२ असोज, हेटौंडा । बागमती प्रदेश सरकारको खर्च कटौती गर्ने सर्वदलीय सहमति भएको छ । आज साँझ मुख्यमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकमा खर्च कटौती गर्ने सैद्धान्तिक सहमति भएको हो ।
जेन–जी आन्दोलनको ९ दिनपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा सत्ता साझेदार दल नेकपा एमाले ससदीय दलका नेता जगन्नाथ थपलिया, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल, नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णप्रसाद शर्मा खनाल, माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकाललगायतको उपस्थिति थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले प्रदेश सरकारको खर्च कटौती गर्ने विषयमा सैद्धान्तिक सहमति भएको जानकारी दिए । प्रदेशभित्रका संरचनाहरु तलमाथि गर्नेसम्मको छलफल भएको उनले बताए । प्रदेशको आमहितको विषय भएकाले खर्च कटौतीलाई सरकारले प्राथमिकतामा लिएको उनको भनाइ छ ।
मन्त्रालय संख्यामा पुन:विचार गर्ने सम्बन्धमा पनि आवश्यक छलफल गरेर सरकार अगाडि बढ्न सक्ने सम्भावना देखिएको मन्त्री पौडेलले बताए । खर्च कटौतीलाई प्रदेशसभा बैठक बसेपछि पूर्णता दिन सकिने उनको भनाइ छ ।
माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक ढकालले अनावश्यक संरचना हटाउन सकिने, सेवासुविधामा पुन:विचार गर्न सकिने, फजुल खर्च घटाउने, भेला, गोष्ठी, सेमिनारलगायतका कार्यक्रम कम गरेर खर्च कटौती गर्न सरकारलाई सुझाव दिएको बताए ।
यसैगरी, बैठकले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ । भोली शुक्रबार बागमती प्रदेशमा संविधान दिवस मनाउने, बागमती प्रदेश सरकार मातहतका, स्थानीय तहका र निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने, खर्च कटौती र प्रदेशसभा बैठक छिट्टै सञ्चालन गर्ने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4