
करिब १५ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घको सचिव हुँदा जे सपना देखेको थिएँ, जुन चेतना र जिम्मेवारीको बोध थियो, आज ४५ वर्षपछि पनि त्यसैको परिष्कृत निरन्तरता बोकेर हिंडिरहेको छु। यो ‘परिष्कृत’ शब्दभित्र असफलता र भ्रमका धेरै कथाको सङ्ग्रह छ, जसलाई ‘के सोचें मैले, के भयो अहिले’ गीत शायद मेरो लागि नै लेखिएको जस्तो लाग्छ। यो परिष्कृत शब्दले निरन्तरता बोकेको छ। मलाई थाहा छ, मेरो सम्भावना सबै लुटिएको छ— लुटिएको आज ४५ वर्ष भइसकेको छ। लुटिएको जमिनमा आशाको दियो भने अझै जीवित छ। त्यो दियो हो—समय। समय अझै छ, गर्न सकिन्छ, सम्भव छ भन्ने आशाको त्यान्द्रोले हाम्रो पुस्तालाई बचाइरहेको छ।
आन्दोलनको हाइज्याक
अहिले जेन-जीको मात्र होइन, हाम्रो समयको जेन-जी (अहिले त्यो पुस्तालाई जेन-एक्स भनिन्छ) को सपना पनि निरन्तर हाइज्याक हुँदै आएका हुन्। हाइज्याकरहरू हरेक पुस्तामा भेटिन्छन्। इतिहास लुटेराको लेखिन्छ, लुटिनेहरूको होइन। समाज यस्तै छ, जहाँ पिठोको बजार लाग्ने गर्दछ।
जेन-जीको नाममा नेताहरू पिटिए, लखेटिए। मानिसहरूलाई लाग्दो हो, उनीहरू जेन-जीको आक्रमणमा परे। तर यथार्थ त्यो होइन; यो दिनका लागि उनीहरूको २०औं वर्षदेखिको अकर्मण्यताको मिहिनेत थियो।
कक्षा ८ मा पढ्दा नेविसङ्घमा लागेको स्मरण गर्दै थिए सिन्धुली कांग्रेसका नेता उज्ज्वल बराल। प्रायः मेरो पुस्ताका कांग्रेसहरू स्कुले चेतनाले डोर्याउँदै ल्याएका कांग्रेस हुन्, जसले जेल-नेल सबै भोगेका छन्; भोको पेट लिएर पसिना चुहाउँदै सङ्गठन गर्दै हिंडेका छन्; आफू र आफ्ना सन्तानको कुनै परवाह छैन, तर देश बनाउने भावनाले रङ्गिएका छन्।
हामी जीवित साक्षी छौं- कांग्रेसको नाममा आजसम्म हजार/पन्ध्र सयले सत्ताको उपभोग गरे होलान्, त्यति नै सङ्ख्याका आसेपासे सहयोगीहरूले कुनै नियुक्ति लिए होलान्; तर नौ लाख सदस्यले यो असफलताको भार बोक्नुपरेको छ, ३५/३६ लाख मतदाताले घर-आँगन-चोकमा कांग्रेसको असफलता र जनताको असन्तुष्टिको जवाफ दिनुपरेको छ।
धेरैले सोध्ने गर्दछन्, १५ वर्षदेखि नेविसङ्घको अधिवेशन किन हुन सकेन? शायद यो प्रसंग जेन-जीको कारणले आएको होला। सबैको गुनासो छ कि नेविसङ्घ प्राण नभएको कागजी अस्थिपञ्जर जस्तो भयो। सङ्गठन कहीं-कतै शिक्षालयमा भेटिंदैन, नेतृत्वमा कुनै ज्ञान र विवेकको अंश भेटिंदैन, अनि नेतृत्वमा विद्यार्थी नामको कुनै सुगन्ध नै छैन।
यसको विपरीत, जेन-जीका भाइ मिरज ढुङ्गानाको शब्द चयन र समाज-सरकारप्रतिको बुझाइ हेर्दा उनी राजनीतिका खेलाडी जस्ता देखिन्छन्। ढुङ्गानाको कुनै सङ्गठन छैन, तर उनमा राजनीतिक चेतना देखिन्छ, भविष्यको बोध देखिन्छ। कुनै पद छैन, कुनै राजनीतिक आकाङ्क्षा छैन, तर जिम्मेवारीको आभास छ। उनीहरूको यो चेतना नै बृहत् सङ्गठन रहेछ, जसले आज समाजलाई हल्लायो र वर्तमानलाई राम्ररी ललकार्यो।
संगठनको अस्तित्व हुलहुज्जतमा खोज्ने, तालाबन्दी र घेराउमा रमाउने, बन्द–हडताल र तोडफोडलाई असहमति र विरोध प्रकट गर्ने माध्यम बन्दै गरेको परम्परालाई तोड्दै संगठन शक्तिको सिर्जनात्मक प्रयोग गर्ने अवसर नेविसंघलाई थियो।
यिनै र यस्तै माग लिएर आन्दोलन गर्ने सुविधा नेविसङ्घलाई थियो। म जस्ता भुइँमा रहेर सपना बुन्ने जीवित आत्माहरू यही सुन्न चाहन्थ्यौं। तर, नेविसङ्घ व्यक्ति-व्यक्तिको झुण्डमा परिणत भइसकेको थियो; सङ्घको आत्मा हराइसकेको थियो, सङ्गठनले ओज गुमाइसकेको थियो। योभन्दा दुःख लाग्छ कि आज आएर यो रिक्त स्थान जेन-जीले लिएको देखियो। १५ वर्षदेखि अधिवेशनविहीन, सङ्गठनविहीन, स्कूल-कलेजविहीन, ज्ञान र प्रशिक्षणविहीन भएपछि, सङ्गठन कागजी भएपछि स्कूल-कलेजको खाली ठाउँ कसले भर्छ ?
नेविसङ्घको उचाइ लिएर पार्टीमा स्थान बनाएकाहरूले नै आफू उक्लेपछि भर्याङ फ्याँक्ने शैली नअपनाएको भए, शायद यो दिन देख्नुपर्ने थिएन। यसैको कुलयोग हो नयाँ पुस्तामा कांग्रेसप्रतिको यो उपेक्षा! यो स्तरको निराशा! अनि, जिम्मेवार को हो— नियुक्ति खाने कि नियुक्ति दिने?
संकटमा तरुण दल खोइ ?
एउटा सामान्य एनजीओको राष्ट्रपतिनिवासदेखि सैनिक मुख्यालयसम्म चर्चा छ। तिनका नेता सेलिव्रेटी बनेका छन्, सेल्फी लिनेको होड छ, तर हाम्रा तरूण कमाण्डरहरू गुमनाम छन्। नियुक्ति र निर्वाचितमा कति फरक हुन्छ, बनेको र बनाइएकोमा कति अन्तर हुन्छ यस्तै बेलामा थाहा हुने रहेछ।
विस्फोटको दिन थियो सेप्टेम्बर ८, त्यो दिनअघि के सबै ठिकठाक थियो ? जेन-जीको आन्दोलन नभई यही असन्तुष्टिका बीच २०८४ को चुनाव भएको भए के हुन्थ्यो ? सिधा कुरा छ यो असन्तोषको ज्वारभाटा मतमा परिणत हुन्थ्यो, अनि परिणाम ?
नेतृत्वलाई हामीले बारम्बार भनेकै हो नागरिक असन्तुष्टि कुनै पनि बेला विस्फोट हुने चरणमा छ, एन्टि-इन्कम्बेन्सीको ग्राफ ९५ माथि पुगिसकेको छ। हरेक १०० मा ९५ असन्तुष्ट छन्। यो अवस्थाले सरकार मात्र होइन प्रणाली भत्काउँछ तर नेतृत्व शुतुर्मुर्ग शैलीले आफूलाई सुरक्षित ठान्दै गयो।
यो असन्तोष बढाउन शक्ति र सत्ताको लागि भएका अप्राकृतिक गठबन्धनहरू, सिद्दधान्तहीन सम्झौताहरू, आदर्श झुकाउने कुलीन व्यवहार र भ्रष्टाचारका कथाहरू कति जिम्मेवार रहे ? बारम्बार मन्त्री, प्रधानमन्त्री धेरै बने तर ती कसका लागि बने, केका लागि बने, के योग्यता लिएर बने, बन्ने र बनाउनेलाई थाहा होला तर उनीहरूको शासनमा भएको उपस्थिति नेताखोर, नेपोकिड्स जस्ता साइट उत्पादन गर्ने कारखाना बने।
यक्ष प्रश्न हो- सुधार सम्भव थिएन ? थियो भने किन भएन ? नेतृत्वले पाउने अवसर र परीक्षणको समय भनेकै त्यही हो। घटनाक्रमले को बढी दोषी, को कम हुन सक्ला तर समग्रतामा हेर्दा पार्टी पदाधिकारी केन्द्र नै जिम्मेवार मानिन्छ जसले बारम्बार अवसर वितरण गर्यो, पार्टी वा सरकारी नीतिमा हालीमुहाली गर्यो, पार्टी पङ्क्तिमा एकाधिकार जमायो। यसैलाई राजनीतिमा संस्थापन पक्ष मानिन्छ, सजिलो पर्दा एकसाथ खानेहरू अप्ठेरोमा एकैसाथ उभिने हिम्मत गर्नुपर्दछ, अब आएर पानीमाथि ओभानो हुनुको कुनै अर्थ छैन।
अपमानित तरिकाले कुटिएका सभापति शेरबहादुर देउवा लामो समयको उपचारपछि रेस्टमा छन्, कार्यालय जलाएको छ, प्रायः नेताका घर जलेका छन् देशभर कांग्रेसजनहरूमा सन्नाटा छाएको छ यो बेला पार्टी के भन्छ, नेता के गर्छन् भन्दै काठमाडौंतिर आँखा बिछ्याइरहेको बखत कांग्रेसको नाममा विभिन्न ५ वटा वक्तव्य आए। कुनचाहिं निजी हो कुनचाहिं आधिकारिक हो ? सङ्गठनभित्र उल्टै अन्योल छर्ने यस्तो गाईजात्रे शैलीभित्र हामीले हाम्रो भविष्य खोज्नुपर्ने दुर्भाग्यमा हामी उभिएका छौं। पदाधिकारी पिच्छेको कांग्रेस हुने अभ्यासले कांग्रेसलाई एनडीए जस्तो मोर्चा बनाएको छ, तर हामी नेपाली कांग्रेस खोजिरहेका छौं।
हाम्रो राजनीति लिडर सेन्ट्रिक हुँदै गइरहेको छ, पार्टीका पोजिसनहरू निजी विज्ञापनमा केन्द्रित हुँदै गएको यो बेला जेन-जीले देखाइदियो राजनीति व्यक्तिबाट होइन लोकप्रिय एजेन्डाबाट गरिन्छ। बाँकी सबै कार्यकर्ता, एजेन्डा मात्र नेता रहेको यो आन्दोलनले समकालीन राजनीति र शक्तिको परिभाषा बदलिदिएको छ। तर हाम्रो होश अझै खुलेको छैन।
कांग्रेस अब के गर्छ ?
धेरैलाई लाग्दो हो यो आन्दोलनले कांग्रेसलाई धेरै क्षति पुर्यायो, तर मलाई लाग्छ यो आन्दोलनले कांग्रेसलाई उद्धार गर्नेछ। यो समय निराशाको होइन, शक्ति–सञ्चयको हो, आत्मबोधको हो। हेर्दा प्रतिकूल जस्तो लाग्ने यो समय कांग्रेसका लागि वरदान बनेर आएको छ। कांग्रेसभित्र कांग्रेसले गर्न चाहेको परिवर्तनमा, जेन-जीको धक्का सहयोगी बनेको छ। अब कांग्रेस यथास्थितिमा रहने छैन, कांग्रेसलाई सम्हालिने मौका मिलेको छ, सुधारिने, सच्चिने, नेता बदल्ने मौका मिलेको छ।
जनमत, कांग्रेस पार्टीको घटेको होला तर डेमोक्रेटहरू बढेका छन्, जेन-जी थपिएका छन् जो कालान्तरमा कहिल्यै कम्युनिष्ट हुन सक्दैनन्। सबै डेमोक्रेटहरूको मन जित्ने, देशको भविष्य बोक्ने कांग्रेस बनाउन कसले छेकेको छ र ! कांग्रेसको कोही विरोधी छैन। कांग्रेसको विरोधी कांग्रेस आफैं हो, कांग्रेसले आफ्नो विरोधी आफैंभित्र खोजोस्, अवसरवाद, सत्तावाद, सुकिला भ्रष्ट कांग्रेस, मौकापरस्त कांग्रेसबाट आफूलाई मुक्त गर्दै जनताको कांग्रेस बनोस् जनताले खोजेकै यत्ति हो। कांग्रेसभित्र शेरबहादुर, रवि, ओली, प्रचण्ड बन्ने प्रयास कसैले नगरोस् जसले अस्वाभाविक रूपमा शक्तिप्रतिको आसक्ति र पदीय महत्वाकाङ्क्षालाई संस्थागत बनाए। कांग्रेसभित्र नेता नखोजियोस्, कांग्रेसलाई एजेन्डाले नेतृत्व देओस् जसलाई सबै सदस्यले आफ्नो ठान्नेछन्। साथी र माथिमा अन्तर नखोजियोस् समान लक्ष्यका सहयात्री बनाइयोस्। नेतालाई मालिक नबनाइयोस्, पद त अर्काको नासो हो, परिणाम दिन नसक्नेले किन ओगट्ने ? जनताको ‘कर’ हरेक कांग्रेसजनले आमाको रगतसरह मानुन् जसको पवित्रताको रक्षा गर्दै देशप्रति समर्पित भावले काम गर्ने ऊर्जा सबैमा मिलोस्। यो छ चाहना जनताको, कार्यकर्ताको र मतदाताको। तर के वर्तमानको कांग्रेस र यसका पदाधिकारीहरूबाट यो परिवर्तन सम्भव छ ? पछिल्लो वक्तव्यबाटै यसको यथास्थितिवादी चरित्र पुनः सतहमा देखिएको छ। निर्णय केही नगर्ने बाहिर सुधारको भ्रम छर्ने पदाधिकारीहरूको स्थायी चरित्रबाट यो संस्था लगातार प्रताडित छ।
यसबीच कांग्रेसभित्र कार्यवाहकको दौड चलिरहेको छ, संसद् पुनर्स्थापनाको भूत सवार छ, त्यसपछिको मन्त्रिमण्डलको सपना देख्नेहरू त्यहीं छन्, चुनाव होला नहोला निश्चित छैन तर यही समितिले टिकट बाँड्नुपर्छ भन्नेहरूको कांग्रेसमा कुनै कमी छैन। नियमित अधिवेशन धकेलेर यहाँसम्म ल्याइपुर्याए, अझै लम्ब्याउन खोज्नेहरू छन्। १०० मिटर अगाडि पुग्ने ठेगान छैन हजार किलोमिटर परको तलाउको व्याख्या गर्ने भिजनरी पुस्ता यहीं भेटिन्छ। एक घण्टाअगाडि सत्तापक्ष, एक घण्टापछि पार्टीपक्ष त्यसपछि विपक्षीमा एकैसाथ भिन्न भाषासाथ उभिने क्षमता कांग्रेसभित्र लोकप्रिय मानिन्छ।
अब कम्तीमा ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर सहित विशेष अधिवेशनको माग गरिनेछ। कार्यकर्ताको पङ्क्तिबाटै अधिवेशन बोलाएर पार्टी सुधारको सङ्कल्प त्यहींबाट घोषणा हुनेछ, र त्यही भेलाले भविष्यको मार्गचित्र तय गर्नेछ
नेताहरूलाई कुर्सी चाहिएको छ, दृष्टि शक्ति र सत्तामा होला तर आम कांग्रेसजनलाई बीपीको कांग्रेस, गणेशमान, किसुनजीको आदर्श र सुशीला कोइरालाको सादगी धमिलिएकोमा चिन्ता छ।
त्यसैले अब के गर्ने ? मौन बस्ने ! सुधारको अन्तिम प्रयास गर्ने वा किनाराको साक्षी बस्ने ? हरेक विकल्प हाम्रा अगाडि उभिएको छ, छनोट हामी आफैंले गर्नुपर्नेछ। कांग्रेसमा देखिएको यो दीर्घ रोगको उपचार अब सिटामोलको सेवनबाट सम्भव छैन, रोगको उपचार सम्भव हुँदाहुँदै रोग राखिराख्नुपर्ने तर्कमा अब अलमलिनुपर्ने छैन। भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई युद्धमा आफन्त–मित्रको मोह छोडेर केवल धर्म (सत्य) र अधर्म (असत्य) को पक्ष–विपक्ष हेरेर निर्णय गर्न उपदेश दिएका थिए।
हामीलाई थाहा छ हामीले यो प्रश्न उठाइरहँदा हामीमाथि पनि प्रतिप्रश्न उठ्नेछ। अस्पतालको शय्यामा मृत्युसँग सङ्घर्ष गरिरहेका सभापतिलाई यो बेला साथ दिनुपर्नेमा उल्टै आरोपको वर्षा ! हटाउने प्रयास निन्दनीय छ, फूर्तिका साथ काम गरिरहेको युवा बाहुल्य केन्द्रीय समितिको प्रभावकारी सञ्चालन विरुद्ध यो स्तरको टिप्पणी स्वीकार्य छैन आदि आदि…
सन् १९९० को दशकको कुरा हो, इटालीमा क्रिश्चियन डेमोक्रेटिक पार्टीका प्रमुख नेता जुलियो आन्द्रेओत्ती, जो लामो समयसम्म प्रधानमन्त्री र पार्टीका शीर्ष नेता थिए, माफियासँग आपराधिक सम्बन्ध र सार्वजनिक ठेक्कामा भ्रष्टाचारको आरोपमा मुछिए। यद्यपि, उनले अधिकांश अभियोगबाट कानूनी रूपमा उन्मुक्ति पाए, तर उनको राजनीतिक छवि पूर्ण रूपमा ध्वस्त भयो। फलस्वरूप, १९४० को दशकदेखि इटालीको सत्तामा निरन्तर प्रभाव जमाउँदै आएको क्रिश्चियन डेमोक्रेटिक पार्टी सन् १९९४ सम्ममा पूर्ण रूपमा विघटन भयो।
त्यसैगरी, इटालीको सोसलिस्ट पार्टी (पीएसआई) का नेता बेट्टिनो क्राक्सी, जो पूर्वप्रधानमन्त्री र पार्टीका महासचिव थिए, ठूलो मात्रामा घुसखोरी र अवैध पार्टी वित्त–पोषणको अभियोगमा दोषी ठहरिए। अदालतले सजाय सुनाएपछि उनी ट्युनिसियामा निर्वासनमा गए। यस प्रकरणले सोसलिस्ट पार्टीलाई पनि कमजोर बनायो र सन् १९९४ सम्ममा यो राष्ट्रियस्तरमा लगभग समाप्त भयो। पछि, केही साना पुनर्गठित समाजवादी समूहहरू मात्र बाँकी रहे। यसरी, १९९० को दशकको शुरुमा इटालीमा भएको भ्रष्टाचार काण्डले दशकौंदेखि स्थापित क्रिश्चियन डेमोक्रेटिक र सोसलिस्ट पार्टीलाई इतिहासको पन्नाबाट लगभग मेटाइदियो।
अब प्रश्न उठ्छ, के नेपाली कांग्रेसले पनि यस्तै नियति खोजिरहेको छ ? यहाँ कुरा पार्टीको हो, व्यक्तिको होइन। पार्टीको रक्षा गर्ने कि व्यक्तिको ? भावनामा बग्ने कि कठोर निर्णय लिने ? बलिदान र समर्पणको रगतले रंगिएको यो पार्टीको प्राण जोगाउन नेताहरूले त्याग गर्नु नपर्ने ? के त्याग सधैं तल्लो तहका कार्यकर्ताले मात्र गर्नुपर्ने ? जसले यो पार्टीको पहिचान र उचाइ स्थापित गरे, तिनलाई न्याय गर्नु नेताहरूको कर्तव्य होइन ? यो अपेक्षा राख्नु मतदाताहरूको अधर्म हो ?
प्रश्न मान-अपमानको होइन, बरु नेपाली कांग्रेसको नवीकरण र नवजीवनको हो। अब केही नेताहरूमा मात्र भर पर्न सकिंदैन। केन्द्रीय समितिप्रति विश्वास गुमिसकेको छ। यो विषयलाई अब व्यापक र कार्यकर्ताको सरोकारको विषय बनाउनुपर्छ। वैधानिक जिम्मेवारी प्रत्येक महाधिवेशन प्रतिनिधिले लिनुपर्छ। कम्तीमा ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर सहित विशेष अधिवेशनको माग गरिनेछ। कार्यकर्ताको पङ्क्तिबाटै अधिवेशन बोलाएर पार्टी सुधारको सङ्कल्प त्यहींबाट घोषणा हुनेछ, र त्यही भेलाले भविष्यको मार्गचित्र तय गर्नेछ। हामी थाकेका छैनौं, हामी कमजोर छैनौं। हामी हाम्रो गौरवशाली इतिहासको रक्षा गर्नेछौं र फेरि दृढतापूर्वक उठ्नेछौं ।
प्रतिक्रिया 4