News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वसांसद विनोद चौधरीले नेपाली कांग्रेसको ढोका देशलाई योगदान गर्न चाहने सबैका लागि खुला हुनुपर्ने बताउनुभयो।
- चौधरीले कांग्रेसले सदस्यताको १० वर्षे पर्खाल हटाएर स्वागत गर्ने वातावरण बनाउनु पर्ने प्रश्न उठाउनुभयो।
- उनले २४ भदौको जेनजी आन्दोलनलाई आतंक भनेका छन् र यसमा पार्टीका मान्छे र गुन्डागर्दी गर्ने मान्छे संलग्न रहेको उल्लेख गर्नुभयो।
२० कात्तिक, काठमाडौं । पूर्वसांसद तथा उद्योगपति विनोद चौधरीले देशलाई योगदान गर्न चाहने सबैका लागि नेपाली कांग्रेसको ढोका खुला हुनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा चौधरीले यस्तो बताएका हुन् । आफ्नो जीवनमा ट्र्याक रेकर्ड कायम गरेका, प्रोफेसनमा सफल, उद्यमशीलतामा सफल, अध्ययन अनुसन्धानमा सफल भएकाहरू नयाँ दलको खोजीमा लागिरहेको भन्दै उनले यसमा कांग्रेस उदार हुनुपर्ने बताए ।
‘यस्तो पृष्ठभूमिमा कांग्रेसले सदस्यताको १० वर्षे पर्खाल लगाएर यस्ता मानिसलाई छेकिरहने हो कि यो सबै हटाएर स्वागत गर्ने वातावरण बनाउने हो ?,’ उनले प्रश्न गरे ।
चौधरीले राजनीतिका लागि राजनीति मात्रै गर्ने र राजनीतिलाई पेसा बनाउनेबाट अबको राजनीति अगाडि बढ्न नसक्ने समेत बताए ।
अहिले विदेशमा बसेका नेपालीको एक फोनका भरमा भोट खस्ने गरेको भन्दै नेताहरूले गरेको भाषणका भरमा भोट खस्न छाडेको स्वीकार समेत गरे । यसबीच पटक–पटक राज्य संयन्त्रमा बस्दा पनि युवाको असन्तुष्टि महसुस गर्न नसक्नुमा गल्ती भएको उनले बताए ।
उनले जेनजी आन्दोलनका नाममा २४ भदौमा भएको गतिविधिलाई भने आतंक भनेका छन् । त्यसबाट आफू पनि पीडित भएको भन्दै उनले बताए । ‘त्यो आतंकलाई मैले प्रत्यक्ष देखेको छु, भोगेको छु,’ उनले भने ।
अहिले अनुसन्धानबाट धेरै कुरा बाहिर आएको भन्दै यस कार्यमा पार्टीका मान्छे, गुन्डागर्दी गर्ने मान्छे, छरछिमेकीको समेत संलग्नता रहेको बताए । राज्य व्यवस्थाबाट वाक्कदिक्क भएका केही मानिस समेत रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4