+
+
Shares
कथा काठमाण्डु :

आफ्नै मिर्गौला प्रत्यारोपणको खर्च जुटाउन ‘पठाओ’ चलाइरहेका नारायण (भिडियो)

छोरी त्यति बुझ्ने त भएकी छैनन् । तर, बाबा बिरामी भएको देख्दा उनी बालसुलभ दु:ख देखाउँछिन् । बुझ्ने भएपछि के भन्दिहुन् !

सापेक्ष सापेक्ष
२०८२ कात्तिक ३० गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायण श्रेष्ठको दुवै मिर्गौलाले काम नगरेपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ।
  • उनी हप्तामा दुई पटक डायलासिस गराइरहेका छन् र औषधि खर्च मासिक १५ देखि २० हजार रुपैयाँ छ।
  • मिर्गौला प्रत्यारोपणका लागि श्रीमतीले मिर्गौला दान गर्ने तयारी छ तर खर्च जुटाउन कठिनाइ छ।

जिन्दगी नै ऐठन परेजस्तो । दुवै मिर्गौलाले काम गर्दैन । चिकित्सकले भनेका छन्- अब एउटै उपाय बाँकी छ, मिर्गौला प्रत्यारोपण ।’ श्रीमतीको मिर्गौला लिएर प्रत्यारोपण गर्ने तयारी भएको छ । तर, त्यसका लागि कसरी खर्च जुटाउने ? यो समस्याको चाङ एकातिर छ ।

अहिले डायलासिस गरिरहेका छन् । त्यसपछि लगाउनुपर्ने इन्जेक्सनको खर्च धान्न कम्ता कठिन छैन । त्यसमाथि दुई लालाबालालाई काठमाडौंमा पालनपोषण गराउनुपर्ने जिम्मेवारी छ उनको थाप्लोमा । अहिले काठमाडौंको बसाइ खर्च जुटाउन उनी ‘पठाओ’ चलाउँछन् । अर्थात नियमित आयअर्जन छैन । ‘भगवान भरोसा’मा हुने कमाइले शहरमा परिवार पाल्नदेखि आफ्नै उपचार खर्च जुटाउनुपर्छ ।

यसरी दुःखजिलो गरेर सबै कुरा मिल्दै गएमा उनको मिर्गौला प्रत्यारोपण हुनेछ ।  मिर्गौला प्रत्यारोपण पछि के हुन्छ ? त्यसको कुनै टुंगो छैन । यदि मिगौला प्रत्यारोपण सफल भयो र त्यसले राम्ररी काम गर्न थाल्यो भने पनि उनका दुःखहरू सकिँदैन ।

लामो समय आराम गर्नुपर्ने हुन्छ ।  नियमित रूपमा महंगो औषधि खानुपर्छ, जुन नेपालीको औसत कमाइ बराबर हो । दुई लालाबालालाई खुवाउन, हुर्काउन, पढाउनका लागि के गर्ने होला ? उनी अहिले केही पनि सोच्न सक्दैनन् । मिगौला दिने श्रीमती र मिर्गौला लिने उनी दुवै सम्पूर्ण रुपले सही सलामत भए भने पनि औषधि खर्च धान्न सजिलो हुनेछैन ।

यी बाध्यताहरूको जिलीगाँठीले बाँधे पनि नारायणले हरेश भने खाएका छैनन् । उनलाई विश्वास छ, मिर्गौला प्रत्यारोपण हुनेछ । मेरो शरीरले राम्ररी काम गर्नेछ । एकदिन त सबैकुरा ठिकठाक हुनेछ ।

……….

साउदीको चर्को घाम र कामले पेलिरहेको थियो ।

त्यहीबेला एक दिन घरबाट वृद्ध बाले नारायण श्रेष्ठलाई फोनमा भने– छोरा घर फर्की, एकदमै न्यास्रो लागिरहेको छ ।

०६७ सालमा नारायण विदेश हानिएका थिए । कमाइ औसत नै थियो । उनको काम गोदाममा थियो । ५० डिग्री सेल्सियससम्म गर्मी भए पनि एसीको व्यवस्था थिएन । ठूलाठूला फ्यान थिए । तिनबाट चिसो कम, तातो हावा बढी आउँथ्यो ।

बाको कुराले उनी एकछिन रन्थनिए । यसपछि उनलाई परदेश बसिरहन मन भएन । गर्मीले जिउ त पोलिरहेको थियो, त्यसपछि मन पोल्न थाल्यो । मन शीतल बनाउन उनी २०७३ सालमा नेपाल फर्किए । धादिङ पुगे । विवाह पनि गरे ।

०७२ सालको भूकम्पले धेरै घर भत्काएको थियो । पुन: निर्माण खाँचो थियो । त्यसैमा केही गर्न सकिन्छ कि भनेर उनले एकजनासँग मिलेर डोजर किने ।

नेपाल फर्केको दुई वर्षपछि क्यान्सरले उनका बालाई लग्यो । त्यसबेलासम्म उनी गाउँमै रमाइरहेका थिए । छोराछोरी भइसकेका थिएनन् ।

२०७४ निर्वाचनको साल थियो । भोट हाल्न जाँदा उनलाई एउटा बाइकले सामान्य ठक्कर दियो। बहाना त्यति मात्र थियो । तर, एकाएक खुट्टा सुन्निएर आयो । केही दिनमा ठिक होला भनेर उनले कुरिहेरे । अहँ, फुलेर आएको खुट्टा कत्ति पनि निको भएन । उल्टै हिड्नै नसक्ने अवस्था भयो । त्यसपछि उनी जाँच गर्न काठमाडौं, वीर अस्पताल पुगे ।

अस्पतालको रिपोर्ट नसोचेको आयो । रिपोर्ट थमाउँदै डाक्टरले भने– तपाईंको दुवै मिर्गौला फेल भएछ ।

त्यसयता नारायणको दैनिकी फेरिएको छ । जीवनलाई लिएर हेर्ने दृष्टिकोणमा बदलाव आएको छ । गुजारा र रोगको उपचार गराउनु पर्ने चुनौती एकै साथ थपिएको छ । तर, उनी धेरै निराश सुनिँदैनन् । आशावादी लाग्छन् ।

मिर्गौलाको समस्या थाहा भएको ८ वर्षबितिसक्दा डायलासिस र औषधिले उनको जीवनलाई जसोतसो लम्बाइरहेको छ । अब औषधीय शक्ति ह्रास हुँदै र रोगको शक्ति बढ्दै गइरहेको छ । यस्तोमा अन्तिम विकल्प मिर्गौला प्रत्यारोपण हो । तर, हप्तामा केही दिन राइड शेयरिङ प्लेटफर्ममा काम गरेर जीवन धानिरहेका उनलाई प्रत्यारोपण र त्यसको अघिपछि हुने खर्च जुटाउनु फलामको चिउरा चपाउनुसरह छ ।

अहिले उनले पाटन अस्पतालमा हप्तामा दुई पटक डाइलासिस गराइरहेका छन् । डाइलासिस गरेको भोलिपल्ट ‘बेड रेस्ट’ गर्नु पर्छ । बाहिर काममा जान सक्दैनन् । बाहिर काममा नजानु भनेको उनका लागि अझै पैसाको अभाव हुनु हो ।

उनले डायलासिस सुविधा भने सरकारी कोटाबाट नि: शुल्क पाएका छन् । तर, मिर्गौलालाई सन्तुलनमा राखिराख्न विभिन्न औषधि खानुपर्छ । उनका अनुसार औषधिको खर्च मात्र मासिक १५ देखि २० हजार रुपैयाँ निस्किन्छ ।

त्यस्तै रगत बढाउने इन्जेक्सन पनि उनले हप्तामा दुई पटक लगाउनुपर्छ । एउटा इन्जेक्सनको मूल्य १५ सयदेखि २००० रुपैयाँसम्म पर्न जान्छ ।

यी सबैका लागि होस्टेमा हैंसे गरेर उनले खर्च त निकाल्छन् । तर उनका क्रमश: ७ र ३ वर्षको छोरीछोरा छन् । उनीहरूको खर्च छँदैछ । घर पनि चलाउनुपर्‍यो । श्रीमतीले बाहिर काम गरेर केही राहत त मिलेको छ । तर, उनलाई अहिले सबैभन्दा ठूलो चिन्ता मिर्गौला प्रत्यारोपणका लागि कसरी खर्च जुटाउने नै हो । खर्च कसरी उठ्छ, रोडम्याप छैन । उनले प्रत्यारोपणका लागि प्रक्रिया अगाडि बढाइसकेका छन् । धन्न ! उनलाई श्रीमतीले नै मिर्गौला दान दिँदैछिन् ।

000

गाउँमा व्यवसाय गर्न भनेर सहकार्यमा किनेको डोजरबाट उनले हात झिकिसकेका छन् । साझेदारलाई सबै सुम्पिसकेका छन् । यता धादिङको घरबारी पनि काकालाई जिम्मा लगाइदिएका छन् । मिर्गौलामा समस्या देखिएपछि खेतीपाती गर्ने उनको सामर्थ्यभन्दा बाहिरको कुरा भयो । अनि ‘बारी बाँझो नराख्नुस्, मलाई अन्न नदिए पनि हुन्छ’ भन्दै उनले आफ्नो जग्गा काकालाई जिम्मा दिए । बा नभएको घरमा ताल्चा लगाइदिए ।

त्यसयता आफ्नो उपचार पनि गर्ने, परिवार पनि पाल्ने भन्दै उनी काठमाडौं छिरेका थिए । ललितपुर एकान्तकुनाको अल्का अस्पितल नजिकैको एक गल्लीमा बस्छन् उनी । राइड शेयरिङको काम गर्नुअघि उनले एउटा कम्पनीमा काम गरेका थिए । त्यहाँ दुई वर्षसम्म काम गरिसकेका थिए । उनी मिर्गौला रोगी भएको थाहा भएपछि ‘त्यस्तो मान्छेलाई त हामी काममा राख्देनौं’ भनेर जागिरबाट निकालिदिए । त्यसपछि नै उनी राइड शेयरिङको काममा लागेका हुन् ।

सपना त उनको सुखी परिवारको थियो । तर, ब्रजपात परेजसरी उनलाई आजीवन औषधि खाइरहनुपर्ने रोग लाग्यो । आजकल कहिलेकाहीँ डाइलासिस गरेर घर फर्कँदा उनकी ७ वर्षीय छोरी निकै चिन्तित देखिन्छिन् ।

छोरी त्यति बुझ्ने त भएकी छैनन् । तर, बाबा बिरामी भएको देख्दा उनी बालसुलभ दु:ख देखाउँछिन् । बुझ्ने भएपछि के भन्दिहुन् ! नारायणलाई यो कुराले पनि बेलाबेला चिन्तित बनाउँछ ।

अब नारायणलाई वैशाखको पर्खाइमा छन् । यदि पैसा जुटेमा उनको मिर्गौला प्रत्यारोपण हुन्छ । भएन भने ? त्यो त खै उनले केही भन्न सकेनन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?