१७ मंसिर, काठमाडौं । नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संसदीय व्यवस्था फेल भइसकेको भन्दै नयाँ व्यवस्था ल्याउनुपर्ने बताएका छन् ।
७६ वर्षदेखिको संसदीय अभ्यास फेल भइसकेको भन्दै उनले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनुपर्ने बताए ।
कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणासभामा बोल्दै डा. दीक्षितले प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्थामा जान कुलमानलाई सुझाव दिए ।
‘यो संसदीय व्यवस्था नफाली हुँदैन । यो व्यवस्था कुहिएको छ,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा नगएसम्म मुलुक समृद्ध बनाउ नसकिँदैन । यो पार्टी त्यस दिशामा अघि बढोस् ।’
यही व्यवस्थामा चुनावमा गए उज्यालो नेपाल पार्टीले केही सिट जितेर आउने तर त्यसले कुनै परिवर्तन नहुने उनको भनाइ थियो । ‘कुलमान घिसिङले २० सिट जितेर आएर केही हुँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था आयो भने सीधै जनताबाट प्रधानमन्त्री चुनिएर आउन सकिन्छ र आफ्नो योजनाअनुसार मुलुक निर्माण गर्न सकिन्छ,’ दीक्षितले भने ।
उनले कार्यकारी प्रधानमन्त्री कुलमान बनेमा देश साँच्चिकै उज्यालो बन्ने र गर्व गर्न लायक हुने विश्वास व्यक्त गरे ।
उनले पार्टीमा भ्रष्टाचार, अनियमितता र अपराधमा संलग्न व्यक्तिहरुलाई स्थान नदिन सुझाव समेत दिए । साथै उनले जतिसक्यो धेरै युवाहरुलाई समेट्न पनि सुझाव दिए ।
प्रतिक्रिया 4