
५ असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरुसँग छलफलमा छिन् । यसैक्रममा उनले महावीर पुन र केही युवा पत्रकारहरुसँग पनि छलफल गरेकी छन् ।
छलफलका क्रममा कार्कीले महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बतायो । तर, पुनले भने स्पष्ट जवाफ दिएका छैनन् ।
अनलाइनखबरले मन्त्री अफरबारे राखेको जिज्ञासामा पुन बोल्न चाहेनन् । उनले भने, ‘यो अहिले बोल्ने कुरा होइन ।’
जेनजी युवा आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम चुनावी सरकारमा हाल तीन जना मात्र मन्त्री छन् ।
भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरेकी छन् ।
वैज्ञानिक तथा सामाजिक अभियन्ताका रुपमा चिनिएका पुनलाई पनि सरकारमा समेट्नुपर्ने आवाज जेनजी युवा पुस्ताबाट उठिरहेको छ ।
पुनले नेपालमा पहिलोपटक ताररहित इन्टरनेट सेवा सञ्चालन गरेका थिए । यही उपलब्धिमार्फत् उनले रोमन म्यागासेसे पुरस्कारसमेत पाएका थिए ।
पुन हाल राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक छन् । सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले सन् २०१२ मा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए । वर्षौंसम्म बन्द अवस्थामा रहेको कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रमार्फत् उनले चलाइरहेका छन् ।
महावीर पुनले हालै आफ्नो किताब बिक्रीमार्फत् कारखाना चलाउन रकम संकलन गरेका थिए ।
प्रतिक्रिया 4