
३ असोज, हेटौंडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले त्रुटि र कमिकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज नभएको बताएका छन् ।
संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको सर्वोच्चता‚ न्यायमूलक समाजको अपरिहार्यता रहनुपर्ने बताए । कानुनी राज्यको उपहास हुने क्रियाकलाप कसैले गर्नु, गराउनु नहुने उनको भनाइ छ ।
‘संसारमा हरेक कुराहरू गतिशील र परिवर्तनीय छन् । हामीले समय सापेक्ष परिवर्तनलाई अङ्गीकार गरेका छौं । कार्यान्वयनको सिलसिलामा हामीले गरेका त्रुटि र कमिकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन,’ देवकोटाले भने, ‘हामीले आफ्नो अनुहारमा धुलो मैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो ।’
गल्तीहरू बारम्बार दोहोर्याउनु मुर्खता सिवाय अरू केही नहुने उनले बताए ।
‘वर्तमान संविधानको परिधिभित्र रहेर विकास, समृद्धि, सुशासन, युवापुस्ताको चासो र चाहानालाई साकार पार्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु,’ उनले भने, ‘दानवीयताको क्रुर चक्रमा मानवीयता बन्धक बन्ने परिस्थिति आउनु हुँदैन ।’
प्रदेश प्रमुख देवकोटाले इतिहासले सिकाएको पाठलाई ग्रहण गरी सुधारको दिशामा अघि बढ्न अपिल गरेका छन् ।
अधिकारभन्दा पहिले कर्तव्यलाई जोड दिनुपर्ने बताउँदै इतिहासले सिकाएको पाठलाई ग्रहण गरेर अघि बढ्न उनले अपील गरेका हुन् ।
सुशासन, पारदर्शिता‚ मितव्ययिता र जवाफदेहितालाई शिरोपर गर्दै परिणाममुखी काम गर्नुपर्नेमा उनको जोड थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधान नेपाली जनताको लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको स्मरण गराएका छन् ।
संविधानबाट आर्जित महत्त्वपूर्ण उपलब्धिको रक्षाका निम्ति संविधानको सफल कार्यान्वयन आवश्यक रहेको उनले बताए ।
प्रदेश सरकारलाई मितव्ययी बनाई नागरिकलाई अधिकतम सेवासुविधा प्रदान गर्न प्रदेश सरकार अन्तर्गतका सबै निकायका फजुल खर्च कटौती गर्ने प्रकृया सुरु भइसकेको उनले जानकारी दिए ।
मुख्यमन्त्री बानियाँले डिजिटल युग र नयाँ पुस्ताको सोच बमोजिम सेवा प्रवाह र निर्णय प्रक्रियालाई छिटोछरितो र परिणाममुखी बनाउने तयारी आफूले गरेको बताए ।
उनले केही दिन अघिको आन्दोलनमा भएको क्षतिको पुर्ननिर्माण गरी दैनिक सेवा प्रवाहलाई यथाशीघ्र नियमित गर्ने जनाए ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बानियाँले घाइतेहरूको उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने जानकारी दिए ।
आन्दोलनका क्रममा सार्वजनिक र व्यक्तिको सम्पत्तिको क्षतिप्रति उनले गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4