+
+
Shares

काठमाडौंमा चुनावको तयारी : ‘जहाज उडिसक्यो, सुरक्षित ल्यान्ड बाँकी’

देशभरिकै सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जिल्ला निर्वाचन कार्यालयले उत्साहका साथ व्यवस्थापनको काम गरिरहेको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ माघ १२ गते २०:००

१२ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधसभा निर्वाचनको तयारी गर्न जिल्ला निर्वाचन कार्यालयलाई पनि भ्याइनभ्याइ छ । सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जिल्ला निर्वाचन कार्यालयले उत्साहका साथ व्यवस्थापनको काम गरिरहेको छ ।

वर्षभरि नै मतदाता नामवली संकलन, मतदाता शिक्षा, निर्वाचन शिक्षा, मतदान केन्द्रको नियमित अध्यावधिकको काम भइरहेको हुन्छ । तर अहिले कार्यालयहरू आगामी २१ फागुनलाई आधार मानेर निर्वाचनको तयारीमा जुटेको छ ।

‘प्रत्येक दिनको क्यालेन्डरलाई मेन्टेन गर्दै आफ्ना कामहरू सक्दै २१ फागुनको तयारीमा लागिरहेका छौं,’ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले भने ।

कार्यालयले के–के काम सक्यो ?

निर्वाचन अधिकारी भट्टराईका अनुसार मतदाता नामावलीलाई तयारी अवस्थामा राखिएको छ ।

‘मतदाता नामावलीलाई तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । नामावली प्रकाशन गर्ने, दाबी विरोधको प्रक्रियामा लैजाने काम सकेका छौँ । निर्वाचन आयोगबाट मतदाता नामावली छपाइको काम सकेर उपलब्ध हुने प्रक्रियामा छ । एक प्रति भने निर्वाचन अधिकृत कार्यालयलाई उपलब्ध गराइसकेका छौं,’ उनले भने, ‘उम्मेदवारलाई चुनाव चिह्न प्रदान भइसकेको छ ।’

मतदान केन्द्रहरूको अवलोकन गर्ने काम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भइरहेको छ । जिल्ला सुरक्षा समिति, निर्वाचन सुरक्षा समितिले सुरक्षा योजना बनाउने र अवलोकन गर्ने काम गरिरहेको छ ।

आवश्यक पर्ने निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको छ ।

‘जनशक्ति व्यवस्थापनको तयारी गर्छौं । यसपटक निर्वाचनलाई अत्यन्त मितव्ययी बनाउने काम गरिरहेका छौं । मौज्दात भएका सामग्रीहरू मौज्दातबाट चलाउने, पुराना सामग्री पुनः प्रयोग गर्ने र खरिद गर्नुपर्ने सामग्री सरकारी निकायसँगै जी टू जी गरेर अत्यन्त सुपथ मूल्यमा लिन्छौं,’ उनले भने ।

मतदान केन्द्रमा खटाउने जनशक्तिका लागि पनि विवरण लिने काम कार्यालयले गरिरहेको छ ।

‘समानुपातिक निर्वाचनको लागि मतदान केन्द्रमा खटाउने प्रयोजनको लागि जनशक्ति विवरण माग गरेका छौं । समानुपातिक मतदान गर्ने प्रयोजनको लागि फेरि छुट्टै विवरण मागेर पठाएका छौं,’ भट्टराईले भने ।

मतदान केन्द्रहरूको अवलोकन गर्ने काम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भइरहेको छ । जिल्ला सुरक्षा समिति, निर्वाचन सुरक्षा समितिले सुरक्षा योजना बनाउने र अवलोकन गर्ने काम गरिरहेको छ ।

उनका अनुसार जिल्ला आचारसंहिता अनुगमन समितिले आचारसंहिता पालना भए-नभएको अनुगमन गरिरहेको छ । मुख्य निर्वाचन अधिकृत अर्थात् जिल्ला न्यायाधीशका संयोजकत्वमा समिति बनेको छ ।

‘आचारसंहिता पालनामा निर्वाचन आयोगले क्रमश: कडाइ गर्दै लगेको अवस्था छ । पालना गर्ने क्रम पनि बढ्दो अवस्थामा छ । पालना गर्न उम्मेदवार र राजनीतिक दलबाट सहयोग हुँदै आइरहेको छ,’ भट्टराईले भने ।

निर्वाचन आयोगले घोषणा गरेको ४ माघ रातिदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लाग्छ ।

उम्मेदवारहरूले प्रचारप्रसार गर्ने दिन आयोगले तोकेको हुन्छ । ‘मतदान हुनेभन्दा १७ दिन अगाडि प्रचारप्रसार गर्न भनेको छ । १७ दिन अगाडिभन्दा दुई दिन त मौन अवधि परिहाल्छ । बाँकी रह्यो १५ दिन,’ भट्टराईले भने, ‘आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्नसम्म सक्ने व्यवस्था छ ।’

साढे सात हजार कर्मचारी आवश्यक

काठमाडौंका १० वटा क्षेत्रमा चुनाव गराउन साढे ७ हजार बढी कर्मचारी आवश्यक रहेको छ । ‘साढे सात हजारभन्दा बढी कर्मचारी आवश्यकता पर्छ भने त्यसलाई सुरक्षा गर्नको लागि त्यो भन्दा ठूलो संख्यामा सुरक्षाकर्मीहरू पनि परिचालित हुनुहुन्छ । यसरी चरण-चरणमा योजनाहरू बनाएर काम गर्दै गइरहेको अवस्था छ,’ उनले भने ।

२५० जना उम्मेदवारका लागि मतदान गर्नेको संख्या ७ लाख १० हजार ७०८ छ । ३२० वटा मतदानस्थल र ८१७ मतदान केन्द्र तोकिएको छ ।

सुरक्षाको राम्रो प्रबन्ध गरिएको भट्टराईले बताए । ‘विगतमा एकदम राम्रोसँग निर्वाचन भएको छ । अहिले विशेष परिस्थितिमा निर्वाचन हुन लागेको छ । निर्वाचनको जहाज उडिसक्यो । यसलाई सुरक्षित ल्यान्ड गर्न मात्रै बाँकी छ । सुरक्षित ल्यान्ड गर्नैपर्छ,’ उनले भने, ‘निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भययुक्त वातावरणमा हुन्छ ।’

२५० उम्मेदार प्रतिस्पर्धामा

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २५० उम्मेदार छन् । क्षेत्र नम्बर १ मा २९, २ मा २८, ३ मा २२, ४ मा २८, ५ मा २५, ६ मा २०, ७ मा २७, ८ मा २२, ९ मा २४ र १० मा २५ गरी २५० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । माघ ६ गते मनोनयको दिन १० वटा निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दिएका थिए । यीमध्ये ४ जनाले फिर्ता लिएका छन् ।

७ लाख १० हजार मतदाता, ८१७ केन्द्र

२५० जना उम्मेदवारका लागि मतदान गर्नेको संख्या ७ लाख १० हजार ७०८ छ । ३२० वटा मतदानस्थल र ८१७ मतदान केन्द्र तोकिएको छ ।

क्षेत्र नम्बर १ मा ४८ हजार ४८९ मतदाता छन् । जहाँ २२ वटा मतदानस्थल र ५७ वटा केन्द्र तोकिएको छ । क्षेत्र नम्बर २ मा ८८ हजार ७०८ मतदाता छन् । जहाँ ४० मतदानस्थल १०० वटा केन्द्र छन् ।६४ हजार ४७९ मतदाता रहेको क्षेत्र नम्बर ३ मा २९ मतदानस्थल र ७२ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर ४ मा ७६ हजार १४१ मतदाता हुँदा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन् ।

क्षेत्र नम्बर ५ मा ७८ हजार ११४ मतदात छन् भने ३१ मतदानस्थल र ९० मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर ६ मा ६७ हजार ७५९ मतदाता रहँदा ३२ मतदानस्थल ७९ केन्द्र छन् ।६७ हजार ४११ मतदाता रहेको क्षेत्र नम्बर ७ मा २९ मतदानस्थल र ७८ केन्द्र तोकिएको छ । क्षेत्र नम्बर ८ मा ५७ हजार ८११ मतदाता छन् । जहाँ २३ मतदानस्थल र ६५ मतदान केन्द्र छन् ।

यस्तै क्षेत्र नम्बर ९ मा ७८ हजार ४९५ मतदाता छन् । सो क्षेत्रमा ३४ मतदानस्थल र ९० मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १० मा ८३ हजार ३०१ मतदाता छन् । जहाँ ४७ वटा मतदानस्थल र ९८ मतदान केन्द्र छन् ।

तस्वीर/भिडियो : कमल प्रसाईं

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?