+
+
Shares

चौधरी ग्रुपले भित्र्यायो वैदेशिक लगानी, नवलपरासीमा बिकाजी स्न्याक्स फ्याक्ट्री खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चौधरी ग्रुपले भारतको बिकाजी फुड्स इन्टरनेसनलसँग सहकार्यमा नवलपरासीमा नयाँ स्न्याक्स फ्याक्ट्री सञ्चालनका लागि वैदेशिक लगानी भित्र्याएको छ।
  • हालैको जेनजी आन्दोलनमा चौधरी ग्रुपका व्यवसायिक प्रतिष्ठानमाथि आगजनी भएपनि नेपालमा बहुराष्ट्रिय कम्पनी भित्र्याएर आर्थिक विकासका लागि नयाँ सोचका साथ अघि बढ्ने ग्रुपले संकल्प गरेको छ।

१२ चैत, काठमाडौं । राजनीतिक अन्यौल तथा आर्थिक चुनौतिपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्र्याएको छ ।

ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेसनल सँगको सहकार्यमा वैदेशिक लगानी भित्र्याएको हो । सो लगानीबाट नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्री सञ्चालन हुने भएको छ । फ्याक्ट्रीको आज शिलान्यास गरिएको छ ।

बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका हुन् । समारोहमा ग्रुपका अध्यक्ष विनोद चौधरीको समेत उपस्थिति थियो ।

हालैको जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यवसायिक प्रतिष्ठानहरूमाथि आगजनी एवं तोडफोड भएको थियो । सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमाथि आगजनी गरेर ध्वस्त बनाइनुका साथै ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो ।

उक्त घटनापछि ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका बाबजुत सीजीको नेपालप्रतिको प्रतिवद्धतामा कमी नआउने र आर्थिक विकासका लागि नयाँ सोचका साथ अगाडि बढ्ने संकल्प गरे । उक्त घटनाको करिव डेढ महिना बितिरहँदा चौधरीले ग्रुपले नेपालमा बहुर्राष्ट्रिय कम्पनीलाई भित्र्याएको हो ।

बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो फ्याक्ट्रीमार्फत भुजिया, नमकीन लगायत अन्य लोकप्रिय स्न्याक्सहरुको उत्पादन हुनेछ । यो साझेदारी नेपालको खाद्य उद्योगलाई नयाँ गतिमा अघि बढाउने, आयातमा निर्भरता घटाउने र नेपाली बजारका लागि विश्वस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

यस प्लान्टमा पहिलो चरणमा करिब ५० करोड रूपैयाँ लगानी हुनेछ भने करिव चार सय रोजगारी सिर्जना हुनेछ । शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले भने, ‘नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जाको आवश्यकता रहेको समयमा हामीले नेपालमा नयाँ क्षेत्रमा लगानी गर्दैछौँ, यसले नेपालप्रति चौधरी ग्रुपको गहिरो प्रतिबद्धतालाई पुष्टि गर्दछ।’

निराशाबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा यस लगानीले नयाँ आशाको सञ्चार गर्ने विश्वास रहेको प्रवन्ध निर्देशक चौधरीले बताए । नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउन यस पहलले सकारात्मक योगदान पुग्नेछ ।

चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्सका उत्पादन हाल ६३ देशहरूमा फैलिएका छन् । विश्वभर चर्चित ‘वाइ वाइ’ ब्रान्डको निर्माता सिजी फुड्सले नयाँ–नयाँ उत्पादन वर्गहरूमा विस्तार गर्दै नवप्रवर्तन, रोजगारी सिर्जना र राष्ट्रिय औद्योगिकीकरणलाई बल पुर्‍याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?