News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाको राष्ट्रपति बन्ने सम्भावित मार्को रुबियोलाई समर्थन जनाउँदै क्युबालाई अमेरिका सँग सम्झौता गर्न चेतावनी दिएका छन्।
- ट्रम्पले भेनेजुएलामा सैन्य हस्तक्षेप गरी राष्ट्रपति निकोलस मदुरोलाई गिरफ्तार गरेको र अब भेनेजुएलाको जनताको सुरक्षा अमेरिकी सेनाले गर्ने दाबी गरेका छन्।
- ट्रम्पले क्युबालाई अब भेनेजुएलाबाट तेल र पैसा नजाने र धेरै ढिलो हुनुभन्दा पहिले सम्झौता गर्नुपर्ने चेतावनी दिएका छन्।
२७ पुस, काठमाडौं । भेनेजुएलामा सैन्य आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई बन्दी बनाएको अमेरिकाले अन्य ल्याटिन अमेरिकी देशमा हस्तक्षेप गर्ने आशंका बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री मार्को रुबियोलाई क्युबाको राष्ट्रपति बनाउने एक पोस्टलाई सेयर गर्दै त्यसो भएमा आफू खुशी हुने बताएका हुन् ।
ट्रम्पको व्यक्तिगत स्वामित्व भएको सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक प्रयोगकर्ताले लेखेकी छन्– ‘मार्को रुबियो क्युबाको राष्ट्रपति हुनेछन् ।’
सो पोस्ट सेयर गर्दै ट्रम्पले लेखेका छन्– ‘मलाई राम्रो लाग्यो ।’
ल्याटिन अमेरिकी देश क्युबालाई समय रहँदै अमेरिकासँग सम्झौता गर्न ट्रम्पले चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गरेपनि अमेरिकी प्रशासनले भने क्युबामा तत्कालै हस्तक्षेप गर्नेबारे केही बोलेको छैन ।
भेनेजुएलामा अमेरिकाले सैन्य हस्तक्षेप गरेर मदुरोलाई गिरफ्तार गरेपछि सामाजिक सञ्जालमा अन्य देशमा अमेरिकाको सम्भावित आक्रमणको आशंकामा यस्तो चर्चा बढ्दै गएको छ ।
गत साता पनि अमेरिकी राष्ट्रपति ट्रम्पले कोलम्बियालाई एक बिरामी व्यक्तिद्वारा शासित देश भनेर टिप्पणी गरेका थिए । साथै ट्रम्पले कोलम्बियामा सम्भावित अमेरिकी कारबाही हुने प्रश्नमा सहमति जनाएका थिए ।
ट्रम्पले क्युबालाई पनि भेनेजुएलाको तेलमा निर्भर हुँदा पतन भएको टिप्पणी गरेका थिए । आर्थिक संकट चुलिएको क्युबामा अमेरिकी हस्तक्षेप आवश्यक नभएको ट्रम्पको भनाइ थियो ।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्– ‘क्युबा कयौं वर्षसम्म भेनेजुएलासँग भारी मात्रामा तेल र धनमा निर्भर रह्यो, उसले भेनेजुएलाका पछिल्ला अन्तिम दुई तानाशाहलाई सुरक्षा सेवा समेत प्रदान गर्यो, तर अब हुँदैन ।’
भेनेजुएली शासकको सुरक्षामा खटिएका अधिकांश क्युबाली पछिल्लो हप्ता अमेरिकी आक्रमणमा मारिएको ट्रम्पले बताए ।
‘भेनेजुएलालाई अब ती गुण्डा र जबरजस्ती असुली गर्नेहरूबाट सुरक्षाको आवश्यकता छैन जसले उनीहरूलाई बन्धक बनाएर राखेका थिए,’ ट्रम्पले भने ।
अब भेनेजुएलाको साथमा अमेरिका रहेको भन्दै ट्रम्पले त्यहाँको जनताको सुरक्षा अमेरिकी सैनिकले गर्ने दाबी गरे । ‘भेनेजुएलाको साथमा अब संयुक्त राज्य अमेरिका छ, जो सँग निसन्देह संसार कै शक्तिशाली सेना छ, जसले उनीहरूको रक्षा गर्नेछन् र हामीले उनीहरूको रक्षा गर्नेछौं,’ उनले भनेका छन् ।
साथै राष्ट्रपति ट्रम्पले क्युबालाई तेल र पैसा नदिने भन्दै ढिला नगरी सम्झौता गर्न चेतावनी दिएका छन् । ‘क्युबालाई अब तेल र पैसा जाँदैन– शून्य । धेरै ढिलो हुनुभन्दा पहिले एक सम्झौता गरुन्,’ ट्रम्पले चेतावनी शैलीमा भनेका छन् ।
प्रतिक्रिया 4