+
+
Shares

इनास नेपाल र केडीसी जनरल अस्पतालबीच सम्झौता : स्वास्थ्य सेवामा छूट दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको नेपाल शाखा र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालबीच स्वास्थ्य सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
  • सम्झौताअनुसार इनासका सदस्य र परिवारलाई अस्पतालमा भर्ना उपचारमा २५ प्रतिशत र क्लिनिकल सेवामा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ।
  • समारोहमा रक्तदान कार्यक्रम आयोजना गरियो जहाँ ३० जनाले रक्तदान गरेका थिए र कलाकार स्वास्थ्य सुरक्षामा सहकार्यलाई महत्व दिइयो।

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को नेपाल शाखा र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (केडीसी जनरल अस्पताल) बीच स्वास्थ्य सहकार्य हुने भएको छ ।

आयोजित समारोहमा दुई संस्थाका प्रमुखले सम्झौतापत्रमा हस्ताक्षर गरे । इनासको नेपाल शाखाका तर्फबाट अध्यक्ष ऋषि लामिछाने र अस्पतालका तर्फबाट निर्देशक प्रतीक्षा श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार, इनास नेपालका शाखाका सदस्य, उनीहरूका परिवार तथा सिफारिस प्राप्त व्यक्तिलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।

सम्झौताअनुसार सो अस्पताल इनास नेपालको ‘स्वास्थ्य साझेदार’ हुनेछ । इनासका सदस्यले भर्ना उपचार (आइपीडी) अन्तर्गत बेड तथा वार्ड शुल्कमा २५ प्रतिशत छुट, बाह्य रोगी तथा क्लिनिकल सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

प्रयोगशाला, रेडियोलोजी, विशेषज्ञ उपचार, फार्मेसी, फिजियोथेरापी तथा दन्त सेवाअन्तर्गत इम्प्लान्ट, क्लियर अलाइनर, ब्रेसेस, आरसिटी तथा कस्मेटिक सर्जरीमा ७ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

समारोहमा इनासका एसिया संयोजक तथा गीतकार दयाराम पाण्डेले कला, संस्कृति र स्वास्थ्य क्षेत्रलाई जोड्ने कार्यमा यो सहकार्य उदाहरणीय भएको बताए ।

‘कलाकारको सिर्जनशिलतालाई सुरक्षित राख्न स्वास्थ्य अत्यावश्यक छ । इनास र कान्तिपुर डेन्टलबीचको यो सम्झौताले कलाकारमैत्री सोचलाई संस्थागत रूपमा स्थापित गरेको छ’ पाण्डेले भने ।

अध्यक्ष लामिछानेले कलाकारको स्वास्थ्य सुरक्षाका लागि सम्झौता ऐतिहासिक भएको बताए । ‘कलाकार निरन्तर यात्रा र सिर्जनशील काममा व्यस्त रहन्छन् । यस्तो अवस्थामा स्वास्थ्य सेवा अत्यन्त महत्वपूर्ण हुन्छ । कान्तिपुर डेन्टल हस्पिटलसँगको यो सम्झौताले इनासका सदस्य र उनीहरूको परिवारलाई ठूलो भरोसा प्रदान गर्नेछ’ अध्यक्ष लामिछानेले भने ।

अस्पतालका अध्यक्ष बुद्धिमान श्रेष्ठले कलाकार समुदायसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए । ‘कलाकार समाजका प्रेरणा हुन् । उनीहरूको स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो’ उनले बताए ।

सो अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरियो । अस्पताल परिसरमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । समारोहमा इनास ग्लोबलका संरक्षक मीरा राणा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?