७ पुस, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार भारतमा उपचार सकेर स्वदेश फर्किएकी छिन् ।
उनी सोमबार साँझ काठमाडौं फर्किएकी हुन् ।
चित्रकारलाई सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइएको थियो । चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लगिएको थियो ।
स्वदेश फर्किएपछि उनले राज्यसँग कुनै गुनासो र माग नरहेको बताइन् । तर, जेनजी आन्दोलनमा देशलाई नष्ट पार्न खोज्नेहरूलाई सरकारले खोजेर कारबाही गर्नुपर्ने उनले बताइन् ।
‘मेरो राज्यसँग यही अपेक्षा छ कि भाइबहिनीहरूको अबोधपनको मखुन्डो ओढेर जसले देशलाई नष्ट पार्न खोजे उनीहरूलाई यो सरकारले खोजेर कारबाही गर्नुपर्छ,’ उनले स्वदेश फर्किएर भनेकी छिन् ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार भएको हो ।
उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो । आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको चिकित्सकहरूले बताएका थिए ।
प्रतिक्रिया 4