+
+
Shares

पर्यटन दिवसमा रुपन्देहीमा विविध कार्यक्रम

दिवसको अवसरमा बेलहिया नाकामा विदेशी पर्यटकलाई सम्मानदेखि होटेलमा १५ प्रतिशत छुट र टुर प्याकेज घोषणा भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ११ गते १६:४६

११ असोज,बुटवल । विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीमा विदेशी पर्यटकलाई सम्मान, र्‍याली र होटेल बिलमा छुट घोषणासम्मका कार्यक्रम भएका छन् ।

नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनीले बेलहिया नाकाबाट भित्रिएका चार जना विदेशी पर्यटकलाई खादा, माला र बुद्ध अंकित मायाको चिनो दिएर सम्मान गरेको छ ।

अष्ट्रेलियाकी बारबरा डोरा, नेदरल्याण्डका मार्सल कैयवर र भारतीय पर्यटकहरु डा. संजय सिंह र बिनोद मिश्रालाई सम्मान गरिएको हो ।

पर्यटकलाई स्वागत गर्दै लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपालको आर्थिक समृद्धिको मुख्य आधार पर्यटन क्षेत्र भएकाले यसको विकासको लागि विदेशी पर्यटकको स्वागतमा सबैले विशेष ध्यान दिनुपर्ने बताए । उनले प्रदेश सरकारले पर्यटन प्रबर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

सम्मानपछि बोल्दै अष्ट्रेलियादेखि नेपाल घुम्न आएकी बारबरा डोराले नेपाल एक सुन्दर देश भएको र नेपालीहरुको आतिथ्य सत्कार र सम्मानले अत्यन्तै खुसी लागेको बताइन् ।

भारतीय पर्यटकद्वय सिंह र मिश्राले नेपालीहरुले पाहुनालाई गर्ने ब्यवहार र सम्मान संसारले सिक्नुपर्ने बताए ।

नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले चारैजना पर्यटकका लागि पहिलो गन्तब्य सम्मको एकदिनको यातायात ब्यवस्था  र एकरातको होटल खर्चको ब्यवस्थापन गरेको अध्यक्ष चन्द्र थापाले बताए । उनले लुम्बिनीमा पईटन विकासको प्रचूर सम्भावना भएकाले गौतमबुद्ध  विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बौद्ध भिक्षु सुमंगलोले नेपालको धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुले विदेशीलाई आकर्षति गरिरहेको बताए ।

पर्यटन व्यवसायी सागर अधिकारीले गुणस्तरीय पर्यटक भित्राएर उनीहरुको नेपाल बसाई लम्बाउन सके मात्र नेपालको पर्यटन विकास हुने बताए ।

बेलहिया नाका हुदै अंग्रेजी वर्षको सेप्टेम्बर २५ तारिख सम्म ५८ देशका ६३ हजार ७ सय ९३ जना नेपाल प्रवेश गरेका छन् । ती मध्ये श्रीलङ्काली पर्यटक बढी देखिएका छन् । अध्यागमन कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्याङ्क अनुसार श्रीलङ्काका १९ हजार ८ सय ३५ जना, थाइल्याण्डका १२ हजार ३ सय ४५ जना, म्यानमारका ९ हजार २ सय ७८ जना, भियतनामबाट ४ हजार १ सय ८८ र दक्षिण कोरियाबाट २ हजार २४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

१५ प्रतिशत छुट दिने निर्णय

यता होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ बुटवलले पर्यटन दिवसको अवसरमा बुटवलदेखि बेलहिया नाकासम्म मोटरसाईकल र्‍याली गरेको छ । जेनजी आन्दोलनपछि पर्यटन क्षेत्रमा सुरक्षाको विषयमा बढ्दो चिन्ता मध्यनजर गर्दै नेपाल सुरक्षित गन्तव्य भन्ने नारासहित संघले कार्यक्रम आयोजना गरेको हो ।

संघमा आवद्ध व्यवसायीहरू नेपाल ईज सेफ डेस्टिनेसन नारा लेखेको टिसर्ट लगाएर मोटरसाईकलमा सहभागी भएका थिए । बुटवलबाट सुरु भई बेलहिया पुगेका ब्यवसायीहरुले स्थलमार्गबाट आएका सात जना पर्यटकलाई खादामाला र नेपाली ढाकाटोपीसहित स्वागत गरे । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे, संघका अध्यक्ष माधवकुमार खनाल, प्रमुख सल्लाहकार माधवप्रसाद नेपाल, संघका प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, होटल ब्यवसायी महासंघका उपसचिव राजेश महोत्रा, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले पर्यटकलाई स्वागत गरेका थिए ।

प्रजिअ पाण्डेले शान्ति सुरक्षामा कुनै पनि समस्या नरहेको भन्दै ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

दुई रात ३ दिनको प्याकेज टुर सार्वजनिक

यसैगरि पर्यटन दिवसको अवसर पारेर रुपन्देहीका सबै होटलमा असोज ११ गतेदेखि १७ गतेसम्म लजिङ र फुडिङमा १५ प्रतिशत छुट दिने निर्णय भएको संघका अध्यक्ष माधव खनालले बताए ।

संघले रुपन्देही टुर प्याकेज समेत सार्वजनिक गरेको छ । संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले पर्यटकलाई आकर्षति गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षण नारासहित २ रात र ३ दिनको प्याकेज टुर कार्यक्रम सार्वजनिक गरे । यसबाट सुनौली, लुम्बिनी, बुटवल, बुद्धसर्किट, रात्रीकालिन कालिकापथ, हिलपार्क, सिद्धबाबा मन्दिर, केवलकार हुदै कामाख्या मन्दिर, सिद्धार्थ केवलकार हुदै नुवाकोट, मणिमुकुन्द सेन उद्यान, जितगढी किल्ला, शंकरनगर बनबाटिकासहित ब्यापारिक केन्द्र बुटवल बजार किनमेल समेतको रहेको उनले बताए । यो प्याकेज ४ जनाभन्दा माथिको संख्यामा लागू गर्न सकिने भन्दै यसको ८ हजार रुपैया मुल्य तोकिएको र जसमा बालबालिकाहरु २५ देखी ५० प्रतिशत तथा १६ जनाभन्दा बढी संख्या भएमा १५ प्रतिशत छुट दिने समेत बताए । संघको पाच सदस्यिय टिमबाट लामो अध्ययन गरि पर्यटन प्याकेज तयार गरिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विषम परिस्थितिमा पनि होटल ब्यवसायीहरुबाट भएको कामलाई प्रशंसनिय भएको बताए । उनले स्थानिय सरकार सधै व्यवसायीको साथमा रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बिमल भटटराई, रुपन्देही उधोग संघका उपाध्यक्ष हरि खत्री, संघका सल्लाहकार बालाराम भटटराई, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, कोषाध्यक्ष अर्जुन पोखरेल, सचिव तुल्सीराम पराजुलीले पर्यटकको बसाई लम्बाउने नीति बनाउन सरकारसंग आग्रह गरे ।

यस्तै लुम्बिनी विकास कोषले पनि विश्व पर्यटन दिवसमा लुम्बिनी घुम्न आएका पर्यटकलाई सम्मान गरेको छ । पर्यटकलाई नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिन कोषले पर्यटकलाई हरेक वर्ष जस्तै यस वर्ष पनि सम्मान गरेको वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?