंकर ग्रुप अन्तर्गतको संस्था इन्फिनिटी होल्डिङ्सले जानएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ भदौमा जेनजी समूहको अगुवाइमा भएको प्रदर्शनपछि काठमाडौंको पाँचतारे होटल हिल्टनमा आगजनी भएको छ।
  • इन्फिनिटी होल्डिङ्सले कोभिड महामारीमा हामी नेपाल संस्थासँग सहकार्य गरेको भए पनि अहिले कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
  • होटल हिल्टनमा भएको आगजनीले नेपालको व्यापार, पर्यटन र आर्थिक क्षेत्रमा गम्भीर असर परेको इन्फिनिटी होल्डिङ्सले जनाएको छ।

३० भदौ, काठमाडौं । जेनजी आन्दोलनकारी समूहका अगुवा सुदन गुरुङ र उनको संस्थासँग जोडेर आएका समाचारहरुप्रति असहमति जनाउँदै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सले सो संस्था र उनीहरुको राजनीतिसँग कुनै सम्बन्ध नरहेको बताएको छ ।
दुवै संस्थाले संयुक्त बिज्ञप्ति जारी गर्दै गुरुङले नेतृत्व गर्ने ‘हामी नेपाल’ संस्था र उसको राजनीतिसँग आफ्नो कुनै संलग्नता र सरोकार नरहेको जनाएको हो ।

केही दिनयता जेनजी अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीप्रति इन्फिनिटी होल्डिङ्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका बेला इन्फिनिटी होल्डिङ्सले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्यकर्म गर्नुपर्दछ भन्ने उद्देश्यले सुदन गुरुङ संलग्न संस्था ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेको तर त्यसपछि कुनै सम्बन्ध र सहकार्य नरहेको उसले स्पष्ट पारेकाे छ ।

‘हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीको उपचार र पुनर्स्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ, उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो,’  विज्ञप्तिमा भनिएको छ, ‘त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीलाई सहयोग गर्न उहाँहरूलाई परिचालन पार्टनर छनोट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।’

त्यसबेला उक्त सहयोग पारदर्शी रूपमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको र त्यतिबेलै सार्वजनिक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराइएको इन्फिनिटीले जनाएको छ । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि इन्फिनिटीले गरेको सहयोगलाई पारदर्शी रूपमै उल्लेख गरेर इन्फिनिटीको लोगो प्रयोग गरेको थियो ।

त्यसयता सुदन गुरुङ र उनको संस्थासँग कुनै पनि सहकार्य नगरिएको र उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग कुनै सरोकार र सम्बन्ध नरहेको इन्फिनिटीको भनाइ छ ।

तथापि, पछिल्लो समयमा केही सञ्चारमाध्यमले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्स तथा यसका सञ्चालकहरूसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोड्ने र भ्रामक खबरहरू प्रकाशन गरिनु दुःखद रहेको भन्दै इन्फिनिटी होल्डिङ्सले यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले आफूहरूसँग सोधखोज नगरेको एवं सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन र प्रसारण गरेको गुनासो गरेको छ ।

प्रदर्शनकारीले गरेको आगजनीबाट ध्वस्त हिल्टन होटल । याे हाेटल शंकर ग्रुप अन्तर्गतकाे इन्फिनिटी हाेल्डसङ्सले सञ्चालन गरेकाे थियाे ।

नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु हाम्रो गल्ती थियो ?

नेपालमा पछिल्लो पटक स्थापना भएर प्रमुख पाँचतारेमा दरिएको अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड हिल्टनको नेपालस्थित सञ्चालक कम्पनीले ठूलो जोखिम मोलेर नेपालमा लगानी गर्नु गल्ती हो भन्दै प्रश्न गरेको छ ।

जेनजी समूहको अगुवाइमा २३ भदौमा सुरु भएको विध्वंसकारी प्रदर्शनको भोलिपल्ट काठमाडौं नक्सालस्थित प्रमुख पाँचतारे होटल हिल्टन प्रदर्शनकारीको निसानामा परेको थियो । प्रदर्शनकारीले हिल्टनमा तोडफोड गरेपछि आगजनी गरेका थिए । आगजनीबाट होटल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगजनीबाट हिल्टनको भवन समेत काम नलाग्ने गरी क्षति भएको छ ।

प्रदर्शन क्रममा क्रममा थुप्रै व्यावसायिक संस्थाहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट भएको छ । यसैको चपेटामा आफूले सञ्चालन गरेको होटल हिल्टन पनि परेको होटल सञ्चालक कम्पनी इन्फिनिटी होल्डिङ्सले जनाएको छ ।

‘विभिन्न बाधा–व्यवधान हुँदाहुँदै हाम्रो अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको यो अन्तर्राष्ट्रिय चेन होटल हिल्टन खरानीमा परिणत भएको छ,’ इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र सञ्चालक साहिल अग्रवालले जारी गरेको विज्ञप्तिमा छ, ‘यसबाट भौतिक क्षतिमात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्र समेतमा गम्भीर असर परेको छ । यतिबेला हामी गहिरो शोकमा छौं । नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो रु हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं ।’

प्रत्यक्ष रूपमा इन्फिनिटी होल्डिङ्स होटल हिल्टनको लगानीकर्ता भए पनि यसमा आमनेपाल र नेपालीको गौरव जोडिएको महसुस गरेको उनीहरूको भनाइ छ ।

‘यसको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार जसरी फैलाए, त्यसैको शिकार अहिले यो होटल हुन पुग्यो । जुन बर्बरतापूर्ण घटना ९आगो लगाउने कार्य० ले विदेशी पर्यटक मात्र होइन, सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ,’ विज्ञप्तिमा छ, ‘तर, हामी विचलित पनि भएका छैनौं, हामीले होश गुमाएका छैनौं । किनकि हामीले थुप्रै राम्रा अवसरलाई तिलाञ्जली दिएर देशमै केही गरौं भनी आफ्नो उद्यमशीलता सुरु गरेका थियौं । यस संकटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट सरु गर्नेछौं र नेपाल अनि नेपालीका लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौं ।’

इन्फिनिटी होल्डिङ्सले जेनजी प्रदर्शनले देशमा नयाँ परिवर्तन ल्याएको र आन्दोलन क्रममा सहादत प्राप्त दजर्नौंप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

 

हेर्नुहोस् विज्ञप्ति :

प्रेस वक्तव्य

जन–जेड समूहको अगुवाइमा भाद्र २३ र २४ गते भएको आन्दोलनले देशमा नयाँ परिवर्तन ल्याएको छ । यस आन्दोलनका क्रममा दर्जनौं नेपाली नागरिकहरूले शहादत प्राप्त गर्नुभयो, उहाँहरू सबैमा हाम्रो श्रद्धा सुमनसहित भावफूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, आन्दोलनका त्रममा घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

यस परिवर्तनपछि केही दिनयता जेन जेडका अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीको समयमा हामीले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्य कर्म गर्नु पर्दछ भन्ने उद्देश्यले ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेका थियौं ।

त्यस क्रममा हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरूको उपचार र पुनर्स्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ । उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो । त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न उहाँहरुलाई परिचालन पार्टनर छनौट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।

हामीले उक्त सहयोग पारदर्शीरुपमा सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तरगत गरेका थियौं र त्यतिबेलै हामीले सार्वजनिकरुपमा प्रेस बक्तब्यमार्फत् जानकारी गराएका थियौं । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि हामीले गरेको सहयोगलाई पारदर्शीरुपमै उल्लेख गरेर हाम्रो संस्थाका लोगोहरु प्रयोग गरेको रहेछ ।

त्यसयता निज सुदन गुरुङ र उनको संस्थासँग हामीले कुनै पनि सहकार्य गरेका छैनौं । उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार र सम्बन्ध छैन ।

तथापि, पछिल्लो समयमा केही सञ्चारमाध्यमले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ तथा यसका सञ्चालकहरुसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोडने र भ्रामक खवरहरु प्रकाशन गरेको देख्दा हामीलाई दुःख लागेको छ । यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले हामीसँग सोधखोज गरेका छैनन्, सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन/प्रसारण गरेको देखिएको छ ।

यस आन्दोलनका क्रममा थुप्रै व्यावसायिक संस्थाहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट भएको छ । यसैको चपेटमा हामीद्वारा प्रर्बद्धित भर्खरै सञ्चालनमा आएको होटल हिल्टन समेत परेको छ । विभिन्न बाधा व्यवधानका बाबजुद हाम्रो अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको यो अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएको छ ।

यसबाट भौतिक क्षति मात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्र समेतमा गम्भीर असर परेको छ । यतिबेला हामी गहिरो शोकमा छौं । नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं ।

प्रत्यक्ष रूपमा हामी लगानीकर्ता भए पनि यसमा आम नेपाल र नेपालीजनको गौरव जोडिएको हामीले महसुस गरेका थियौं । यसको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार जसरी फैलाए, त्यसैको शिकार अहिले यो होटल हुन पुग्यो । जुन बर्बरतापूर्ण घटना (आगो लगाउने कार्य) बाट विदेशी पर्यटक मात्र होइन सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ ।

तर,  हामी विचलित पनि भएका छैनौं, हामीले होश गुमाएका छैनौं । किनकि हामीले थुप्रै राम्रा अवसरहरूलाई तिलाञ्जलि दिएर देशमै केही गरौं भनेर आफ्नो उद्यमशीलता शुरू गरेका थियौं । यस संकटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्नेछौं र नेपाल र नेपालीको लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौं ।

साथै, सामाजिक सञ्जाल र विभिन्न अनलाइन छापाहरूमा आएका भ्रामक र गलत कपोलकल्पित समाचारको पछाडि नलाग्न समेत हामी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा, बुबामा हार्दिक अपिल गर्दछौं ।

दीपक भट्ट

अध्यक्ष

इन्फिनीटि होल्डिङ्स

साहिल अग्रवाल

संचालक

शंकर ग्रुप

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?