News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका र देशका अधिकांश ठाउँमा कात्तिक १३ गते वर्षा भएको छ र मोन्था चक्रवातको प्रभावले राति वर्षा झन् बढ्नेछ।
- वरिष्ठ मौसमविद् वरूण पौडेलले कोशी प्रदेशदेखि लुम्बिनी पूर्वी भागसम्म वर्षा हुने र पर्सी बिहानदेखि मौसम सुधारिने बताए।
- जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमपात र बाढी पहिरोको जोखिमका कारण पदयात्रा नगर्न सबैमा आग्रह गरेको छ।
१३ कात्तिक, काठमाडौं। काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा भएको छ । यो वर्ष कात्तिकमै हिमपात र भारी वर्षा भएपछि कतै किसानलाई खुशी दिएको छ भने कतै बाढी पहिरोको चिन्ता बढेको छ ।
हाल देशमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले वर्षा भइरहेको छ । मोन्था चक्रवातको प्रभाव आज राति झन् बढ्ने मौसमविद्को पूर्वानुमान छ । वरिष्ठ मौसमविद् वरूण पौडेलका अनुसार आज राति पानी पर्नेक्रम झन् बढ्ने छ।
‘अहिले हामीले पुर्वानुमान गरे अनुसारकै वर्षा भइरहेको छ । राति फेरि वर्षा बढ्छ।’ उनले भने। यसको प्रभाव कोशी प्रदेशदेखि लुम्बिनीको पूर्वी भागसम्म पर्ने उनको भनाइ छ । तर, पश्चिमको तुलनामा पूर्वमा बढी पानी पर्नेछ ।
यका साथै वर्षाको असर भोलि दिनभर नै रहने र पर्सी बिहानबाट क्रमश सुधार हुँदै जाने पूर्वानुमान छ । वरिष्ठ मौसमविद् पौडेलले भने, ‘पर्सी बिहानदेखि काठमाडौंको मौसम खुल्छ। बादल पूर्वतर्फ सर्दै जाने भएकाले क्रमश: अन्त पनि मौसम सुधारिनेछ।’
नेपालको मधेश प्रदेशबाट प्रवेश गर्ने यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ ।
साथै कोशीका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ ।
त्यसकारण पदयात्रामा नजान र सम्भावित बाढी पहिरोको जोखिमबाट जोगिन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

प्रतिक्रिया 4