+
+
Shares

श्रीमतीको हत्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर

श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरेर शव खाल्डोमा पुरेर उनी कारागार फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहले जानकारी दिए । हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज ६ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ गागलमा श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेर सन्तबहादुर तामाङ नख्खु कारागार फर्किएको छ।
  • असोज २ गते राति श्रीमानले पर-पुरुष सँग लागेको शंकाका कारण श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
  • हत्या पश्चात शव खाल्डोमा पुरेर असोज ३ गते तामाङ कारागारमा उपस्थित भएका थिए र उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।

६ असोज, काभ्रेपलाञ्चोक। काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेर सन्तबहादुर तामाङ नख्खु कारागार फर्किएको खुलेको छ।

श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरेर शव खाल्डोमा पुरेर उनी कारागार फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहले जानकारी दिए । हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ।

गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कारागार तोडफोड र आगजनी गरिँदा तामाङ जेलबाट भागेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा असोज २ गते राति श्रीमती पर-पुरुष सँग लागेको शंकाको आधारमा श्रीमान-श्रीमतीबीच झगडा भई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए।

उनका अनुसार श्रीमतीको हत्या पश्चात घर नजिकै करेसा बारीमा खाल्डो खनी पुरेर असोज ३ गते नख्खु कारागारमा उपस्थित हुन गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान कार्य भइरहेको बताए ।

उनी कारागार फर्किएको खुलेपछि काभ्रे प्रहरीको टोली समेत नख्खु पुगेको छ। उनीमाथि अब कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान गरिनेछ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटी गएको प्रहरी अधिकृतको टोली सहित फोरेन्सिक मेडिसिन बिभागको विशेषज्ञ डाक्टरको टोलीले उक्त लाशको उत्खनन गरी प्रारम्भिक अनुसन्धान कार्य पश्चात पोष्टमार्टमको लागी मृतक लाशलाई फोरेन्सिक मेडिसिन बिभाग धुलिखेल काभ्रेपलाञ्चोकमा ल्याई राखेको प्रहरीले जनाएको छ ।

तामाङका १२ वर्षीय एक छोरा र तीन वर्षीया छोरी छन् । जबरजस्ती करणी कसुरमा उनको कैद सजाय पूरा हुन एक महिना मात्र बाँकी रहेको कारागार स्रोतले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?