१९ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकामा भर्खरै सम्पन्न मेयर चुनावबाट नेपालमा जेनजीसँगै नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले सिक्नुपर्ने बताएका छन् ।
अमेरिकाको मुटु मानिने न्युयोर्क सहरमा ३४ वर्षीय जोहरान ममदानीले मेयर चुनाव जितेका हुन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै न्युयोर्कको पहिलो मुस्लिम मेयर बनेका हुन् ।
जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी यो शताब्दीका न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्।
‘अमेरिकाको सबभन्दा ठूलो सहर न्युयोर्कको मेयरमा नवनिर्वाचित युवा ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई हाम्रो नेपालका जेनजी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ-सामग्रीको रूपमा लिन जरूरी छ,’ बुधबार बिहान भट्टराईले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
विचार र व्यक्ति दुवैको सम्मिश्रणले सही नेतृत्व जन्मने बताउँदै उनले ममदानीलाई विचार र व्यक्तित्व दुवैको धनी बताएका छन् । ‘विचार विनाको व्यक्ति र व्यक्तित्व विनाको विचारले सही राजनीतिक नेतृत्व गर्न सक्दैन। विश्व इतिहासको अनुभवले यही भन्छ,’ उनले भनेका छन् ।
न्युयोर्कमा ममदानीको जितलाई ट्रम्पको राजनीतिक असफलताको रूपमा चित्रित गर्न थालिएको छ ।
प्रतिक्रिया 4