+
+
Shares

आफैंले हुँदैन भनेर गठबन्धनबाटै चुनाव लडेँ, गल्ती गरेकै हुँ : गगन थापा

‘मैले मान्न हुन्नथ्यो । म घुँडा धसेर बस्नुपर्थ्यो । म लड्नु पर्थ्यो । मैले अस्वीकार गर्नुपर्थ्यो । मैले निर्णय गर्न दिन हुन्नथ्यो,’ उनले भने, ‘मेरो सम्पूर्ण ताकतबल लगाउनुपर्थ्यो । तर, मैले आफ्नो कुरा राखेँ । भएन त भएन, मैले मान्नु पर्छ भनेर मानेँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १८:०५

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगतमा गठबन्धन गरेर निर्वाचन लड्न गएर आफूले गल्ती गरेको स्वीकार गरेका छन् । बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले ०७९ को निर्वाचनमा गठबन्धनसहित चुनाव लडेर आफूले गल्ती गरेको बताएका हुन् ।

‘अर्को पार्टीमा औपचारिक रूपमा भोट हाल्न लगाउने, हामी सकिन्छौँ भन्ने कुरा राखेँ । तर अन्तिममा पार्टीको निर्णय भयो । मलाई के लाग्छ भने मैले गल्ती गरेकै हो,’ तत्कालीन चुनावी गठबन्धन स्मरण गर्दै महामन्त्री थापाले भने, ‘त्यो कुरा राखिसकेपछि कि निर्णय गराउनुपर्थ्यो, निर्णय गराउन नसकेपछि मैले चुनाव नलड्नुपर्थ्यो । गठबन्धन गर्नुहुन्न पनि भन्ने, गठबन्धन भए पनि चुनाव लड्न जाने गल्ती गरेकै हो ।’

महामन्त्री थापाले आफ्नो कुरा राखे पनि अन्तिममा सभापति शेरबहादुर देउवाले भने भनेर गठबन्धन स्वीकार गर्नु आफ्नो भुल भएको बताए । ‘मैले गल्ती गरेकै हो । मैले त्यो बेलामा आफ्नो कुरा राखेँ । यस्तो हुन्छ भन्ने कुराको अनुमान लगाए,’ उनले भने, ‘तर, अन्तिममा गएर सभापतिले भन्नुभयो, बहुमतले भन्यो भनेर त्यसलाई मानेँ ।’

तत्कालीन समयमा आफूले सम्पूर्ण शक्ति लगाएर लड्नु पर्ने महामन्त्री थापाको भनाइ थियो । ‘मैले मान्न हुन्नथ्यो । म घुँडा धसेर बस्नुपर्थ्यो । म लड्नु पर्थ्यो । मैले अस्वीकार गर्नुपर्थ्यो । मैले निर्णय गर्न दिन हुन्नथ्यो,’ उनले भने, ‘मेरो सम्पूर्ण ताकतबल लगाउनुपर्थ्यो । तर, मैले आफ्नो कुरा राखेँ । भएन त भएन, मैले मान्नु पर्छ भनेर मानेँ ।’

थापाले निर्वाचन अगाडि गर्ने गठबन्धनले कांग्रेसको समर्थकहरूको पार्टीसँगको ‘लोयलिटीर्’  समाप्त गर्ने कुरा राखेको पनि स्मरण गरे । ‘निर्वाचन अगाडि गर्ने गठबन्धन, त्यो पनि माओवादीसँग गर्ने गठबन्धनले हाम्रो पार्टीको तलका समर्थकहरूको जुन लोयलिटी छ पार्टीसँगको त्यसलाई समाप्त गर्छ,’ उनले भने ।

महामन्त्री थापाले आफ्ना मतदातालाई कांग्रेसले नचिन्ने गरेको पनि बताए । ‘पार्टी भनेको हामीहरू मेम्बरमात्र हुँदै होइनौँ । हामी चिन्दै चिन्दैनौँ हाम्रा पार्टीको मेम्बर्सहरू,’ उनले भने, ‘ती कहिले पनि पार्टीको झण्डा पनि बोक्दैनन्, लेबी पनि तिर्दैनन्, ती लाखौंको संख्यामा छन् । तिनको लागि पार्टी भनेको कस्तो छ भने चार वर्ष, ३६४ दिन गाली गरे पनि अन्तिममा गएर रूखमा ढ्याप–ढ्याप भोट हाल्छन् । त्यो लोयलिटी छ । जेनरेशनल छ त्यो फेरि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?