+
+
Shares

सम्पत्ति शुद्धीकरण शंकास्पद कारोबार बढ्यो ३० प्रतिशत

इकाइका अनुसार गत आव ९ हजार ५ सय ६५ शंकास्पद कारोबार/गतिविधि प्रतिवेदन प्राप्त भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइले आव २०८१/८२ मा शंकास्पद कारोबार संख्या ३० प्रतिशतले वृद्धि भएको जनाएको छ।
  • इकाइले ९ सय ४५ शंकास्पद कारोबार प्रतिवेदन सम्बन्धित कानुन कार्यान्वयन निकायमा पठाएको छ।
  • इकाइले सन् २०२३ को पारस्परिक मूल्यांकनपछि नेपाल ग्रे–लिस्टमा परेपछि समन्वयात्मक कार्यलाई थप मजबुत बनाएको छ।

२९ पुस, काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी कार्यमा वित्तीय लगानीसँग सम्बन्धी शंकास्पद कारोबार संख्या बढेको छ ।

नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाइका अनुसार गत आर्थिक वर्षको तुलनामा यस्तो संख्या ३० प्रतिशतले बढेको हो ।

आव २०८१/८२ मा गोएमएल प्रणाली मार्फत वित्तीय सूचना संकलन उल्लेख्य रूपमा वृद्धि भएको इकाइले जनाएको छ । २०८०/८१ मा गोएमएलमा आबद्ध सूचक संस्था संख्या १ हजार ६ सय ३९ थियो । २०८१/८२ मा यस्तो संख्या ३ हजार ४ सय ९७ थियो ।

इकाइका अनुसार गत आव ९ हजार ५ सय ६५ शंकास्पद कारोबार/गतिविधि प्रतिवेदन प्राप्त भएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले धेरै हो । इकाइमा प्राप्त प्रतिवेदन विश्लेषण समेत करिब ४० प्रतिशतले वृद्धि भएको छ ।

विश्लेषणपछि इकाइले ९ सय ४५ शंकास्पद कारोबार/गतिविधि प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायमा पठाएको छ ।

यसबाट वित्तीय अपराध पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको इकाइले दाबी गरेको छ ।

इकाइले २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार सूचना सुरक्षा, गोपनीयता तथा प्रयोग सम्बन्धी मार्गदर्शन तयार गर्ने, गोएमएल अपरेसन गाइडलाइन जारी तथा अद्यावधिक गर्ने काम गरेको छ ।

त्यसैगरी शंकास्पद कारोबार र सीमा कारोबार सम्बन्धी मार्गदर्शन अद्यावधिक गर्ने लगायत काम सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ । साथै, इकाइले वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरेको इकाइले जनाएको छ ।

आव २०८१/८२ मा इकाइले विदेशी वित्तीय जानकारी इकाइसँग ६४ वटा सूचना आदान–प्रदान गरेको जनाएको छ । सीमापार वित्तीय कारोबारबाट हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी र नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्ध अन्तर्राष्ट्रियस्तरमा हुने सहकार्यलाई थप मजबुत र विस्तार गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ मा गरेको पारस्परिक मूल्यांकनपछि नेपाल ग्रे–लिस्टमा परेपछि इकाइ मार्फत भएका समन्वयात्मक कार्यलाई समेत प्रतिवेदनमा समेटिएको इकाइले जनाएको छ ।

वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सुधार प्रयासलाई इकाइको आगामी प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गरेको छ ।

इकाइको आगामी कार्यदिशा वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?