
नेपाली कांग्रेस नेपालको ठूलो र सबैभन्दा पुरानो ऐतिहासिक लोकतान्त्रिक पार्टी हो। २००७ सालको क्रान्तिबाट राणाशासनको अन्त्यदेखि २०६२/६३ को जनआन्दोलन मार्फत गणतन्त्र स्थापना हुँदासम्ममा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको छ। जसको कारण नेपाली जनतामा कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यतामा प्रतिबद्ध पार्टी हो भन्ने छवि स्थापित भएको छ। बीपी कोइरालाको दूरदर्शी नेतृत्वका कारण नेपाली कांग्रेसले अन्तर्राष्ट्रियस्तरमै सबैले चिन्ने गरी विशेष उचाइ प्राप्त गर्यो। बीपी कोइराला नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री मात्र हैनन्, लोकतान्त्रिक मूल्य र समाजवादको अद्वितीय संयोजन प्रस्तुत गर्ने विचारक पनि हुन्।
बीपीले भने जस्तै लोकतान्त्रिक समाजवाद र राष्ट्रियता आजको दिनसम्मका लागि कांग्रेसको आधारशिला रहेको छ। यसलाई मूलमन्त्रको रूपमा अँगालेको यो दल आजसम्म पनि नेपाली राजनीतिमा प्रमुख लोकतान्त्रिक शक्तिको रूपमा स्थापित भएको छ। कांग्रेस प्रति आस्थावान् लाखौं जनसमुदाय चारतारे झन्डामुनि बसेर राजनीति मार्फत नि:स्वार्थ समाजसेवामा समर्पित हुन आज पनि तीव्र इच्छुक छन्। यो गर्विलो इतिहासका बावजुद पछिल्लो समय यसको सङ्गठनात्मक शक्ति कमजोर बन्दै गएको स्पष्ट संकेत देखा पर्न थालेको महसुस हुन थालेको छ।
साथै, कांग्रेस प्रति आम नागरिकको विश्वास र भरोसा गुम्दै गएको आभास समेत हुन थालेको छ। देशको ठूलो पार्टी, देश र जनताको अभिभावक बन्नुपर्नेमा कांग्रेसले शक्ति र सत्ताको उन्मादमा जनभावनालाई लत्त्याउँदै गएको तितो सत्य हाम्रोसामु देखा परेको छ। लोकतान्त्रिक व्यवस्थासँगै जनताको अवस्थामा परिवर्तन हुन नसकेको भाष्य निर्माण हुनुका साथै नागरिकमा असन्तुष्टिको स्वर समेत ठूलो बन्दै गएको कुरा स्पष्ट देखिन्छ। लोकतन्त्रको आभास नेपाली नागरिकले गर्न पाउनुपर्छ। यसको प्रतिफल प्राप्त गर्ने पहिलो हकदार सार्वभौम नेपाली नागरिक नै हुन्।
आम नागरिकले लोकतन्त्रलाई महसुस गर्न सकेनन् भने त्यसको जिम्मेवारी लोकतान्त्रिक पार्टीको हैसियतले कांग्रेसले लिनै पर्छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा रूपान्तरण सहित पुस्तान्तरणको बहस भयो। सभापतिमा बाहेक पदाधिकारीमा नयाँ अनुहार आए। केही आशाको सञ्चार भयो। तर मूलभूत रूपमा न रूपान्तरण भयो न पुस्तान्तरणको मूल मर्म अनुसार काम भयो। पुरानै पुस्ताका नेतालाई देवत्वकरण गर्ने विषयले प्राथमिकता पायो। महामन्त्रीका रूपमा गगन थापा र विश्वप्रकाश शर्माले कार्यकर्ताको आशा अनुरूप भूमिका खेल्न नसक्नु एउटा साह्रै नै दु:खद् पक्ष रह्यो। जसका कारण आम कांग्रेसमा निराशा समेत छायो।
कांग्रेसभित्रका तमाम बेथिति तथा विसङ्गति र देशभरिका निराश कार्यकर्ताको बीचमा बीपीको विचार र सिद्धान्तलाई कार्यान्वयनको चरणमा पुर्याउनुपर्नेमा झन् २०७९ सालको निर्वाचनमा आधारभूत मान्यता पनि नमिल्ने, सिद्धान्त र विचार नै फरक भएका पार्टीसँग चुनावी गठबन्धन गरी तमाम जनता र कार्यकर्ताको भावनामा आघात पुर्याउने काम शीर्ष नेतृत्वबाट भयो। कांग्रेसजनको रूख चिह्नमा मतदान गर्न पाउने अधिकारलाई समेत कुण्ठित बनाइयो। जसले कांग्रेसलाई अझ बढी कमजोर बनाउँदै लग्यो। नेता र नेतृत्वको स्वार्थका लागि गरिएको स्वार्थपूर्ण गठबन्धनले कार्यकर्ता निराश भए।
प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट सहित २७ लाख १५ हजार २२५ मत कांग्रेसले पायो। सबैभन्दा ठूलो दल त भयो तर कांग्रेसले भविष्यमा यसको जवाफ लामो समय दिनुपर्ने अवस्था आएको छ किनभने यति लामो इतिहास बोकेको पार्टीले प्राप्त गर्ने यो जनमत आफैंमा सन्तोषजनक हुनै सक्दैन। जसबाट जनजनमा पार्टी प्रतिको आकर्षण कमजोर बनेको कुरा लुकाएर लुक्ने कुरै भएन। फेरि पनि कांग्रेसको हालको नेतृत्वमा पार्टी सबलीकरण गर्नु र सत्ताको मोह घट्नुको साटो झन्–झन् बढेर गयो। फलस्वरूप नेतृत्वको अकर्मन्यताका कारण देशकै ठूलो दल सत्ताबाट विमुख भई एकपटक प्रतिपक्षको कित्तामा पुग्यो र फेरि सत्तामोहकै कारण पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार गठन गर्ने अव्यावहारिक कदम अगाडि बढ्यो।
सरकारले जनताको भावना मुताबिक काम गर्न त सकेन तर उल्टो भ्रष्टाचारले ऐतिहासिक उचाइ कायम गरी रेकर्ड नै राख्यो। जसको प्रतिफल स्वरूप पछिल्लो आन्दोलन र विध्वंस भयो जसले समग्र देशको आर्थिक तथा सामाजिक अवस्था तहसनहस बन्न पुग्यो। महामन्त्री गगन थापाले संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी दिएर गरेको नेतृत्व गर्ने हिम्मतलाई अघिल्लो पुस्ताका नेताले स्वीकार्न सकेन। जुन कांग्रेस र देशकै लागि ठूलो विडम्बना बन्न पुग्यो। एउटा अनुशासित कार्यकर्ताको हिसाबले भन्ने हो भने, नेपाली कांग्रेसका सभापति श्रद्धेय नेता शेरबहादुर देउवाले प्रजातन्त्र स्थापनादेखि लोकतन्त्र र गणतन्त्र स्थापनासम्म पुर्याउनुभएको योगदान र त्यागप्रति सधैं गर्वका साथ हार्दिक सम्मान दिनैपर्छ। तर अब इतिहासलाई हेरेर गर्व गर्ने मात्र भन्दा पनि समयको माग अनुरूप नेतृत्व हस्तान्तरण गर्नु अपरिहार्य भइसकेको छ। अहिले चर्चामा रहेको जेनजी भनेको कुनै अलग्गै वर्ग होइन।
हरेक पार्टीमा जेनजी पुस्ताको प्रतिनिधित्व छ। नेपाली कांग्रेसमा पनि यो पुस्ता जबरजस्त कायम छ। पार्टीभित्रै रहेको यो पुस्तामा नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई आत्मसात् गर्ने अठोट छ, कांग्रेस प्रति अपेक्षा छ, आशा छ अनि भरोसा पनि छ। समयानुसार नयाँ पुस्ताको माग अनुरूप अगाडि बढ्न नसक्नुका कारण आज कांग्रेस पार्टी ठूलो दुर्घटनामा परेको महसुस हुन थालेको छ। कांग्रेस राजनीतिक भागबन्डा र सत्तामोहमा लिप्त हुँदा देश गम्भीर सङ्कटमा फस्यो। पार्टीको नेतृत्वले महामन्त्रीद्वयको कुरा सुन्न चाहेको देखिएन। युवा महामन्त्रीहरूमा समेत नेतृत्वलाई धेरै प्रश्न गर्दा आफ्नो राजनीतिक भविष्यमा अवरोध आउँछ भन्ने मनोभावना जागेको हो कि भन्ने आशंका राख्ने प्रशस्त ठाउँ छन्।
महामन्त्रीहरूले शीर्षस्थानमा पुगेर जति सक्नुपर्थ्यो त्यति नगरेकै हो। कांग्रेसकै नेता संलग्न भ्रष्टाचार लगायत विभिन्न अनियमितताको विषयमा सवाल उठिरहँदा छानबिनका लागि सबैभन्दा पहिले कांग्रेसले दबाब सिर्जना गर्नुपर्थ्यो। तर त्यो हुन सकेन। सरकारमा गएका मन्त्रीहरूले जनमुखी र परिणाममुखी कार्य गर्न सकेनन्। जिम्मेवारीमा बसेर पटक–पटक प्रभावकारी भूमिका देखाउन सकेनन्। विभिन्न अपराधमा समेत नाम जोडिएर शङ्काको घेरामा रहँदा समेत छानबिनको दायरामा ल्याउने पहलकदमीमा कमि देखियो। यस्ता गतिविधिले प्रोत्साहन पाइरहँदा हरेक काण्डमा आफ्नै नेताको नाम जोडिएर आइरहँदा समेत छानबिनका लागि सहजीकरण भएन। यसमा नयाँ पार्टीहरूले मसला थप्न थाले।
सरकारमा गएका विवादित मन्त्रीहरूको छानबिनका लागि उठेका कुराहरूलाई बेवास्ता गर्न थालियो। यो आम कांग्रेस र जनताका लागि ठूलो धक्का साबित भएर देखियो। नेतृत्वले गरेका गलत कदमका विरुद्ध युवा विद्यार्थीले आवाज उठाए। तिनका आवाजलाई नेतृत्व माथिको विद्रोहका रूपमा प्रचार गरियो। फलस्वरूप परिवर्तनकामी विद्यार्थीलाई समेत प्रतिशोधको भावले हेर्ने काम भयो। क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनमा उम्मेदवारी छनोटमा समेत त्यसको प्रभाव पर्यो। निरीह भएर सहेर बसेका विद्यार्थीलाई समेत आजको जेनजी आन्दोलनले, नेतृत्वप्रति विमति मात्र हैन नेतृत्वको निर्णयलाई स्वीकार्नुपर्ने बाध्यता चिर्न नसक्नुमा आत्मग्लानि महसुस समेत गरायो। कांग्रेसकै नेतृत्वमा देशभरि जनभावना विपरीत काम भइरह्यो। कांग्रेसका महामन्त्रीद्वय यसको मूखदर्शक बनिरहे।
सरकारको गति र मति दुवै उल्टो भएर गयो। कांग्रेसको नेतृत्वमा देखिएको सत्ताको मोहका कारण दिनानुदिन भ्रष्टाचार मौलाउँदै र अन्त्यमा जनताको आवाज बन्द गर्ने मनसायले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा जेनजी पुस्तालाई थप आक्रोशित बनायो। जनताको असन्तुष्टि सहितको आक्रोशलाई सामान्य रूपमा लिएर सरकारले जुन घमन्ड देखायो त्यसको फलस्वरूप जेनजी पुस्ता सडकमा ओर्लिन बाध्य भए। हजारौंको सङ्ख्यामा सडकमा आएका जेनजी पुस्तालाई हल्का रूपमा लिंदै बन्दुकको गोलीले आवाज दबाउन खोज्नुको परिणाम आज सरकार छाडेर भाग्नुपर्ने अवस्था आयो। संविधान धरापमा पर्यो। सार्वभौमसत्ता प्रति विदेशीको नजर गाडियो। आन्दोलनना सबै राजनीतिक दल तथा विभिन्न संस्थाका अवसरवादी समूहहरुको घुसपैठ समेत हुन पुग्यो र जेनजीको नाममा हाम्रा ६०० भन्दा बढी सार्वजनिक सम्पत्ति पूर्ण रूपमा नष्ट भएर खर्बौँको क्षति भयो। त्योभन्दा पनि बढी पीडादायी कुरा कैयौं आमाको काख रित्तियो। देशका युवा कर्णधारहरू सदाको लागि अस्ताए।
कांग्रेस नेतृत्वबारे यस विषयमा गम्भीर समीक्षा हुन जरूरी छ। नागरिकको विश्वास टुट्दै गएको कांग्रेसले युवा पुस्ताको आवाज सुन्न सक्नुपर्छ। आज मुलुकमा असंवैधानिक सरकार निर्माण भएको छ। जेनजी पुस्ताको वर्षौंदेखिको वितृष्णालाई सम्बोधन गर्न सकेको भए शायद आज कांग्रेसका गगन थापा जस्ता युवा नेता सरकारको नेतृत्वमा हुनेथिए, जुन संवैधानिक हिसाबले पनि सहज हुनेथियो। अब कांग्रेसलाई यसो भयो उसो भयो भनेर गुनासो मात्र गरेर बस्ने छुट कुनै पनि हालतमा छैन। कांग्रेसलाई पुनः सच्याएर र सुधारेर जनताको विश्वासिलो पार्टीको रूपमा उभ्याउन सक्नुपर्छ। तर दु:खका साथ भन्नु पर्दा पुरानो पुस्ताका केही नेताहरूको अभिव्यक्ति सुन्दा कांग्रेस अझै सच्चिने बाटोमा नलागेको हो कि भन्ने आभास हुन थालेको छ।
अब नियमित महाधिवेशन हैन, विशेष महाधिवेशन मार्फत नेपाली कांग्रेसलाई पुनर्गठन गर्नुपर्नेछ। बडो संयमताका साथ जेनजी पुस्ताको उल्लेखनीय उपस्थिति तथा अपनत्व हुने गरी लोकतान्त्रिक मूल्य–मान्यतालाई प्रमुखताका साथ राख्नुपर्ने हुन्छ। कांग्रेसको नेतृत्व गगन, विश्व र प्रदीप पौडेल लगायत युवा पुस्ताले लिनुपर्छ। अहिले देखिएको नेतृत्वविहीन जेनजी पुस्तालाई समेत अभिभावकत्वको आवश्यकता देखिएको अवस्थामा अभिभावकत्व प्रदान गर्नका निमित्त गगन थापा उपयुक्त पात्र हुनसक्छन्। महामन्त्री गगन थापाले विगतको कमजोरी नदोहोर्याउने शर्तसहित जेनजीको भावनालाई बुझेर नेतृत्व लिन तयार रहनुपर्छ। त्यति मात्र होइन अब जलेका भवनहरूलाई उठाउनु छ। ढलेका सपनालाई बिउँझाउनु छ, तर त्यसको लागि यही पुरानो नेतृत्व कार्यशैली र व्यवहारले सम्भव छैन।
वर्तमान नेतृत्वले सहजीकरण गरी नेतृत्व हस्तान्तरण गर्नुपर्छ। तर, स्मरणरहोस् जेनजी पुस्ताको सहभागिता र अपनत्व विना अगाडि बढ्न खोजियो भने कांग्रेसले बेहोर्ने क्षतिको लेखाजोखा रहने छैन। तसर्थ युवा पुस्ताको भावनालाई बुझेर युवाहरूको आक्रोश सम्बोधन गरी कांग्रेस पार्टी र संविधानलाई अगाडि बढाउनुपर्दछ। कांग्रेसका युवा पुस्ताले त्यसको लागि नेतृत्व लिन सक्षमता देखाउनै पर्छ र गगन थापा उक्त नेतृत्वका लागि उपयुक्त पात्र हुन सक्छन्।
(नेविसंघ केन्द्रीय सदस्य रहेकी कटुवाल कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्।)
प्रतिक्रिया 4