+
+
Shares

सांसदहरू नयाँ भवनमा बस्न पाउँछन् ?

संसद सचिवालयले यही माघ ९ गते विशेष भवन आयोजनाका अधिकारीहरूसँग छलफल गरेको थियो । छलफलमा उनीहरूले ८८ प्रतिशत भौत्तिक प्रगति भएको ब्रिफिङ गरेका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १७:४०

१२ माघ, काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै छ । तर, सिंहदरबारस्थित संसद् भवनको निर्माण कार्य सकिएको छैन ।

नयाँ बानेश्वरस्थित संसद् बैठक बस्दै आएको अन्तराष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा जल्यो । त्यसपछि अब आउने संसद्को बैठक सिंहदरबार भित्रै बनिरहेको भवनमा राख्ने तयारी छ । तर, भवन निर्माण कार्य सकिएको छैन ।

यो विषयमा छलफल गर्न सोमबार संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे, सचिव रोजनाथ पाण्डे लगायतका संसद्का कर्मचारीहरू शहरी विकास मन्त्रालय पुगेका थिए । छलफलमा शहरी विकासमन्त्री प्रा. डा. कुमार इङ्नाम र शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल लगायत थिए ।

छलफलपछि संसद् सचिवालयका महासचिव पाण्डेले अनलाइनखबरसँग भने, ‘२१ फागुनमा निर्वाचन भइसकेपछि चैत १ गतेबाट संसद्को बैठक चलाउने सरकारको सोच रहेछ ।’

तयारीका लागि हाउस सुरु हुनुभन्दा १५-२० दिनअगाडि भवन चहिने आग्रह आफूहरूले गरेको पाण्डेले जानकारी दिए ।

‘संसद् बैठक बस्नु भन्दा १५-२० दिन अगाडि नै हस्तान्तरण गर्नुपर्यो भनेर हामीले भन्यौं’ पाण्डेले भने । उनका अनुसार संसद् सञ्चालनका सन्दर्भमा आन्तरिक तयारीका संसद् सचिवालयलाई समय चाहिने भएकाले सरकारको ध्यानाकर्षण गरेको हो । पाण्डेका अनुसार जवाफमा मन्त्री इङ्नामले भनेका छन्, ‘ठेकेरदारले चैत १ गतेदेखि हाउस चलाउने गरी भवन दिन्छौं भन्नुभएको छ ।’

संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ । भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको छ । ठेकेदारले गत पुस १६ गतेभित्र सबै काम सक्नुपर्ने सम्झौता थियो । तर, हालसम्म ८८ प्रतिशत मात्रै काम सकिएको छ ।

संसद सचिवालयले यही माघ ९ गते विशेष भवन आयोजनाका अधिकारीहरूसँग छलफल गरेका थिए । छलफलमा उनीहरूले ८८ प्रतिशत भौत्तिक प्रगति भएको ब्रिफिङ गरेको थिए  । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सभाहलको काम सकिएको छ ।

सिंहदरबार भित्र संसद्का लागि १२ वटा भवन बन्दैछन् । त्यसमध्ये ६ वटा भवन चैत १ गते अगाडि नै हस्तान्तरण गर्न सकिने अवस्थामा रहेको आयोजनाले जनाएको छ ।

शहरी विकास मन्त्रालयका निर्माणाधीन संसद्को नयाँ भवन अत्याधुनिक सुविधासम्पन्न छ । सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको भवननजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रनिनिधिसभाका लागि आवश्यक संरचना नजिकै राखिएको छ ।

नयाँ संसद् भवन क्षेत्रको मध्यभागमा भीभीआईपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्नेवित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एकापट्टि संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एकापट्टि संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।

७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभाहल ४०० र बाल्कोनीमा ३०० क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबि छ ।

साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाएइको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।

संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन हुनेछ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैंचा र सानो चौर रहनेछ ।

प्रेस र छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्न मल्निे पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र हुनेछ ।

संसद् सचिवालयले भने शीघ्र निर्माण सकेर भवन हस्तान्तरण गर्न आग्रह गर्दै आएको छ ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार नयाँ भवनबाट सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन लगायतको काम भइराखेको छ ।

संसद् भवनमा सांसदहरू, कर्मचारीहरू कुन गेट बाट छिर्ने लगायतका विषय समेत टुंगो लागेको छैन । सुरक्षाको हाइराइज पोष्ट लगायतका विषय टुंगिएको छैन ।

यदि समयमै संसद् भवन निर्माणको कार्य नसकिने हो र वैकल्पिक उपाय खोज्ने हो भने त्यसबारे समयमै सोच्न सरकारलाई संसद सचिवालयले भनेको छ ।

संसद् सचिवालयले पत्र नै लेखेर मुख्यसचिव सुमनराज अर्याललाई यस्तो आग्रह गरेको हो । जहाँ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन पश्चात संसद् बैठक बस्नका लागि आवश्यक सभाहल, पदाधिकारीहरु र सचिवालयका कर्मचारीहरुको कार्यकक्ष, संसदीय दलका कार्यालयहरुको व्यवस्थापनबारे ध्यानाकर्षण गरिएको छ ।

पत्रमार्फत मुख्यसचिव अर्याललाई भनिएको छ, ‘सभा संचालनका लागि आवश्यक अडियो, भिडियो रेकर्डिङ, लाईभ प्रशारण, श्रव्यदृष्य र सूचना प्रविधि सम्बन्धी उपकरणहरु लगायतका भौतिक संरचनाहरु सहितको पूर्वाधार नभएकोले सोको आवश्यक व्यवस्था मिलाईदिनुहुन सचिवालय (श्रीमान् महासचिवस्तर) को …निर्णयानुसार सादर अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?