+
+
Shares

खुला आकाशमुनि पाल राखेर शुरु भयो सर्वोच्चमा सुनुवाइ

आगजनीले गर्दा अदालतका सबैजसो फाइलहरू जलेका छन् । आगोले सूचना–प्रविधि प्रणालीको सर्भरमा क्षति पुगेकाले अनलाइनसँग सम्बन्धित सबैजसो कामहरू अवरुद्ध छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४ भदौको आगजनीपछि सर्वोच्च अदालतले ९ दिनपछि त्रिपालमा इजलास राखेर न्यायिक कामकारबाही सुरु गरेको छ।
  • सर्वोच्च अदालतले आगजनीले क्षति पुगेपछि अहिले बन्दीप्रत्यक्षीकरण र अत्यावश्यक मुद्दाको सुनुवाइ मात्र गर्न सक्ने जनाएको छ।
  • आगजनीले गर्दा अदालतका सबैजसो फाइलहरू जलेका छन्।

२ असोज, काठमाडौं । बिहान साढे ११ बजे, घाम चर्किंदै थियो । गएरातिको झरीले भुईंमा पानीको आहाल बनेको थियो । आगजनीपछिको धुलो र पानी मिसिँदा कालो हिलोको नराम्रो गन्ध पालभित्र फैलियो ।

अदालतका कर्मचारीहरूले अगाडी एउटा कुर्सी र टेबल, छेवैमा अर्को सानो कुर्सी र टेबुल अनि ठिक सामुन्ने एउटा कुर्सी र टेबुल राखेका थिए । पछाडीपट्टि लहरै तीनवटा बेञ्च मिलाएर राखिएको थियो ।

सर्वोच्च अदालतको क्यान्टिनको सामुन्ने खडा गरिएको पालभित्र हप्प गर्मी थियो । करिब साढे ११ बजेतिर अधिवक्ता विरेन्द्र पाठक पसिना पुछ्दै त्यही पालभित्र छिरे अनि मुद्दाको फाइल पढ्न थाले ।

करिब पौने ११ बजेतिर एक सहयोगीका साथ न्यायाधीश सपना प्रधान मल्ल पालभित्र छिरिन् । अदालतका कर्मचारीहरू र कानून व्यवसायी जर्‍याकजुरुक उठे र उनलाई नमस्कार गरे । पालबाहिर रमिता हेर्नेको ताँती थियो । त्यसपछि उनले पालभित्रै बसेर मुद्दाको सुनुवाइ थालिन् ।

000

२४ भदौको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले ९ दिनपछि सांकेतिक रुपमा भएपनि न्यायिक कामकारबाही शुरु भएको हो । आगजनीबाट बचेका केही कुर्सी र टेबुलहरू र एउटा त्रिपालको जोहो गरेर सर्वोच्च अदालतले खुला आकाशमा खडा गरिएको पालभित्र इजलास चलाएको हो ।

सामग्रीहरू जसरी जोरजाम गरिएको थियो कि त्यही बेला बेसरी पानी परेको भए इजलासमा रहेका न्यायाधीश र कागजात नै झरी र बाछिटाले भिज्ने अवस्था थियो । आधाजस्तो ह्वाङ्ग बनेको इजलासमा दुईतिरबाट खटिएका सुरक्षाकर्मीहरूले जसोतसो सुरक्षा दिइरहेका थिए ।

केहीबेरमा अधिवक्ता बिरेन्द्र पाठकले बेञ्चबाट उठेर आफ्ना कुरा राख्न थाले । बाँके कारागारमा रहेका  फिरोज आलमको थुना गैरकानूनी भएको भन्दै उनले रिहाइका लागि बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनुपर्ने माग गरे ।

भएछ के भने, कुनै जग्गा धितोमा राखेर ऋण लिएका फिरोजमाथि अरुको जग्गा कीर्ते गरेर लिएको भन्ने आरोप लागेछ । फिरोजलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई उच्च अदालत, तुलसीपुरले पनि सदर गरेछ । उनी त्यसविरुद्ध सर्वोच्च समेत आएका रहेछन् । तर, न्यायाधीशले जिल्लाबाट फाइल मगाउने आदेश गरेलगत्तै सर्वोच्चमा आगजनी भएछ ।

फेरि शुरुदेखि प्रक्रिया थाल्दा ढिलो हुने र आफ्नो क्लाइन्ट अन्यायमा पर्ने भन्दै अधिवक्ता पाठकले बन्दीप्रत्यक्षीकरणको आदेश गरिदिन माग गरे । सडकको होहल्ला र अदालतको भीडको आवाजले खुला पालभित्र बहसको आवाज सुन्न कठिन भएको थियो ।

कान चनाखो बनाई बहस सुनिरहेकी न्यायाधीश प्रधानले नोटबुकमा बहसको बुदा टिपिरहेकी थिइन् । करिब १० मिनेटको बहसपछि उनले भनिन्, ‘फाइल मगाउने आदेश गरिदिन्छु ।’ उनी उनले इजलास अधिकृतलाई आदेशको मस्यौदा गर्न लगाइन् ।

उनले अदालतको सबै फाइल ध्वस्त भएकाले मुद्दाको पक्षबाट नै कागजात मलाउनुपर्ला भनेर कानून व्यवसायी र इजलास अधिकृतसँग सरसल्लाह समेत गरिन् ।

त्यसपछि न्यायाधीश प्रधान पालबाट उठेर हिँडिन् । इजलास अधिकृतले त्यहाँ भएका फाइल र नोटकपि उठाएर हिँडे । त्यो पालबाट एकल इजलासको सेट नै उठ्यो । पालभित्र कुर्सीबेञ्च मात्रै बाँकी रहे ।

000

केहीबेरमा त्यहाँ अधिवक्ताहरू कमलेश द्विवेदी र मोहना अन्सारी छिरे र बेञ्चमा बसेर फाइल पल्टाउन थाले । न्यायाधीश कुमार रेग्मी इजलासमा आए, एक इजलास अधिकृत आइन् र अर्कोतिरको कुर्सीमा बसिन् । उनीहरू आउनुअघि सर्वोच्च अदालतको अभिलेख रहने एनेक्स भवनमा एकै ठाँउमा भेला भएका न्यायाधीशहरूले गोला प्रक्रियाबाट इजलास छानेका रहेछन् ।

न्यायाधीश रेग्मी इजलासमा आइसकेपछि उनीहरूले अर्को बन्दीप्रत्यक्षीकरणको निवेदन पेश गरे, र न्यायाधीशले संक्षिप्त सुनुवाइपछि नोटकपिमा केही लेखे र उठे । करिब आधा घण्टाको अवधिमा दुईवटा इजलास उठ्यो ।

खासमा बिहीबार सर्वोच्च अदालतमा दुईवटा एकल इजलास सञ्चालन भएको हो, तर ठाँउको अभावले शुरुमा एउटा एकल इजलास बसेर फेरि त्यहीँ नै अर्को इजलासले मुद्दाको संक्षिप्त सुनुवाइ गरेको हो । ठाँउ र अरु पूर्वाधारको अभावले सर्वोच्च अदालतले अहिलेलाई बन्दीप्रत्यक्षीकरण र केही महत्त्वपूर्ण बाहेक अरु मुद्दाको सुनुवाइ हुन नसक्ने भनेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, अरु केही गर्न नसकेपनि बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्नुपर्छ भनेर पूर्ण बैठक (फूल कोट) बाट निर्णय गरी पाल राखेरै काम शुरु भएको हो ।

‘अब विस्तारै अरु अत्यावश्यक मुद्दाहरूको प्रक्रिया पनि अघि बढ्नेछ,’ उनले भने, ‘दशैं बिदाअघि त्यसको प्रक्रिया अघि बढ्नसक्ने अवस्था छैन । दशैंको विदापछि मात्रै थप सेवा विस्तार गर्ने योजना छ ।’

आगजनीले गर्दा अदालतका सबैजसो फाइलहरू जलेका छन् । आगोले सूचना–प्रविधि प्रणालीको सर्भरमा क्षति पुगेकाले अनलाइनसँग सम्बन्धित सबैजसो कामहरू अवरुद्ध छन् ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?