+
+
Shares

हुम्ला र मनाङका दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसँग स्थानीयको आग्रह

रासस रासस
२०८२ कात्तिक ९ गते २२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्ला र मनाङको दुर्गम क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा विस्तार गर्न स्थानीयले सञ्चारमन्त्री खरेलसँग अनुरोध गरेका छन्।
  • सञ्चारमन्त्री खरेलले लिमी, लाप्चालगायत क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा स्थापना गर्न पहल गर्ने विश्वास दिलाउनुभएको छ।
  • मनाङको नार्पा भूमिमा फोरजी सेवा विस्तार गरी गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन स्थानीयले आग्रह गरेका छन्।

९ कात्तिक, काठमाडौं । हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्‍याउनका लागि पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह गरिएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकाका स्थानीयवासीसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेलसँग भेट गरी दूरसञ्चारको पहुँच विस्तारका लागि अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

नाम्खा–६ स्थित लिमी क्षेत्र, नार्पा भूमि–१ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँलगायत स्थानमा गुणस्तरीय र भरपर्दो दूरसञ्चारको पहुँच विस्तार गर्न स्थानीयले माग गरेका छन् ।

नाम्खाका विभिन्न क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार तथा नार्पाको नार र फू क्षेत्रमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार गर्न आग्रह गरिएको छ ।

प्रतिनिधिमण्डलको ज्ञापनपत्र ग्रहण गर्दै सञ्चारमन्त्री खरेलले हुम्लाको लिमी, लाप्चालगायत क्षेत्रमा दूरसञ्चारको साधन टेलिफोन र ‘इन्टरनेट’ सेवाको पहुँच स्थापित गर्न तथा मनाङको नार्पा भूमिका दुर्गम क्षेत्रमा फोरजी सेवाको पहुँच पुर्‍याउन पहल गर्ने विश्वास दिलाए ।

देशका ग्रामीण क्षेत्रका जनतालाई सञ्चार आदान–प्रदान, ‘डिजिटल’ भुक्तानीलगायतमा सहज होस् भन्ने हेतुले आफूले निरन्तर पहल गरिरहेको उनले उल्लेख गरे ।

मन्त्री खरेलले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए । नाम्खामा रहेको लिमी उपत्यका पर्यटकीय गन्तव्य हो ।

सिमिकोटका राजन रावतले हुम्लाको पर्यटकीय क्षेत्र लिमीलाई पर्यटनको आकर्षक केन्द्रका रूपमा स्थापित गर्न तथा सञ्चारको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चार सञ्जाल विस्तारको पहल गरिदिन सञ्चारमन्त्रीसमक्ष आग्रह गरिएको बताए ।

लिमी र लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिन्छ । तर, त्यहाँ पुग्ने विभिन्न पदमार्गहरूमा टेलिफोन र इन्टरनेटको सुविधा नहुँदा स्थानीय एवं पर्यटकलाई समस्या हुने गरेको छ ।

पर्यटकीय क्षेत्र लिमी, लाप्चा सल्ली, न्यालु र ताक्चीमा कुनै पनि सञ्चारको साधन नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ । लिमीमा तीनवटा टावर निर्माण गरी टेलिफोन र इन्टरनेट सेवा सञ्चालनका लागि स्थानीयले माग गरेका छन् ।

‘हाम्रो मुख्य माग लिमी लाप्चालगायत क्षेत्रमा सञ्चारको उपयोग गर्न पाउनुपर्छ भन्ने हो’, उनले भने, ‘बर्सेनि हजारौँ पर्यटक भित्रिने क्षेत्रमा सञ्चारको पहुँच स्थापित गर्न हुम्लावासीले पहलकदमी लिएका हौँ । यसले स्थानीयवासी र पर्यटकलाई राहत मिल्नेछ ।’

नेपाल पत्रकार महासङ्घ हुम्लाका सदस्यसमेत रहनुभएका रावतले आफूहरूको मागलाई सञ्चारमन्त्रीले सकारात्मक लिनुभएको र आगामी दिनमा हुम्लालगायतका सबै ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे ।

ती क्षेत्रमा टेलिफोन र इन्टरनेटको सहजता भएमा पर्यटक लाभान्वित हुनेछन् । लिमी क्षेत्रमा झन्डै ६ महिना हिमपात हुनेगर्छ । बाक्लो हिमपातले स्थानीय र पर्यटकलाई सञ्चार सम्पर्कमा कठिन हुने गरेको छ ।

लिमीका फुन्जोक छोपेल तामाङका अनुसार कैलाश मानसरोवर जाने लिमी क्षेत्रमा पर्यटकलाई सञ्चार सम्पर्क गर्न असहज भएको र स्थानीय बिरामी परेको अवस्थामा सम्पर्क गर्न तथा समयमै अस्पताल लैजान समस्या भएको छ ।

टेलिफोन र इन्टरनेट सेवा सुरु भए स्थानीयलाई राहत मिल्नाका साथै पर्यटकलाई सञ्चार आदान–प्रदानमा सहज हुने तामाङले बताए ।

लिमी एकता तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिडेडका अध्यक्ष छिरिङ नेक्याप लामाले भिसेट फोन सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित निकायमा ताकेता गरिदिन सञ्चारमन्त्रीसमक्ष अनुरोध गरे ।

कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सुदूर उत्तर पश्चिममा अवस्थित नाम्खा पर्यटकीय गन्तव्य हो । स्थानीयका अनुसार लिमी क्षेत्रमा वार्षिक १५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।

यस्तै मनाङको नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तन्जिङ लामाले वडा नं १ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँमा दूरसञ्चार सेवालाई दिगो तथा गुणस्तरीय बनाउन तथा टेलिकमको फोरजी सेवा विस्तारका लागि स्थानीयले सञ्चारमन्त्रीलाई आग्रह गरे ।

उनका अनुसार ती क्षेत्रमा एक/एकवटा नेपाल टेलिकमका टावर रहेको र इन्टरनेट सेवाका लागि टेकमाइन्स नेटवर्क प्रालिसँग सम्झौता भएको छ ।

टेलिकम टावर र इन्टरनेट सेवा न्यून गुणस्तर तथा भरपर्दो नहुँदा पिएएमएस, इजिपी, सिसिआइएमएस, इआइएमएसलगायत अधिकांश सेवा अनलाइनमा आधारित हुनाका साथै ओटिपिसमेत मोबाइल नेटवर्कका कारण प्राप्त नहुने र दैनिक रिपोर्टिङ गर्नुपर्ने तथ्याङ्क अनलाइन प्रणालीमा प्रविष्टि गर्न कठिनाइ भइरहेको छ ।

अनलाइनका लागि पालिका केन्द्रदेखि दुई दिन हिँडेर जिल्ला सदरमुकाम झर्नुपर्ने बाध्यता रहेको भन्दै अध्यक्ष लामाले दैनिक सार्वजनिक प्रशासन तथा सेवा प्रवाहमा अवरोध सिर्जना भएकाले गुणस्तरीय र दिगो सूचना तथा सञ्चार  सुविधा अति आवश्यक रहेकाले सोको व्यवस्थापनका लागि यथासम्भव फोरजीसहितको मोबाइल नेटवर्कका लागि शीघ्र पहल गरिदिन मन्त्री खरेलसमक्ष अनुरोध गरिएको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?