
३० असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुन: पक्राउ परेका छन् ।
सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
उनले सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको आरोप छ ।
पूर्वगृहराज्यमन्त्री समेत रहेका उनी यसअघि पनि पक्राउ परेर तारेखमा छुटेका थिए । अहिले भने विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि पक्राउ गरिएको अख्तियार स्रोतले बतायो ।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए ।
घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।
उनी यसअघि २० जेठमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया 4