६ मंसिर, विराटनगर । मोरङ क्षेत्रनम्बर ५ का निवर्तमान स्वतन्त्र सांसद योगेन्द्र मण्डलले नेतृत्व गरेको राष्ट्रिय ऊर्जाशील पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगबाट शुक्रबार दल दर्ताको प्रमाणपत्र पाएको हो ।
दल दर्ताको प्रकृया पुरा भएपछि निर्वाचन आयोगका सचिव महादेव पन्तले पार्टीका अध्यक्ष मण्डललाई दल दर्ताको प्रमाणपत्र हस्तान्त्रण गरे ।
पार्टीको चुनाव चिन्ह ‘चापाकल’ राखिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मण्डल स्वतन्त्र उम्मेदवारका रूपमा सोही चुनाव चिन्हबाट मोरङ क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।
नवगठित पार्टीको केन्द्रीय समिति २७ सदस्यीय छ । पार्टी अध्यक्षमा मण्डल छन् । पार्टी प्रवक्ताको जिम्मेवारी सुनिल दाहालले पाएका छन् । अन्य पदाधिकारीको टुङ्गो लग्न बाँकी छ ।
सामाजिक क्षेत्रमा सक्रिय मण्डलले २०७९ सालको निर्वाचनमा तत्कालीन सरकारपक्षीय दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धन र नेकपा एमाले र जसपा नेपासहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै चुनाव जितेका थिए ।
मतदाताले मण्डललाई रोज्नुको पछाडि २८ वर्षदेखि जनताकाबीचमा रहेर उनले गरिरहेको कामको ठूलो योगदान थियो । उनले २०५४ सालमा मोरङको अमाहीवरियाती गाउँबाट जीवन विकास समाज नामको संस्था सुरु गरेका थिए । सो संस्थाले शिक्षा, स्वास्थ्य, लघुवित्त, कृषि र वातावरणलगायत क्षेत्रमा काम गरिरहेको छ ।
स्वतन्त्र सांसदका रूपमा करिब तीन वर्ष बिताएका मण्डलले पार्टी खोल्नुअघि आफ्ना मतदातासँग सल्लाह मागेका थिए । ९० प्रतिशत मतदाताले पार्टी खोल्न सुझाव दिएका थिए । अन्य क्षेत्रबाट पनि प्रस्ताव आएका कारण दल दर्ता गरेको उनको भनाइ छ ।
दल दर्तापछि मण्डलले पार्टीले नेपाली माटो सुहाउँदो नेपालवादको सिद्धान्त विकास गर्ने बताए । ‘हामी कसैको पनि सिद्धान्तलाई जस्ताको तस्तै मान्दैनौं, किनभने ती सिद्धान्त बनेका बेलाको समय, परिस्थिति, स्रोत–साधन अहिले फरक छ । माओवादीले माओको सिद्धान्त लिइरहेको छ, एमालेले मार्क्सवादी लेनिनवादी सिद्धान्त । तर, ती सबै फेल भइसके । बीपीको कृषिमा आधारित सिद्धान्त पनि अहिलेको युगमा पर्याप्त छैन’, उनले भने, ‘बीपीबाट कृषिलाई छोड्नु हुँदैन भन्ने सिक्छौं, तर कृषि मात्रै आधार बनाउँदैनौं । हामी संसारका उत्कृष्ट अभ्यास र उत्कृष्ट सिद्धान्तलाई रिफरेन्स लिन्छौं र नेपालीको क्षमतामा आधारित ‘नेपालवाद’को सिद्धान्त विकास गर्छौं ।’
प्रतिक्रिया 4