२७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेनेजुएलामा हालैको कारबाहीपछि क्यानडामा पनि डर र चिन्ताको वातावरण छाएको छ।
अमेरिकी सेना हालै भेनेजुएला पसेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्युयोर्क पुर्याएको थियो। यसैबीच, ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउनका लागि दिएका पुराना बयान र धम्कीहरू फेरि चर्चामा आएका छन्।
क्यानडाको पत्रिका ‘द ग्लोब एण्ड मेल’ मा छापिएको एक लेखमा भनिएको छ- क्यानेडियनहरूले यस कुरालाई गम्भीरताका साथ लिनुपर्छ कि ट्रम्पले उनीहरूको देशविरुद्ध पनि सैन्य दबाब प्रयोग गर्न सक्छन्।
यस लेखका लेखक तथा क्यानेडियन प्रोफेसर थोमस होमर–डिक्सनले भनेका छन्- यदि क्यानडाविरुद्ध कुनै पनि प्रकारको सैन्य दबाब दिइन्छ भने यसको मूल्य निकै भारी हुने कुरा स्पष्ट हुनुपर्छ।
‘क्यानडाले आफूलाई असुरक्षित महसुस गर्दैछ’
क्यानडाजस्तै ट्रम्प ग्रिनल्याण्डलाई पनि अमेरिकामा मिसाउन चाहन्छन्। विज्ञहरू ग्रिनल्याण्ड र क्यानडामा धेरै समानताहरू रहेकामा सचेत छन् । दुवै लोकतान्त्रिक हुन्, आर्कटिक क्षेत्रमा अवस्थित छन् र नेटो जस्तो सुरक्षा संगठनको हिस्सा हुन्, जसमा ट्रम्प आफ्नो दबदबा कायम गर्न चाहन्छन्। यसै कारण क्यानडाले आफूलाई असुरक्षित महसुस गरिरहेको छ।
क्यानडा सरकारलाई सुरक्षा मामिलामा सल्लाह दिइसकेका वेस्ली वार्कले भनेका छन् – ओटावा (क्यानडाको राजधानी) का धेरै अधिकारीहरू अहिले पनि परिस्थिति यति धेरै बदलिएको छ भन्ने स्वीकार गर्न तयार छैनन्।
वेस्लीका अनुसार भेनेजुएला र ग्रिनल्याण्डलाई लिएर ट्रम्पले चालेका कदम क्यानडाका लागि अन्तिम चेतावनी हुन्। यसले अमेरिका अब पहिलेको जस्तो देश नरहेको देखाउँछ ।
अमेरिकासँगको निर्भरता घटाउँदै क्यानडा
यसैबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सत्तामा आएदेखि नै अमेरिकामाथिको निर्भरता कम गर्ने प्रयास सुरु गरेका थिए। उनी अहिले चीनसँगको व्यापार बढाउन बढी ध्यान दिइरहेका छन्।
हालै कार्नीले ग्रिनल्याण्ड र डेनमार्कको सार्वभौमसत्ताको सम्मान गरिनुपर्ने बताएका छन्, तर उनले ट्रम्पको क्यानडासँग जोडिएका पुराना धम्कीहरूबारे कुनै टिप्पणी गरेनन्।
केही विज्ञहरूको भनाइ छ- अमेरिकाको तर्फबाट क्यानडामाथि सिधा सैन्य हमला हुन गाह्रो छ, तर आर्थिक दबाब भने दिन सकिन्छ।
कार्लेटन विश्वविद्यालयकी प्रोफेसर स्टेफनी कार्विनले भन्छिन्, ‘अमेरिकाले अब पहिलेभन्दा सजिलै क्यानडाको अर्थतन्त्रलाई नोक्सान पुर्याउन सक्छ, यदि त्यसो गर्नु राष्ट्रपतिको इच्छाअनुसार भयो भने।
उनले भेनेजुएलाको तेल संशाधनमा ट्रम्पको दबदबापछि अमेरिका पश्चिमी गोलार्धमा आफ्नो वर्चस्व बढाउन अझ आक्रामक हुन सक्ने स्पष्ट भएको बताउँछिन् ।
तत्काल अमेरिकाले के गर्न सक्छ ?
कार्लेटन विश्वविद्यालयकै प्रोफेसर फिलिप लागासेले अर्को आशंका व्यक्त गरे। उनका अनुसार, यदि क्यानडा कुनै ठूलो विपद् वा यस्तो परिस्थितिमा अमेरिकामाथि निर्भर हुन्छ, त्यस्तो परिस्थितिलाई क्यानडा आफैंले सम्हाल्न सकेन भने वर्तमान अमेरिकी प्रशासनले मद्दतको बदलामा सर्तहरू राख्न सक्छ।
अमेरिकाले मद्दत गरिसकेपछि त्यहाँबाट हट्न इन्कार गर्ने वा बदलामा अन्य मागहरू राख्ने जोखिम पनि उत्तिकै रहन्छ ।
यसबाहेक अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौताको समीक्षाले पनि ट्रम्पको ध्यान फेरि क्यानडातर्फ तान्न सक्छ। यो सम्झौता ट्रम्पको पहिलो कार्यकालमा भएको थियो र अहिले यसको समीक्षा हुनुपर्नेछ। यस अवधिमा अमेरिकाले क्यानडामाथि आर्थिक दबाब बनाउन सक्छ।
हाल क्यानडा आफ्नो करिब ७० प्रतिशत निर्यातका लागि अमेरिकामा निर्भर छ। विज्ञहरूका अनुसार यदि ट्रम्पले यो छुट रोक्ने धम्की मात्र दिए भने पनि यसले क्यानडाको अर्थतन्त्रलाई ठूलो नोक्सान पुर्याउन सक्छ।
(दैनिक भास्करको सहयोगमा)
प्रतिक्रिया 4