+
+
Shares

पहिलो त्रैमासमै सरकारको आम्दानीभन्दा खर्च धेरै, खुम्चियो विकास बजेट

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मै सरकारको आम्दानी भन्दा खर्च माथि पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ, जुन आम्दानीभन्दा १ खर्ब ११ अर्ब बढी हो।
  • असोज मसान्तसम्म राजस्व संकलन २ खर्ब ५१ अर्ब १८ करोड मात्रै भएको छ, जुन लक्ष्यको ७८.१२ प्रतिशत र गत आवभन्दा कम हो।
  • पूँजीगत खर्च चालु आवमा ४ खर्ब ८ अर्ब ८८ करोडको लक्ष्यमा ४.७ प्रतिशत मात्रै खर्च भएको छ, जसले विकास बजेट खुम्चिएको देखाउँछ।

२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मै सरकारको आम्दानी भन्दा खर्च माथि पुगेको छ । अर्कोतर्फ चालु प्रकृतिको खर्च विस्तार हुँदा विकास बजेट खुम्चिन पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।

असोज मसान्तसम्म सरकारले ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यस अवधिमा आम्दानी (राजस्व, अनुदान र अन्य) भने २ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँ मात्र भएको देखिन्छ । तीन महिनामै सरकारको आम्दानी र खर्चका बीचमा १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको खाडल रहेको देखिन्छ । जसले गर्दा सरकारले ऋण लिएर खर्चको जोहो गर्नुपर्ने देखिएको छ ।

कार्यालयका अनुसार असोजसम्म भएको कुल बजेट खर्च लक्ष्यको १८.५६ प्रतिशत हो । चालु आवमा सरकारले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये चालु खर्च असोजसम्म २ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँ बराबर भएको छ । यस आवमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबर चालु खर्चको लक्ष्य छ । असोजसम्म २१.७५ प्रतिशत चालु खर्च भएको छ ।

पूँजीगत खर्च भने तीन महिनामा १९ अर्ब १८ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ४.७ प्रतिशत मात्र हो । यस वर्ष सरकारले ४ खर्ब ८ अर्ब ८८ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ ।

वित्तीय व्यवस्थातर्फ तीन महिनामा ८८ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । यो रकम अधिकांश ऋणको साँवा, ब्याज तिर्न खर्च भएको हो । यस वर्ष सो प्रयोजनका लागि सरकारले ३ खर्ब ७५ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । वित्तीय व्यवस्थातर्फको खर्च लक्ष्यको २३.६१ प्रतिशत भइसकेको छ ।

गत आवको यसै अवधिसँग तुलना गर्दा चालु खर्च विस्तार भएको छ । पुँजीगत खर्च भने खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो वर्ष असोज मसान्तसम्म कुल बजेट खर्च ३ खर्ब २९ अर्ब रुपैयाँ बराबर भएको थियो । जसमा चालु खर्च २ खर्ब २९ अर्ब र पुँजीगत खर्च २९ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको थियो ।

गत आवमा सरकारले आव २०८०/८१ मा खर्च भएको बक्यौता पहिलो त्रैमासमै भुक्तानी गरेको थियो । जसले गर्दा पुँजीगत खर्च ह्वात्तै माथि पुगेको हो । सो आवमा वित्तीय व्यवस्थापनतर्फ ६९ अर्ब ९७ करोड रुपैयाँ भएको थियो ।

राजस्वले भेटेन लक्ष्य, गत आवभन्दा पनि कम संकलन

अर्थ मन्त्रालयका अनुसार यस वर्ष असोजसम्म २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जुन लक्ष्यको ७८.१२ प्रतिशत मात्र हो । यस वर्ष कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको छ । यसमध्ये असोजसम्म ३ खर्ब २१ अर्ब ५३ करोड संकलन गर्ने लक्ष्य थियो ।

असोज महिनामा मात्र १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो । यसमध्ये ९२ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको मन्त्रालयको तथ्यांक छ । जुन ८९.७१ प्रतिशत प्रगति हो । असोज ३१ का दिन मात्र ८ अर्ब ६ करोड राजस्व उठेको छ । गत आवको असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब १ करोड राजस्व उठेको थियो । यस अनुसार गत आवको तुलनमा राजस्व असोजमा घटेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?