१६ कात्तिक, काठमाडौं । शक्तिशाली राष्ट्र अमेरिका र चीनबीचको जटिल सम्बन्धलाई प्रष्ट पार्ने गरी दुई महत्वपूर्ण घटनाक्रम एकैपटक देखिएका छन्: एकातिर प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्ने सहमति, अर्कोतिर दक्षिण चिनियाँ सागरमा कडा चेतावनी।
मलेसियामा आयोजित क्षेत्रीय सुरक्षा सम्मेलनको मञ्च यस दोहोरो नीतिको साक्षी बन्यो।
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले शनिबार राति आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेपछि दुई देशले सैन्य-सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति भएको घोषणा गरे। द्वन्द्वको जोखिम कम गर्न यो कदमलाई महत्त्वपूर्ण मानिएको छ।
हेग्सेथले यो सहमतिपछि दुई देशको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको दाबी गर्दै भने, ‘शान्ति, स्थिरता र राम्रो सम्बन्ध हाम्रा दुवै महान् र शक्तिशाली देशहरूको साझा मार्ग हो भन्नेमा हामी सहमत भयौँ।’
उनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि यस विषयमा कुरा भएको र दुवै नेता ‘अमेरिका–चीन सम्बन्ध पहिलेको तुलनामा धेरै राम्रो भएको’ कुरामा सहमत भएको जानकारी दिए।
दक्षिण चीन सागरमा चीनलाई कडा चेतावनी
सञ्चार च्यानल स्थापनाको सहमतिसँगै रक्षामन्त्री हेग्सेथले क्षेत्रीय सुरक्षा बैठकमा दक्षिण चीन सागरमा चीनका गतिविधिहरूलाई लिएर कडा आलोचना प्रस्तुत गरे। उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरू (आसियान) लाई चीनका ‘अस्थिर र चुनौतीपूर्ण गतिविधिहरू’ विरुद्ध दृढ रहन र आफ्नो नौसैनिक क्षमता सुदृढ गर्न आह्वान गरे।
‘दक्षिण चीन सागरमा चीनका व्यापक क्षेत्रीय र समुद्री दाबीहरू, विवादहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धतासँग मेल खान्नन्,’ हेग्सेथले स्पष्ट पार्दै भने, ‘हामी शान्ति चाहन्छौँ, द्वन्द्व होइन। तर हामीले चीन कुनै पनि मुलुकमा हावी हुन नपाओस् भन्ने हामीले सुनिश्चित गर्नुपर्छ ।’
उनले चीनले सन् २०१२ मा फिलिपिन्सबाट कब्जा गरेको स्कारबोरो सोललाई हालै ‘प्रकृति आरक्ष’ घोषणा गरेको कदमलाई क्षेत्रीय दाबी विस्तार गर्ने अर्को प्रयास भन्दै कडा आलोचना गरे।
आसियानलाई सुरक्षा प्रस्ताव
हेग्सेथले आसियान सदस्य राष्ट्रहरूलाई चीनसँग लामो समयदेखि रोकिएको समुद्री आचारसंहिता छिटो टुङ्ग्याउन आग्रह गरे। यसका साथै, उनले समुद्रमा उक्साहट रोक्न साझा निगरानी प्रणाली र द्रूत प्रतिक्रिया संयन्त्र निर्माण गर्ने प्रस्ताव गरे ।
उनले साझा निगरानी प्रणालीले सदस्य मुलुकलाई एक्लो महसुस हुन नदिने र ‘आक्रामकता वा उक्साहटको सामना सामूहिक रूपमा गर्न सहयोग पुर्याउने’ विश्वास व्यक्त गरे ।
वासिङ्टनको दोहोरो नीति र बेइजिङको प्रतिवाद
कूटनीतिक स्तरमा आएको एकै समयमा मेलमिलाप र कडा चेतावनीको यो विपरित सन्देशले वासिङ्टनले बेइजिङसँगको तनावका बीच सन्तुलित नीति अपनाउने प्रयास गरेको देखिन्छ ।
दक्षिणपूर्वी एसियाली राजनीतिक विश्लेषक ब्रिजेट वेल्शले यस स्थितिबारे टिप्पणी गर्दै भने, ‘यो स्थिति एक प्रकारको क्षति नियन्त्रण हो। यो अमेरिका भित्र चीनबारे रहेका दुई दृष्टिकोणको प्रतिबिम्ब हो। त्यो भनेको, एउटा जसले चीनलाई खतरा मान्दछ र अर्को जसले सम्भावित साझेदारका रूपमा पनि हेर्दछ ।’
यता, चीनले भने अमेरिकाको आलोचना अस्वीकार गरेको छ। चिनियाँ अधिकारीहरूले आफ्ना गस्ती र निर्माण गतिविधिहरूलाई वैध र आफ्नै सार्वभौमिक भूभागमा सुरक्षा कायम राख्नका लागि आवश्यक भएको बताएका छन्।
चीनले वासिङ्टनमाथि क्षेत्रीय मामिलामा अनावश्यक हस्तक्षेप गरेको र आफ्नो सैन्य उपस्थिति बढाएर तनाव उक्साएको आरोप लगाएको छ।
यसैबीच, अमेरिकी सहयोगी फिलिपिन्सले अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डसँग दक्षिण चीन सागरमा संयुक्त नौसैनिक तथा हवाई अभ्यास गरेपछि चिनियाँ अधिकारीहरूले फिलिपिन्सलाई ‘क्षेत्रीय अस्थिरता बढाउने कार्यमा संलग्न’ भएको आरोप लगाएका छन्।
चीनको पिपुल्स लिबरेसन आर्मी साउदर्न थिएटर कमान्डका प्रवक्ता तियान जुनलीले यो अभ्यासले क्षेत्रीय शान्तिलाई गम्भीर रूपमा कमजोर पारेको दाबी गरे ।
अमेरिकी रक्षामन्त्री हेग्सेथ हाल भियतनाम भ्रमणका लागि मलेसियाबाट प्रस्थान गरेका छन् । समग्रमा, दुई विश्व शक्तिबीचको सम्बन्ध अहिले नाजुक अवस्थाबाट गुज्रिइरहेको देखिन्छ । दुई देशबीच सैन्य दुर्घटनाबाट बच्नका लागि सञ्चारको बाटो खोलिएको छ, तर क्षेत्रीय प्रभुत्वको लागि जुध्न पनि दुवै तयारी अवस्थामै देखिन्छन् ।
(एपी लगायत एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4