+
+
Shares

भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन

‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,’ मेयर बालेनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १९:५४

२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गरेका छन् ।

सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै मेयर बालेनले आफूहरू कुनै आरोप र जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।

उनले सिंहदरबारमा आगो निभाउने प्रयास गर्दा भीडले काम गर्न नदिएको पनि बताएका छन् ।

‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,’ मेयर बालेनले भने, ‘कारण थियो हुलले दमकललाई काम गर्न नदिएको ।’

बालेनका अनुसार, भिड शान्त हुनासाथ महानगरको दमकल सिंहदरबार पुगेको थियो ।

‘जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८:१५ भित्रै  काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो,’ बालेनले भनेका छन् ।

बालेनले महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने मान्यता रहेको पनि बताएका छन् ।

‘दमकल ५/२३ गते दिउँसो १:३० देखि ५ बजेसम्म संसद् भवन अगाडि आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटी दमकलले आगो निभाइरहेको थियो,’ बालेनले भनेका छन्, ‘न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो ।’

२४ गते बिहानै देखि कुनै पनि दमकल सञ्चालनमा आउन नसकेको र राति ८ देखि १ बजेसम्म काम गरिहरेको उनले दाबी गरेका छन् ।

यस्तो छ स्टाटस

‘यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो ?, तीन दिनसम्म जलेको हेरेर बस्यो ?’

‘सिंहदरबार जलाउने नै बालेन शाह हो !’ यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्।

हुन त यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवश्यक जोसुकैले सूचनाको हक ( Right to information RTI )को आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि, हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।

गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ त्यो बेला ‘राज्य’ नै ठप्प थियो। त्यो दिन देशमा सरकार त थिएन तर स्थानीय सरकार काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौं मान्छे समेत हिँडडुल गर्नसक्ने अवस्था थिएन, तर पनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरूको उपचार, कुरुवा र बिरामीको लागि खाना, लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन, रगत व्यवस्थापन, औषधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरूको तथ्याङ्क संकलन, जलेका गाडीहरूको व्यवस्थापन, फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा व्यस्त थियो। जिउज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्णप्रति सम्मान व्यक्त गर्दछु।

सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे तापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, कारण थियो- हुलले दमकललाई काम गर्न नदिएको । जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो।

हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।

काठमाडौं महानगरको न्युरोडमा २ वटा, बालाजुमा २ वटा र रामहिटीमा १ वटा गरी जम्मा ५ वटा दमकल सञ्चालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरी जम्मा ४४ जनाको टिमले ३ सिफ्टमा काम गर्नुहुन्छ, १ सिफ्टमा १ दमकलमा बढीमा ३ जना मात्र जनशक्तिमार्फत दमकल सञ्चालन गरिएको छ। २३ गते केही स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो। महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।

अब कुरा गरौं दमकलको। ५/२३ गते दिउँसो १:३० देखि ५ बजेसम्म संसद् भवन अगाडि आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटी दमकलले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो, २४ गते बिहानैदेखि कुनै पनि दमकल सञ्चालनमा आउन सकेको थिएन। २४ गते राति ८ बजेदेखि १ बजेसम्म विशालबजार जनसेवा प्रहरी वृत्त, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंक बानेश्वरमा न्युरोड दमकलले तथा नयाँ बसपार्कमा बालाजु र रामहिटी दमकलले आगो निभाइरहेको थियो।

२४ गते नै राति ८:१५ देखि ९:४५ सम्म, २४ गतेको राति २५ गते बिहान १:४५ देखि ३:०० बजेसम्म, २६ गते दिउँसो ३:३० देखि ६:५० सम्म र सोही दिन साँझ ५ बजेदेखि ६ बजेसम्म सिंहदरबारमा आगो निभाइरहेका थिए।

२५ गते दिउँसो १२:२० देखि १:३० सम्म संसद् भवन, २५ गते नै दिउँसो ३:३० देखि ४:३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, डिल्लीबजार कारागार लगायतका स्थानमा, २६ गते बिहान ९:२५ देखि १०:१५ सम्म, २७ गते बिहान ८:०० देखि ९:१५ सम्म, सोही दिन साँझ ४ बजेदेखि ६ बजे सम्म सर्वोच्च अदालत परिसरमा आगो निभाएको त्यहाँको महत्वपूर्ण कागजहरू बचाएको प्रमाण हामीसँग सुरक्षित नै छ ।

त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गतेदेखि २८ गतेसम्म हाम्रो दमकलमाथि उल्लेखित र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बबरमहल जिल्ला अदालत, चुच्चेपाटी भाटभटेनी, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, ग्रान्डी अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एन सेल डाटा सेन्टर, बालाजु प्रहरी वृत्त, स्वयम्भू प्रहरी वृत्त, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घरमा, चाक्सीबारी घरमा, बालुवाटार भाटभटेनी गोदाममा, रानीपोखरी प्रहरी, कोटेश्वर भाटभटेनी, गुणस्तर विभाग भाटभटेनी नक्साल मन्दिर पछाडि फर्निचर, सडक विभाग लगायतका स्थानमा ५५ पटकभन्दा धेरै हाम्रो दमकल पुगेको छ। जसको विस्तृत विवरण यहीँ राखेको छु। सँगसँगै हिल्टन होटल, बनबासा होटल लगायतबाट सेनासमेतको सहकार्यमा उद्धार कार्य गरिएको थियो।

अब कुरा गरौं स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र शहीदहरूको लाश व्यवस्थापनको, संघीय सरकारले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताललाई नि:शुल्क उपचारको लागि समन्वय, अस्पतालको लागि आवश्यक औषधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन, बिरामी तथा बिरामी कुरुवाहरूको लागि नि:शुल्क खाजा/खाना, अन्य आवश्यक लजिस्टिक, सुत्नको लागि म्याटलगायत अन्य सामग्रीको व्यवस्थापनमा महानगरको सचिवालय, नगर प्रहरी, स्वास्थ्यकर्मी लगायतको टिम रातदिन खटिएको थियो।

उपचारको लागि अभिभावक नभएका सम्पूर्ण बिरामीहरूको अभिभावक हाम्रो टिम बनेको थियो । यतिसम्म कि, अपरेसन गर्दा Informed Consent Form मा समेत हाम्रो नगर प्रहरीले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ। लाश व्यवस्थापनको लागि परिवारलाई आउने-जाने, खाने-बस्ने व्यवस्थापन पनि महानगरले गरेको थियो। यतिसम्म कि नेपाली सेनालगायत अन्यको सहकार्यमा लाशलाई घरसम्मै पुर्याउने व्यवस्थासमेत गरेका थियौं।

अन्त्यमा,

प्रिय आमा बुवा, दाजु, भाइ, दिदी, बहिनी, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरूसँग सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउँछ।

मिडियाका मित्रहरूमा विशेष अनुरोध; कृपया सत्यतथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।

हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौं, मलाई यसको कुनै जस चाहिएको छैन। कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लाश व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाई त सम्मानजनक दृष्टिले हेर्नुहोस । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपतकालीन व्यवस्थापनका लागि हामी सधैं खटिरहने छौं।

सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।

अन्त्यमा देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको हैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?