News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले लाइडार प्रविधि प्रयोग गरी थ्रीडी डिजिटल नक्सा निर्माण र सहरी पूर्वाधार व्यवस्थापन गर्न सक्ने सुझाव प्राप्त भएको छ।
- लाइडार प्रविधिले लेजर सिग्नल प्रयोग गरी वस्तुहरूको सुक्ष्म थ्रीडी नक्सा र डिजिटल ट्विन तयार पार्न मद्दत गर्छ भने २ सेन्टिमिटरसम्म नाप गर्न सकिन्छ।
- यो प्रविधि स्मार्ट सिटी विकास, सम्पदा संरक्षण, विपद जोखिम मूल्यांकन र आपतकालीन व्यवस्थापनमा विशेष उपयोगी हुने विज्ञहरूले बताएका छन्।
११ मंसिर, काठमाडौं । काठमाडौं सहरको वस्तुस्थिति, सेवा, पूर्वाधार र समग्र अवस्थाको सुक्ष्म सर्वेक्षणका लागि ‘लाइडार (लाइट डिटेक्सन एन्ड रेञ्जिङ्) प्रविधि’ उपयुक्त हुने विज्ञहरूले औंल्याएका छन् ।
सूचना प्रविधि विभागले बिहीबार आयोजना गरेको ‘लाइडार प्रविधि र काठमाडौं महानगरपालिकामा प्रयोगको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विज्ञहरूले यस प्रविधिलाई यसअघि प्रयोगमा ल्याइएका प्रविधिसँग जोडेमा अझ प्रभावकारी हुने बताएका हुन् ।
अन्तरक्रियामा सहरी योजना आयोगका सदस्यहरू लगायत सहरी व्यवस्थापन, सार्वजनिक निर्माण, वातावरण व्यवस्थापन, विपद व्यवस्थापन, सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख, महाशाखा प्रमुख, इन्जिनियर र प्राविधिकहरूको उपस्थिति रहेको थियो ।
लाइडार प्रविधिले लेजर सिग्नल प्रयोग गरी वस्तुहरूको सुक्ष्म थ्रीडी नक्सा र डिजिटल ट्विन (अंकित प्रतिरूप) तयार पार्छ । यसले भौगोलिक सतह, संरचना र वातावरणका विभिन्न वस्तुहरूको उच्च सटीक दूरी नाप, थ्रीडी मोडलिङ, भू–आकृति विवरण प्राप्त गर्न र विश्लेषण गर्न मद्दत गर्छ ।
प्रविधि महाशाखा प्रमुख अशोक श्रेष्ठका अनुसार सहरी योजना, नक्सांकन, पूर्वाधार निर्माण, वातावरण तथा सम्पदा क्षेत्रको निगरानी र व्यवस्थापन, विपद व्यवस्थापन, स्मार्ट सिटीको विकास जस्ता कामका लागि महानगरपालिकाले यो प्रविधि प्रयोग गर्न सक्ने सम्भावना छ ।
जियोमेटिक्स इन्जिनियर कविराज रोकायाले कार्यक्रममा प्रस्तुति दिँदै लाइडार प्रविधिबाट २ सेन्टिमिटरसम्मका वस्तुहरूको स्पष्ट नक्साङ्कन र नाप गर्न सकिने जानकारी दिए ।
उनले भने, ‘संरचना, अवस्थिति, वस्तु र अवस्थामा आएको परिवर्तनलाई ‘टाइम सिरिज चेन्जेज’ मार्फत तुलना देखाउन सकिन्छ।’ सम्पदाको संरक्षण र अद्यावधिक अभिलेखका लागि पनि यो प्रविधि उपयोगी हुने उनको भनाइ थियो ।
कार्यक्रममा महानगरपालिकाको सभा कक्ष, कीर्तिपुरको तिलञ्चो स्तुप, माइतीघर मण्डला चोक, बालाजु बाइसधारा उद्यानलगायतका स्थानमा गरिएको थ्रीडी स्क्यान र त्यसबाट तयार पारिएका डिजिटल सामग्री प्रदर्शन गरिएको थियो ।
विज्ञहरूका अनुसार यो प्रविधि भवनभित्रका संरचना र सुविधाहरू (इनडोर म्यापिङ), सांस्कृतिक सम्पदाको नाप र दूरी मापन, सडक, ओभरपास, पार्क जस्ता पूर्वाधारको डिजिटल निगरानी, आपतकालीन व्यवस्थापन र सहरी विकास योजनाका लागि तथ्यांक उत्पादनमा विशेष उपयोगी छ ।
संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया र युरोपेली मुलुकलगायत विकसित देशहरूले यस प्रविधिको प्रयोग गर्दै आएका छन् । स्थानीय स्तरमा पनि वन, भू–उपयोग जस्ता क्षेत्रको सर्वेक्षण र नक्साङ्कनमा यसको प्रयोग व्यापक भएको देखिन्छ।
छलफलमा काठमाडौं महानगरपालिकाले थ्रीडी डिजिटल नक्सा निर्माण, सहरी पूर्वाधार व्यवस्थापन, सम्पदा संरक्षण, धार्मिक तथा पुरातात्विक क्षेत्रको अभिलेखीकरण, विपद जोखिम मूल्यांकन, इन्जिनियरिङ डिजाइन, सडक तथा भवनको सूची तयार पार्ने र स्मार्ट सिटीका लागि भौगोलिक सूचना प्रणाली निर्माणमा यो प्रविधि प्रयोगमा ल्याउन सक्ने सुझाव प्राप्त भएको छ ।
साथै, यसलाई महानगरपालिकाले पहिलेदेखि नै कार्यान्वयन गरिरहेको जीआईएस- थ्रीडी म्यापिङ, ड्रोन डीजीपीएस सर्भे, स्मार्ट अर्बन म्यानेजमेन्ट र डिजिटल गभर्नेन्स इनिसिएटिभ्ससँग जोड्न सकिने सम्भावना पनि रहेको बताइएको छ ।
प्रतिक्रिया 4