+
+
Shares

तनहुँमा विभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते २०:३९

२६ पुस, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन् । आज बिहान शुक्लागण्डकी–५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला परेको हो ।

मृतकमध्ये एक जनाको पहिचान खुलेको छभने दुईको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

पहिचान खुल्नेमा शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उहाँका अनुसार विक सोही प्रशोधन केन्द्र सञ्चालनको जिम्मा पाएको ग्रिन रोड प्रालिका कर्मचारी हुन् ।

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै टहरा बनाएर बस्नेमध्ये एक जना पुरुषको शव फेला परेको थियो ।

‘सोही टहरामा पुरुषसँगै बस्दै आएकी एक महिला हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा दिउँसो १२:०० बजेतिर दुई पुरुषको शव भेटिएको स्थानभन्दा करिब ७०० मिटर टाढा जनकल्याण माविको पछाडि कसेरीघाटको जङ्गलमा महिलाको पनि शव फेला परेको हो’, प्रहरी नायब उपरीक्षक विकले भने ।

शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार शवको प्रकृति अत्यन्तै बीभत्स भएको बताए । उनका अनुसार मृतक नारायण विक र अर्का एक पुरुषको पेटमा धारिलो हतियार प्रहार गरिएको छ भने महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा एक टोली र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोली घटनास्थलमा खटिएको छ ।

शवपरीक्षणका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पठाइएको छ । घटनाले स्थानीय त्रसित बनेका छन् भने प्रहरीले अपराधी उम्कन नपाउने गरी नाकाहरूमा निगरानी बढाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट यो नियोजित हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ । ‘घटनास्थलमा तालिम प्राप्त कुकुर र फरेन्सिक टोली परिचालन गरेर सूक्ष्म अनुसन्धान गरिरहेका छौँ । मृतक दुई जनाको पहिचान खुल्न बाँकी छ, उनीहरू कवाडी सङ्कलनको काम गर्ने बुझिएको छ । हामीले शङ्कास्पद व्यक्तिको खोजी र प्राविधिक विश्लेषणलाई तीव्रता दिएका छौँ, छिट्टै सत्यतथ्य बाहिर ल्याउनेछौँ’, प्रहरी नायब उपरीक्षक विकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?