१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेससम्बद्द युवा, विद्यार्थी, महिलाहरूले नियमित महाधिवेशनका लागि दबाब दिन काठमाडौंमा भेला गरेका छन् । काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्केटमा नियमित महाधिवेशनका लागि पार्टीमा दबाब सिर्जना गर्न उनीहरूले शुक्रबार भेला आयोजना गरेका हुन् ।
कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वयले जेनजी युवालाई क्रियाशील सदस्यतामार्फत् पार्टी प्रवेश गर्ने बाटो रोक्न खोजेको आरोप लगाए ।
‘महामन्त्रीज्यूहरूले जुन विशेष महाधिवेशनको कुरा बाहिर उठाउनुभएको छ, त्यो विषय आजसम्म पार्टीको केन्द्रीय समितिमा प्रस्तावको रुपमा पेश गर्नुभएको छैन,’ उनले भने, ‘उहाँहरू केवल विशेष महाधिवेशन हस्ताक्षरकर्ताको नाउँमा पार्टी कब्जा गर्न खोजिरहनुभएको छ ।’
फरक प्रसङ्गमा अध्यक्ष गुरुङले कांग्रेस नेता गुरु घिमिरेप्रति इंगित गर्दै सुदूरपश्चिम र कर्णालीका जनता र कार्यकर्तालाई राउटे भन्दै निच र तल्लो स्तरको सम्बोधन गरेको आरोप लगाए ।
पार्टीले चुनावमा सहभागी हुनका लागि दल दर्ता गरिसकेको अवस्थामा नियमित अधिवेशनको विकल्प नरहेको भन्दै गुरूरूले पार्टीका हरेक तह चुनावकेन्द्रित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम सम्बोधन गर्दै नेविसंघ नेता आदर्श मल्ल, गीता गुरुङ, नेविसंघका पूर्व उपाध्यक्ष पुष्पकुमार शाही, तरुण दलका केन्द्रीय सदस्य दिल लामा, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना, महिला संघका केन्द्रीय सदस्य निनु कर्णले नियमित अधिवेशन गरिनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू मोहनबहादुर बस्नेत, लक्ष्मी खतिवडा, कल्याणी रिजाल, विद्या तिमिल्सिना, कुन्दनराज काफ्ले, कल्याणकुमार गुरुङ, बागलुङका पार्टी सभापति जित शेरचन, गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठको उपस्थिति थियो ।
यस्तै बागमती प्रदेश कोषाध्यक्ष भद्रा भण्डारी, बागमती प्रदेशका पूर्वमन्त्री मसिना खड्का भण्डारी, सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामा, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, पूर्व उपाध्यक्ष उत्तम चापागाई, नेपाल महिला संघका अध्यक्ष उषा मिश्रलगायतको पनि सहभागिता रहेको थियो ।
तरुण दल केन्द्रीय सदस्य तीर्थ गौतमको अध्यक्षतामा सम्पन्न भेलाको संयोजक विद्यार्थी नेता मनिषजंग थापाले गरेका थिए ।
प्रतिक्रिया 4