News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सेली निर्देशक एरिक भ्यालीले सन् २०५६ मा प्रदर्शन भएको फिल्म \'हिमालय\' (क्याराभान) बनाएर नेपालसँगको प्रेम देखाएका छन्।
आफ्नो देशभन्दा कयौं टाढा रहेको नेपालसँग प्रेम बस्छ । उनलाई यहाँको कथाहरूले छुन्छ । त्यस्तै कथामा आधारित रहेर उनले एउटा फिल्म बनाउँछन् । फिल्मले उनलाई कहिल्यै नदिएको नयाँ परिचय दिन्छ । उनी हुन्, फिल्म ‘हिमालय’ (क्याराभान)का निर्देशक एरिक भ्याली । जुन २०५६ सालमा प्रदर्शन भएको थियो ।
अहिले प्रौढ उमेरमा पुगिसकेका उनमा नेपाल प्रेम उस्तै छ । जोश जाँगर उस्तै छ । नेपालका कथाहरूलाई हेर्ने नजर उस्तै छ ।
एरिक भ्याली र क्याराभानबारे केही रोचक कुरा
१. फ्रान्सेली नागरिक एरिक १८ वर्षको उमेरमा घुम्नका लागि अफगानिस्तान आएका थिए । त्यहाँ घुम्दाघुम्दै उनको भिसा सकिएपछि अफगानी सेनाले नियन्त्रणमा लिएर जेलमा राखेको थियो । पछि उनलाई त्यहाँको सरकारले ‘घर फर्कने’ वा ‘अन्य छिमेकी मुलुक जाने’ विकल्प दियो । उनले भारत जाने निर्णय गरे । भारत आएपछि उनले नेपालबारे धेरै कुरा सुने । त्यसपछि सन् १९७३ मा बनारसको बाटो हुँदै कतै हिँड्दै त कहिले ट्रकमा चढ्दै नेपाल आइपुगे ।
२. काठमाडौं आइपुग्दासम्म यहाँका मनमोहक दृश्यले उनको ध्यान तानिसकेको थियो । पाखोबारी, रातो र सेतो माटोले लिपिएका घर, पृष्ठभूमिमा देखिने हिमालको अद्भूत दृश्य, चित्ताकर्षक मठमन्दिरको संरचना यी देखेर उनी धेरै लोभिए । र, नेपालसँग ‘पहिलो नजरकै प्रेम’मा परे ।

३. नेपाल आइपुगेपछि सुरुका दिनहरू काठमाडौं उपत्यकाको वरिपरि बिताए । उनलाई शहरको भन्दा ग्रामीण जीवनले बढी आकर्षित गर्यो । त्यसपछि स्थानीय संस्कृति सिक्न, नेपाली भाषा बोल्न र गाउँलेहरूसँग घुलमिल हुन धेरै समय खर्च गरे । विशेषत: अरुण उपत्यका जाँदा उनले नेपाली भाषा बोल्न सिकेका थिए । यसमा उनको रूचिले पनि काम सहयोग गर्यो । उनीक्यामेरा लिएर डुलिरहन्थे । त्यसक्रममा ‘नेसनल जियोग्राफिक’ लगायत अन्तर्राष्ट्रिय सञ्चारगृहका लागि नेपालको स्थानीय जनजीवन, संस्कृति र प्राकृतिक सौन्दर्यलाई क्यामेरामा कैद गर्न थाले।
४. फोटोग्राफीकै सिलसिलामा एरिक डोल्पामा पुगेका थिए । त्यसक्रममा उनले नुनलाई अन्नसँग साट्ने त्यहाँको परम्पराबारे थाहा पाए । उनी त्यहीँ बसिरहँदा स्थानीयरू याक लिएर तिब्बततिर लागेको पनि देखे । त्यो देखिरहँदा उनलाई किन फिल्म नबनाउने भन्नेबारे कसैले सुझाव दिए । त्यसपछि मात्र उनी क्याराभान बनाउन तम्सिएका थिए।
५. क्याराभान बनाउने योजना गरेर उनले स्क्रिप्ट राइटर नियुक्त गरेका थिए । फिल्मको कथा लेख्न तीन वर्ष बढी लाग्यो । फिल्म खेल्ने कलाकारहरू धेरैजसो पहिलो पटक अभिनय गर्दै थिए । त्यसमाथि कतिपयलाई नेपाली, अङ्ग्रेजी समेत बोल्न आउँदैन थियो । उनीहरू तिब्बेतियन भाषा बोल्थे ।
६. फिल्म बनाउन लागि परेका एरिकले औपचारिक रूपमा फिल्म अध्ययन भने गरेका थिएनन् । उनमा क्यामेरा मोह थियो । त्यसकारण सकेसम्म आफ्नो लेन्समार्फत उनी कथा भन्न मात्र खोजिरहेका थिए ।
७. फिल्मको अन्तिमतिर साँघुरो बाटोबाट हिँडिरहेका बेला भीरबाट तल नदीमा याक खस्छ । त्यो दृश्य स्क्रिप्टमा थिएन । उनले एक दिन त्यसैगरी भीरबाट याक खसेको देखे । अनि पछि त्यो दृश्य खिचे । फिल्मका लागि भने प्लास्टिकको याक खसाइएको थियो । उक्त दृश्यका लागि एरिकले निकै समय खर्चेका थिए ।
८.एरिकले उक्त फिल्म बनाउनुअघि सन् १९८० को दशकको मध्यतिर भीर मौरीको मह शिकार गर्नेबारे लघुवृत्तचित्र बनाएका थिए । निकै जोखिम मोलेर बनाइएको उक्त वृत्तचित्र ‘ब्याक एन्ड ह्वाइट’मा छ । नेसनल जियोग्राफिकमा प्रसारण भएपछि यसले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो ।
९. करिब एक वर्ष जसो लगाएर ५ हजार मिटरभन्दा माथिको उचाईंमा खिचिएको क्याराभान फिल्म नेपालका लागि ऐतिहासिक बन्यो । किनकि उक्त फिल्म ७२औं ओस्कार अवार्डको विदेशीभाषी फिल्म विधातर्फ मनोनयन भएको थियो । भलै त्यसमा फिल्मले कुनै उपाधि हात पारेन । तर, फिल्मले जोडेको साइनो एरिको पेरिस-काठमाडौं सम्बन्ध थप बलियो बन्यो । जुन आज पर्यन्त कामय छ ।
१०. फिल्मबाहेक एरिकले विभिन्न ब्रान्डसँग मिलेर कमर्सियल कामहरू समेत गरेका छन् । जसमा उनले टेनिसको इतिहासमा सबैभन्दा महान् खेलाडीहरूमध्येका एक रोजर फेडेररसँग समेत सहकार्य गरे । यसरी कर्मसियल काम उनको आयआर्जनको समेत प्रमुख स्रोत हो ।
प्रतिक्रिया 4