+
+
Shares

भेनेजुएलाकी विपक्षी नेता मचाडोले ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते ९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन्।
  • मचाडोले ट्रम्पलाई पुरस्कार दिएको कारण भेनेजुएलाको स्वतन्त्रताप्रति ट्रम्पको प्रतिबद्धताको सम्मान हो भनेकी छन्।
  • नोबेल कमिटीले मेडल कसैलाई दिन सकिए पनि पुरस्कार हस्तान्तरण गर्न नसकिने स्पष्ट पारेको छ।

काठमाडौं । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन् ।

बिहीबार ह्वाइट हाउसमा भएको भेटवार्ताको क्रममा उनले आफूले पाएको नोबेल शान्ति पुरस्कार ट्रम्पलाई दिएकी हुन् । भेटपछि पत्रकारहरुसँग मचाडोले भनिन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको मेडल दिएँ ।’

उनका अनुसार यो कदम भेनेजुएलाको स्वतन्त्रताप्रति ट्रम्पको अनोठो प्रतिबद्धताको सम्मानका रूपमा उठाइएको हो ।

अमेरिकाले सैन्य कारबाही गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि मचाडो र ट्रम्पबीचको यो भेट भएको हो ।

मेडल दिएको सन्दर्भमा मचाडोले ल्याटिन अमेरिकाका महान् क्रान्तिकारी सिमोन बोलिभरको एउटा किस्सा सुनाइन् । उनका अनुसार दुई सय वर्षअघि जनरल (मार्क्विस डी) लायाफेटले सिमोन बोलिभरलाई एउटा मेडल दिएका थिए, जसमा जर्ज वाशिंगटनको अनुहार अंकित थियो। बोलिभरले त्यो मेडल जीवनभर आफ्नै साथमा राखे ।

मचाडोले भनिन्, ‘इतिहासमा दुई सय वर्षपछि, आज बोलिभरका मानिसहरूले वाशिंगटनका उत्तराधिकारीलाई एउटा मेडल फर्काइरहेका छन् । यस पटक नोबेल शान्ति पुरस्कारको मेडल—हाम्रो स्वतन्त्रताप्रति उहाँको अनौठो प्रतिबद्धताको सम्मानस्वरूप ।’

दक्षिण अमेरिकी महादेशमा सिमोन बोलिभरको नाम अत्यन्त सम्मानका साथ लिइन्छ । सन् १७८३ मा भेनेजुएलाको काराकसमा जन्मिएका बोलिभरले धेरै ल्याटिन अमेरिकी देशहरूलाई स्वतन्त्रता दिलाएका थिए । उनको सम्मानमा भेनेजुएलाको आधिकारिक नाम बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला राखिएको छ । त्यसैगरी बोलिभिया देशको नाम पनि उनको सम्मानमा राखिएको हो ।

ट्रम्पको नोबेल पुरस्कारको चाहना

ट्रम्पले लामो समयदेखि खुलेआम नोबेल पुरस्कार पाउने इच्छा व्यक्त गर्दै आएका छन् । पुरस्कार नदिएको भन्दै उनले नोबेल कमिटी र नर्वे सरकारको आलोचना पनि गर्दै आएका छन् । ट्रम्पको यस्तो लगातारको बयानबाजीका बाबजुद, गत वर्ष नोबेल कमिटीले शान्ति पुरस्कारका लागि मचाडोको नाम घोषणा गरेको थियो । नोबेल शान्ति पुरस्कार जितेपछि मचाडोले उक्त सम्मान ट्रम्पलाई समर्पित गरेकी थिइन् ।

यसैबीच नोबेल कमिटीले नोबेल शान्ति पुरस्कारको मेडल कसैलाई दिन सकिए पनि, पुरस्कार आफैं भने हस्तान्तरण गर्न नसकिने स्पष्ट पारेको छ ।

नोबेल पुरस्कारसम्बन्धी नियम के छन् ?

नोबेल पीस सेन्टरले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा मेडल बेच्न वा कसैलाई दिन सकिने जनाएको छ । पोस्टमा भनिएको छ, ‘नर्वेजियन नोबेल कमिटीका अनुसार, एक पटक नोबेल पुरस्कारको घोषणा भइसकेपछि त्यसलाई रद्द गर्न, बाँड्न वा अरूलाई ट्रान्सफर गर्न सकिँदैन । यो निर्णय अन्तिम हुन्छ र सधैंका लागि मान्य रहन्छ ।’

पोस्टमा थप भनिएको छ– मेडलको मालिक परिवर्तन हुन सक्छ, तर नोबेल शान्ति पुरस्कार विजेताको उपाधि भने परिवर्तन हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?