+
+
Shares

लघु, साना तथा मझौला उद्योगको वित्तीय स्रोत व्यक्तिगत बचत

नेपाल राष्ट्र बैंकले गरको अध्ययन अनुसार साना तथा मझौला उद्योगले बैंक तथा वित्तीय संस्थाबाट भन्दा व्यक्तिगत बचत परिचालन गरेको पाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार लघु, साना तथा मझौला उद्योगले बैंकभन्दा व्यक्तिगत बचतलाई प्रमुख वित्तीय स्रोतको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ।
  • अध्ययनले एमएसएमईमा औसत क्षमता उपयोग ५०.७ प्रतिशत र वार्षिक सञ्चालन ११.४ महिना रहेको देखाएको छ भने ५२.७ प्रतिशत उद्योगको कार्यसम्पादन खस्कँदो अवस्थामा रहेको छ।
  • ८२.१ प्रतिशत उद्योगीले सरकार र राष्ट्र बैंकका प्रोत्साहन कार्यक्रमलाई खराबदेखि अतिखराब श्रेणीमा राखेका छन् र राजनीतिक स्थिरतालाई उद्योगको कार्यसम्पादनका लागि अपरिहार्य भनेको छ।

२९ पुस, काठमाडौं । लघु, साना तथा मझौला उद्योगको लगानीको प्रमुख वित्तीय स्रोतका रूपमा व्यक्तिगत बचत प्रयोग हुने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले गरको अध्ययन अनुसार साना तथा मझौला उद्योगले बैंक तथा वित्तीय संस्थाबाट भन्दा व्यक्तिगत बचत परिचालन गरेको पाइएको हो ।

केन्द्रीय बैंकले भर्खरै मात्र चितवन र मकवानपुरका लघु, साना तथा मझौला (एमएसएमई) उद्यम अध्ययन सम्पन्न गरेको छ । अध्ययन प्रतिवेदन अनुसार एमएसएमईमा प्रयोग भएको वित्तीय स्रोतमा पहिलो व्यक्तिगत बचत र दोस्रो बैंक तथा वित्तीय संस्थाको कर्जा रहेको पाइएको हो ।

आर्थिक समृद्धि र सामाजिक हित अभिवृद्धिमा लघु, साना तथा मझौला उद्योगको भूमिका महत्त्वपूर्ण छ । यस्ता उद्योगले रोजगारी सिर्जना, मूल्य अभिवृद्धि, नवप्रवर्तन र सशक्तीकरणका माध्यमबाट आर्थिक तथा सामाजिक लक्ष्यप्राप्तिमा योगदान पुर्‍याउने केन्द्रीय बैंकले जनाएको छ ।

नेपालमा कुल औद्योगिक प्रतिष्ठानको ९९.८ प्रतिशत हिस्सा एमएसएमईको छ । कुल एमएसएमई संख्या ९ लाख २३ हजार ३ सय ५६ छ ।

त्यसैगरी यस क्षेत्रमा संलग्न जनशक्ति संख्या ३२ लाख २८ हजार ४ सय ५७ रहेको केन्द्रीय बैंकले जनाएको छ । यो संख्या भनेको औद्योगक क्षेत्रको कुल जनशक्तिको ८४.७ प्रतिशत हो ।

नेपाल सरकार र राष्ट्र बैंकले लघु, साना तथा मझौला उद्योग स्थापना र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यद्यपि, यस्ता कार्यक्रमको प्रभावकारिता मापन गर्ने कार्य पर्याप्त र नियमित हुन नसकेको अध्ययनले औँल्याएको छ ।

राष्ट्र बैंक वीरगञ्ज कार्यालयले विशेष अध्ययन कार्यक्रम अन्तर्गत चितवन र मकवानपुर जिल्लाका ३ सय २१ उद्योगबाट तथ्यांक संकलन गरेको छ । सोही अनुसार ५२.७ प्रतिशत उद्योगको कार्यसम्पादन स्थिति खस्कँदो अवस्थामा रहेको छ । तर, २०.३ प्रतिशतको स्थिति स्थिर र २७.१ प्रतिशतको स्थिति सुधारोन्मुख रहेको अध्ययनले देखाएको छ ।

एमएसएमईको लगानीमा औसत प्रतिफल ११.७ प्रतिशत, औसत क्षमता उपयोग ५०.७ प्रतिशत र वार्षिक औसत सञ्चालन ११.४ महिना रहेको अध्ययले देखाएको छ ।

त्यस्तै दैनिक औसत सञ्चालन ११.३ घण्टा रहेका एमएसएमईको वार्षिक बिक्रीको मध्यक करिब ४० लाख, चुक्ता पूँजी २५ लाख र कुल स्थिर पूँजी ५० लाख रहेको देखिएको छ ।

सोही क्षेत्रका एमएसएमईमा समग्र प्रशासनिक प्रक्रियाको अवधारणा बारे १५.७ प्रतिशतले ‘खराब’ र १६.४ प्रतिशतले ‘अति खराब’ भनी आलोचना गरेका छन् ।

उद्योगको स्थान प्राप्त अवस्थितिलाई ४५.९ प्रतिशतले औसत, २९ प्रतिशतले खराबदेखि अतिखराब र २५ प्रतिशतले राम्रोदेखि अतिराम्रो मानेको अध्ययन क्रममा देखिएको छ ।

सोही क्षेत्रका एमएसएमईमा श्रम वातावरणलाई ५५.५ प्रतिशत उद्योगीले खराबदेखि अतिखराब र ३५.६ प्रतिशतले औसत भनी मूल्यांकन गरेको प्रतिवेदनमा उल्लेख छ ।

कच्चापदार्थको अवस्थालाई ४६.३ प्रतिशतले औसत र ३२ प्रतिशतले खराबदेखि अतिखराब श्रेणीमा राखेका छन् ।

सर्वेक्षण गरिएका ५१.९ प्रतिशत उद्योगले समग्र पूर्वाधार अवस्था राम्रो रहेको बताएका छन् भने २८.४ प्रतिशतले यसलाई औसत मानेका छन् । कुल ३९.० प्रतिशत लघु, साना तथा मझौला उद्योगले समग्र कर्जा वित्तको अवस्थालाई ‘औसत’ मानेका छन् भने ४४.६ प्रतिशतले यसलाई ‘खराब’ देखि ‘अति खराब’ श्रेणीमा राखेको प्रतिवेदनमा उल्लेख छ ।

समग्र कर प्रणालीप्रति ४३.१ प्रतिशत उद्योगीले असन्तुष्टि व्यक्त गरेका छन् भने ३६.२ प्रतिशतले यसलाई औसत मानेका छन् । ४७.६ प्रतिशत उद्योगले समग्र बजार वातावरणलाई ‘औसत’ मूल्यांकन गरेका छन् भने ४३ प्रतिशतले यसलाई ‘खराब’ देखि ‘अतिखराब’ श्रेणीमा राखेको अध्ययनले देखाएको छ । यसले बजार अवस्थाप्रति सामान्य असन्तुष्टि रहेको संकेत गर्दछ ।

त्यस्तै उद्योगमा प्रविधि अवलम्बनका सन्दर्भमा ४५.५ प्रतिशतको औसत र ३६.८ प्रतिशतको कमजोर अवस्था रहेको अध्ययनले देखाएको छ । नेतृत्व क्षमता मूल्यांकनमा ४९.७ प्रतिशतले औसत र ३४.४ प्रतिशतले खराब रहेको अध्ययनले देखाएको छ ।

समष्टिगत आर्थिक वातावरणको नकारात्मक प्रभावका सन्दर्भमा ४०.८ प्रतिशतले न्यून र २५.१ प्रतिशतले उच्च नकारात्मक असर महसुस गरेका छन् ।

अध्ययन अनुसार ८२.१ प्रतिशत उद्योगीले सरकार र राष्ट्र बैंकका प्रोत्साहन र सहायता कार्यक्रमको पर्याप्ततालाई खराबदेखि अतिखराब श्रेणीमा राखेको प्रतिवेदन उल्लेख छ । यसले विद्यमान प्रोत्साहन र सहायता कार्यक्रमको पर्याप्तताप्रति धेरैजसोमा असन्तुष्टि रहेको देखिन्छ ।

सरकार तथा केन्द्रीय बैंकको प्रोत्साहन र प्रविधि अवलम्बनले उद्योगको कार्यसम्पादनमा सकारात्मक प्रभाव पारेको अध्ययनको निष्कर्ष छ । कच्चापदार्थ र श्रमको अवस्थाले सकारात्मक प्रभाव पारेको छ भने पुरुष व्यवस्थापकको तुलनामा महिला व्यवस्थापक भएका उद्योगको कार्यसम्पादन उच्च पाइएको अध्ययनको निष्कर्ष छ ।

आर्थिक र राजनीतिक अस्थिरता कार्यसम्पादन घटाउने प्रमुख नकारात्मक कारकका रूपमा देखिएको अध्ययनले देखाएको छ ।

डिजिटलाइजेसन, प्रक्रियागत सरलीकरण र गुणस्तरीय नियमन मार्फत व्यावसायिक वातावरण सुधार गर्नुपर्ने अध्ययनले सुझाएको छ । सरकार तथा राष्ट्र बैंकले वित्तीय र मौद्रिक प्रणालीमा स्थिरता एवं दिगोपना कायम गर्न विशेष ध्यान दिनसमेत अध्ययनले सुझाएको छ ।

राजनीतिक स्थिरता उद्योगहरूको असल कार्यसम्पादनका लागि अपरिहार्य रहेको अध्ययनले औँल्याएको छ । ज्ञान आदान–प्रदान आधारित कार्यक्रम, नेतृत्व विकास र महिला सशक्तीकरणका माध्यमबाट उद्योगहरूको कार्यसम्पादन अभिवृद्धि गर्नुपर्दछ । साथै, सडक तथा सूचना प्रविधिको पूर्वाधार सुधार गर्दै सरकारी र नेपाल राष्ट्र बैंकका पहलबारे थप जनचेतना फैलाउनुपर्ने अध्ययनको सुझाव छ ।

वित्तीय पहुँच बढाउन नवीन वित्तीय सेवा डिजाइन र उपभोक्ता संरक्षण थप सबल बनाउँदै लानुपर्ने देखिएको छ । आधुनिक सूचना प्रविधि प्रयोग गरी क्रेडिट मूल्यांकन पद्धतिको नवीनतम र वैकल्पिक उपाय अवलम्बन आत्मसाथ गर्नुपर्ने अध्ययनले सुझाएको छ ।

विभिन्न निकाय र कार्यक्रमबीच प्रभावकारी समन्वय गरी दोहोरोपन हटाउँदै सकारात्मक प्रभावलाई अधिकतम र नकारात्मक प्रभाव न्यूनीकरण गर्नुपर्ने अध्ययनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?