+
+
Shares

डलर बलियो हुँदा ह्वात्तै घट्यो सुनको भाउ, उतारचढावको सम्भावना कायमै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १७ गते ९:३९

१७ माघ, काठमाडौं । यो साता लगातार नयाँनयाँ रेकर्ड कायम गर्दै बढिरहेको सुनको भाउ शुक्रबार ह्वात्तै घट्यो । नेपाली बजारमा बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यसको दोस्रो दिन शुक्रबार नै तोलामा २० हजार पाँच सय रुपैयाँले नै घटेर तीन लाख १८ हजार ८०० मा झरेको थियो ।

सुनचाँदीको भाउमा यसरी तलमाथि हुने प्रक्रियामा नेपाली बजारको मात्रै भूमिका हुँदैन । यसको अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्ध हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबारसम्म सुनको भाउ प्रतिऔँस पाँच हजार छ सय डलरसम्म पुगेको थियो । शुक्रबार त्यो झरेर चार हजार ८९५ डलरसम्म पुगेको छ । यसरी नयाँ नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको सुनको भाउमा एकाएक भारी गिरावट आएपछि विश्व बजारमा व्यापक चासो र चिन्ता बढेको छ ।

विश्लेषकहरूले अमेरिकी डलर ‘बलियो’ भएपछि सुनको मूल्यमा गिरावट आएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ(फेड)को प्रमुखमा केभिन वार्सलाई मनोनयन गरेपछि फेडको राजनीतिक स्वतन्त्रता सम्बन्धी चिन्ता घटाएकाले डलर बलियो हुनपुगेको विश्लेषकहरूको मत छ ।

यसअघि ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि एक वर्षमा डलर सूचकांक १० प्रतिशतले घटेको थियो । यही कारण पनि सुनको मूल्य बढ्नमा भूमिका खेलेको विज्ञहरूको बुझाइ छ । ट्रम्पको आगमनपछि बढेका भूराजनीतिक तनाव, आर्थिक अनिश्चितता लगायतका कारण लगानीकर्ताको ध्यान डलरबाट टाढिँदै सुन तथा धातुतर्फ तानिएको थियो ।

सुन लामो समयसम्म सुरक्षित राख्न सकिने सम्पत्ति भएकाले अनिश्चितता बढ्दा लगानीकर्ता त्यसको संग्रहतिर लाग्ने गर्छन् । बिहीबारसम्मका १२ महिनामा सुनको मूल्य झण्डै ९० प्रतिशतले बढेको थियो ।

अहिले फेडको नेतृत्वमा वार्स मनोनयन भएपछि एकैदिन शुक्रबार अमेरिकी डलर सूचकांक ०.९ प्रतिशतले बढेको छ । डलर मजबुत हुनथालेपछि लगानीकर्ताको ध्यान त्यतातर्फ पनि तानिन थालेको विश्लेषकहरूले बताएका छन् ।

निकट भविष्यमा अझै सुनको भाउले थप उतारचढाव बेहोर्नसक्ने विश्लेषकहरूको मत छ । केही वैश्विक आर्थिक र भूराजनीतिक जोखिमहरू सन् २०२६को अन्तसम्म कम हुनसक्ने सम्भावना देखिएको छ । जसले सुनको भाउ कम हुनसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?