+
+
Shares

काठमाडौंका निवर्तमान सीडीओ रिजालको चाहना- ‘क्वार्टर सुविधा भएको शान्त ठाँउमा जान पाए हुन्थ्यो’

स्रोतले भन्यो, ‘आन्दोलन दमनविरुद्धको आक्रोशको डरले उहाँले तत्काल आफूलाई अन्यत्रै व्यवस्थापन गरे हुन्थ्यो भन्नुभएको हुनसक्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते २०:२५

९ असोज, काठमाडौं । जेन–जी आन्दोलनमा अत्यधिक बल प्रयोगपछि भूमिगत जस्तै भएका काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालले आफू असुरक्षित भएको भन्दै शान्त र सुविधासम्बन्ध ठाउँमा पोष्टिङको चाहना राख्न थालेका छन् ।

आन्दोलनमा जनधनको क्षति भएदेखि नै भूमिगत भएका उनी केही दिनदेखि गृहमन्त्रालयमा देखिएका थिए । निवर्तमान गृहसचिव एवं गृहमन्त्रालयमा अधिकारीहरूसँग उनले आफू निकै हतोत्साहित र असुरक्षित भएको भन्दै सुरक्षा जोखिम नहुने ठाँउको माग गरेका हुन् ।

गृह प्रशासन स्रोतका अनुसार, उनले शुरुमा विदेशस्थित नियोगमा केही समयलाई व्यवस्थापन गरिदिए राम्रो हुने भनी आग्रह गरेका थिए । तर जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागेका उनलाई तत्काल परराष्ट्र मन्त्रालय पोष्टिङ गरेर नियोगहरूमा पठाउन सम्भव थिएन ।

त्यसमाथि गृहसचिव गोकर्णमणि दुवाडी बाहेक अरुले उनको सरुवाको जोखिम लिन पनि सक्दैनथे ।

‘त्यसपछि उहाँले यहीकै कुनै ठाँउमा कार्यालयभित्रै क्वाटर भएको ठाँउमा पोष्टिङ गरिदिए हुन्थ्यो भनेर आग्रह गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘आन्दोलन दमनविरुद्धको आक्रोशको डरले उहाँले तत्काल आफूलाई अन्यत्रै व्यवस्थापन गरे हुन्थ्यो भन्नुभएको हुनसक्छ ।’

गृह प्रशासनले सहसचिव ईश्वरराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी तोकेको छ । त्यसअघिदेखि नै रिजालले गृह मन्त्रालयमा गएर हाजिर गर्न थालेका थिए ।

जेन–जी प्रदर्शन हुँदा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए । आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखकले ‘प्रदर्शनकारीलाई कुनै हालतमा संसद् भवनभित्र प्रवेश गर्न नदिनू’ भनी आदेश दिएका थिए ।

त्यसपछि प्रमुख जिल्ला अधिकारी रिजाललाई आन्दोलनकारीहरू माथि गोली चलाउन आदेश दिएका थिए । पहिलो दिनको प्रदर्शनमा गोली हानेर १९ जनाको हत्या भएको थियो ।

रिजाल गृहप्रशासनका अनुभवी क्याडर होइनन् । रमेश लेखक गृहमन्त्री भइसकेपछि मन्त्रालय भित्रिएका उनको नाम भिजिट भिसा प्रकरणमा पनि जोडिएको थियो । तर राजनीतिक संरक्षणका कारण उनले झनै आकर्षक मानिएको काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुने अवसर पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?