News Summary
Generated by OK AI. Editorially reviewed.- टेलर स्विफ्टको 'द इराज' मेगा कन्सर्टले दुई वर्षमा १८९ ठाउँमा कार्यक्रम गरी दुई अर्ब डलरभन्दा बढी कमाएको छ।
- केपप कलाकारहरूले सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गरी फ्यानसँग जोडिन र कन्सर्ट टुर सफल बनाउन नयाँ रणनीति अपनाएका छन्।
- डिजिटल प्रविधिको विकासले एल्बम बिक्री घट्दा कलाकारहरूले कन्सर्ट टुरबाट मुख्य आम्दानी गर्ने व्यवस्था बनाएका छन्।
२०२४ डिसेम्बरमा टेलर स्विफ्टको ‘द इराज’ नामक मेगा कन्सर्ट सकियो । मेगा कन्सर्ट भनेको एउटा ब्यानरमा धेरै ठाउँमा गरिने कन्सर्ट हो । दुई वर्षसम्म चलेको सो मेगा कन्सर्ट अन्तर्गत टेलरले विश्वभर १८९ ठाउँमा कार्यक्रम गरेकी थिइन् ।
उक्त टुर अहिलेसम्मकै सबैभन्दा बढी नाफा कमाउने सांगीतिक कार्यक्रम समेत बन्यो । सो अवधिमा टुरले दुई अर्ब डलरभन्दा बढी कमाइ गरेको थियो । त्यसअघिका कुनै पनि मेगा टुरको कमाइ यसको आधा पनि पुगेको थिएन ।
त्यसको ९ महिनापछि पप ब्यान्ड कोल्डप्लेले आफ्नो ‘म्युजिक अफ द स्फियर्स’ वर्ल्ड टुर पूरा गर्यो । कोल्डप्लेको उक्त मेगा टुरले साढे एक अर्ब डलरभन्दा बढी कमाएको थियो ।
यसले म्युजिकका मेगा कन्सर्ट र टुर कसरी बढी आम्दानी गर्ने प्लेटफर्म बनिरहेका छन् भन्ने प्रश्न निम्त्याउँछ ।
ठूलो फ्यान बेस
संगीतकर्मीहरूले आफ्नो फ्यान बेस कसरी बढाउँछन् ? उनीहरूलाई मन पराउनेहरूको संख्या कसरी बढिरहेको छ ? यो बुझ्न केपपका कलाकारहरूलाई हेर्न सकिन्छ ।
केपप कोरियाली र पश्चिमी संगीत शैलीहरूको मिश्रण हो । उनीहरूको धुन र गीतमा जोसिलो र झुमाउने बिट्स हुन्छन् । अनि त्यससँगै नृत्य पनि जोडिएको हुन्छ । यति मात्र होइन केपपका कलाकारहरू आफ्ना फ्यानहरूसँग जोडिन सामाजिक सञ्जाल र प्रविधिको भरभूर प्रयोग गरिरहेका हुन्छन् ।
उनीहरूको सफलताबारे सियोलस्थित म्युजिक डिस्ट्रिब्युसन कम्पनी ‘रुट नोट्स’का एसिया प्रमुख केभिन किम भन्छन्, ‘पश्चिमी कलाकार र कोरियाली कलाकारहरूबीचको एउटा ठूलो फरक भनेको कोरियाली केपप कलाकारहरू सधैं अनलाइन बस्छन् । युट्युबमा उनीहरूको उपस्थिति बाक्लै हुन्छ । धेरै कलाकारहरू भने ‘बबल’ एपमार्फत सिधै आफ्ना फ्यानहरूसँग च्याट पनि गरिरहेका हुन्छन् ।’
‘बबल’ एउटा दक्षिण कोरियाली सामाजिक सञ्जाल प्लेटफर्म हो । यसको माध्यमबाट फ्यानहरूले आफ्ना म्युजिक स्टारहरूसँग सोझै कुराकानी गर्न सक्छन् ।
त्यस्तै सोही एपमार्फत केपपका कलाकारहरूले आफ्ना फ्यानहरू कता धेरै छन् भन्ने पनि थाहा पाउँछन् । र, त्यसकै आधारमा उनीहरूले आफ्नो कन्सर्ट टुर गर्छन् ।
केपपका फ्यानहरू कलाकारहरूलाई लिएर निकै धेरै भावुक पनि हुन्छन् । किनकि कतिपय फ्यानहरू कुनै पनि कलाकारको कन्सर्ट हेर्नका लागि मात्रै पनि टाढाका शहर र अर्को देशसम्म पुग्छन् ।
प्राय: केपपका फ्यानहरूका लागि कन्सर्ट एउटा नौलो अनुभव हुने गर्छ । कन्सर्टमा फ्यानहरूले एउटा ‘लाइट स्टिक’ बोकेका हुन्छन्, त्यसको रङबाट उनीहरू कुन क्षेत्रका हुन् भन्ने थाहा हुन्छ । साथै कार्यक्रमका दौरान उक्त लाइट स्टिकको प्रकाशलाई कन्सर्टका आयोजकहरूले नियन्त्रण गर्छन् । जसले गर्दा संगीतको फरक-फरक धुनसँगै त्यसको रङ बदलिन्छ।
केभिन किमका अनुसार उक्त लाइट स्टिक निकै एड्भान्स टेक्नोलोजीबाट बनेको हुन्छ । यसले गर्दा कन्सर्टमा लिइने सांगीतिक माहोल नै अलग हुन्छ ।
यसबाट फ्यानहरूको कन्सर्टको अनुभव निकै ‘डायन्यामिक’ हुन्छ । उनीहरूले आफूलाई नै त्यो संगीतको हिस्सा भएको महसुस गर्छन् । तर, केपप कलाकारहरूले लाइट स्टिक मात्र होइन, अन्य सामान पनि बेच्छन् ।
‘कोरियाली कलाकारहरूले आफ्नो तस्बिर भएका पोस्टर, टिसर्ट र की चेन जस्ता धेरै चीजहरू बेच्छन् । हरेक कन्सर्टका लागि नयाँ तस्बिरहरूसहित टिसर्ट र की चेन बनाएर सार्वजनिक गरिन्छ,’ केभिन किम भन्छन्, ‘उनीहरूका फ्यानले यी चीजहरू ठूलो चासोका साथ किन्छन् । र, सङ्कलन गर्छन् ।’
यी यस्ता रणनीतिहरूले कन्सर्ट टुरलाई पहिलेभन्दा धेरै नाफामा पुर्याएका छन् । तर, प्रश्न उठ्छ यति ठूलो सफलता कसरी सम्भव भयो ? एल्बम वा सीडी आदि बेचेर पैसा कमाउने पुराना तरिका कसरी बदलिए ?
डिजिटल बदलाव
अमेरिकाको मियामी युनिभर्सिटीको फ्रोस्ट स्कुल अफ म्युजिककी प्रोफेसर सेरोना एल्टनका अनुसार पहिले पप म्युजिक ब्यान्डहरूले आफ्नो नयाँ संगीत एल्बम वा सीडी प्रमोट गर्न कन्सर्ट टुरको प्रयोग गर्थे । तर, अहिले यी म्युजिक ब्यान्डहरूले कन्सर्ट टुरबाट सिधै नाफा कमाइरहेका छन् ।
उनका अनुसार यसको एउटा ठूलो कारण पछिल्लो २० वर्षमा डिजिटल टेक्नोलोजीमा आएको परिवर्तन हो । पहिले मान्छेहरू कुनै कलाकारको एल्बम किन्न म्युजिक स्टोर जान्थे । तर, अहिले उनीहरूका गीतहरू सजिलै इन्टरनेटबाट डाउनलोड गर्न सक्छन् ।
‘पहिले सबैभन्दा धेरै म्युजिक रेकर्ड वा सीडी युवाहरूले किन्थे । अहिले उनीहरू डिजिटल प्रविधिको प्रयोग गर्छन् । यसले संगीत उद्योगको समीकरणमा बदलाव ल्याएको छ’ सेरोना एल्टन भन्छिन्, ‘जब कलाकारहरूले आफ्नो संगीत रेकर्डको विक्री बिस्तारै घट्दै गएको देखे, त्यसपछि उनीहरू पनि कन्सर्ट टुरमार्फत पैसा कमाउनतिर लागेका हुन् ।’
त्यसरी कन्सर्ट टुर गर्दा कलाकारहरूको संगीतको इन्टरनेट स्ट्रिमिङ पनि बढ्छ । किनकि कन्सर्टको घोषणा हुनासाथ फ्यानहरूले अनलाइनमा एल्बम किन्न थाल्छन् । भलै त्यसबाट खासै धेरै फाइदा हुँदैन । कलाकारहरूको मुख्य ध्यान भव्य कन्सर्ट गर्ने र भएसम्म सबै टिकट विक्री गर्ने नै हुन्छ । फेरि भव्य स्तरको कन्सर्ट गर्न त्यही अनुसारको लगानी पनि आवश्यक पर्छ।
कन्सर्टको भव्यता
प्राय: त्यस्ता कन्सर्टहरू विशाल स्टेडियममा आयोजना हुन्छन्, जहाँ हजारौं फ्यान आउँछन् । स्टेज नजिककैका दुईतीन लाइनभन्दा पछाडि बसेका फ्यानहरूले स्टेजमा प्रस्तुति दिइरहेका कलाकारहरू प्रस्ट देख्दैनन् । त्यस्तोमा स्टेडियममा ठूला भिडियो स्क्रिनहरू लगाउनुपर्छ । ताकि कलाकारलाई प्रस्ट र नजिकबाट देखियोस् ।
त्यस्तै लाइट र साउन्ड पनि सोही स्तरको हुन्छ । अनि स्टेज बनाउन, त्यसलाई भत्काएर नयाँ ठाउँमा लान पनि उस्तै समय र जनशक्ति लाग्छ । त्यसैले यस्तो ठूलो मेगा कन्सर्ट गर्दा नाफा कमाउनु अनिवार्य हुन्छ ।
कन्सर्ट टुर सफल बनाउनमा भने सामाजिक सञ्जालको पनि उत्तिकै भूमिका हुन्छ । प्राय: कुनै पनि ठाउँमा कार्यक्रम गर्दा त्यहाँ फ्यानहरूको अनुपात र क्रयशक्तिलाई निकै विचार गरिने गर्छ ।
टुरको अर्थशास्त्र
बेलायतको न्युकासल युनिभर्सिटीका संगीत विभागका प्रमुख एडम बेहरका अनुसार पहिले पप म्युजिक कलाकारको काम अहिलेको जस्तो थिएन । उनीहरू स्टुडियो जान्थे । एल्बम रेकर्ड गर्थे । त्यसपछि त्यसको प्रचारमा लाग्थे । टुरको आयोजना गर्न म्युजिक लेबलले सहयोग गर्थे । तर डिजिटल युगमा यो समीकरण फेरिएको छ ।
‘एल्बमको अनलाइन स्ट्रिमिङको कुनै सीमा छैन । तर टुर कन्सर्टका टिकट सीमित हुन्छन् । लाइभ म्युजिकको मजा नै बेग्लै हुन्छ । यसले अनुभव गर्ने कुरोलाई खास बनाउँछ,’ एडम बेहर भन्छन्, ‘यही कारणले टुर कन्सर्टलाई ठूलो नाफा हुने व्यापार बनाउँछ ।’
म्युजिक जर्नलिस्ट र सिड्नीस्थित ‘क्युरियस मिडिया’की संस्थापक पपी रीडका अनुसार कन्सर्ट टुर सबै कलाकारको बसको कुरा होइन । यस्तो खालको कन्सर्ट लाखौं करोडौं फ्यान भएका कलाकारहरूले मात्र गर्न सक्छन् ।
उनका अनुसार यस व्यापारमा पैसा भए पनि नाफाको मार्जिन कम छ । किनकि लगानी नै धेरै लाग्छ । तर, यस्ता मेगा कन्सर्टहरूका आयोजकलाई मात्र पुग्दैन । स्थानीय समुदायलाई पनि उत्तिकै फाइदा पुगिरहेको हुन्छ ।
किनकि कुनै शहरमा जति दिन ती कलाकार बस्छन्, त्यो समयमा उनीहरू निकै तामझामका साथ बस्छन् । त्यसैले त कतिपय सरकारहरूले त टेलर स्विफ्ट, बियोन्से र कोल्डप्ले जस्ता ब्यान्डलाई आफ्नो शहरमा आउन अपिल गर्छन् ।
क्यानडाका तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रूडो, ब्राजिलका राष्ट्रपति लुलाका, चिली र थाइल्याण्डका राष्ट्र प्रमुखहरूले टेलर स्विफ्टलाई आफ्नो देशको टुर गर्न आग्रह गरेका थिए । यसबाट यो मेगा टुर आर्थिक दृष्टिले कति महत्वपूर्ण छ भन्ने थाहा हुन्छ ।
कतिपय कलाकारहरूको हकमा मेगा कन्सर्टपश्चात समेत आम्दानी हुने गर्छ । त्यसको उदाहरण पनि टेलर नै हुन् । टेलरले आफ्नो ‘द एराज’ टुरमा डिज्नी प्लससँग मिलेर ६ भागको डकुमेन्ट्री बनाएकी थिइन् ।
पपी रीडका अनुसार यस्ता टुरको आयोजनामा धेरै भारी खर्च हुन्छ, जसलाई असुल गर्न र नाफा कमाउनु बाहेक कलाकारहरूसँग अर्को विकल्प छैन । तर, जति भव्य कन्सर्ट भयो, पैसा त्यति नै धेरै आउँछ । अर्कोतर्फ फ्यानहरू आफूलाई यही कारण हो कि मेगा टुरहरू यति धेरै सफल भइरहेका छन् ।
बीबीसीबाट
प्रतिक्रिया 4