+
+
Shares

सुनको मूल्यमा महासंघकै जालझेल : बढ्दा बढाइहाल्ने, घट्दा नघटाउने

व्यवसायी संस्थाले मूल्य तोक्नु कानुनद्वारा निषेधित कुरा हो । कुनै पनि व्यापारिक संस्थाले तय गर्ने मूल्य उचित हुँदैन, यसलाई कानुनले ‘कार्टेलिङ’ भन्छ, जुन कानुनद्वारा निषेधित क्रियाकलाप हुँदा पनि त्यसलाई कसैले नियमन गर्न सकिरहेको अवस्था छैन ।

भुवन पौडेल भुवन पौडेल
२०८२ माघ २२ गते २२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय बजारमा १४ माघमा सुनको मूल्य प्रतिऔन्स ५४१५ अमेरिकी डलरमा पुगेको थियो जुन हालसम्मकै उच्च हो।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यसँग तालमेल नगरी सुनको मूल्य तोक्ने गरेको छ र उपभोक्ताले गुनासो गरेका छन्।
  • उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सुनचाँदी व्यवसायी महासंघले मूल्य तोक्नु कानुनद्वारा निषेधित \'कार्टेलिङ\' क्रियाकलाप भएको बताए।

२२ माघ, काठमाडौं । जनवरी २८ अर्थात् १४ माघमा प्रतिऔन्स (३१.१ ग्राम) सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा हालसम्मकै उच्च ५ हजार ४ सय १५ अमेरिकी डलरमा बन्द भयो ।

त्यस दिन सुनको मूल्य २३५.५४ डलरले बढेको थियो । यो भनेको नेपाली रुपैयाँमा (सोही दिनको डलरको मूल्यमा परिवर्तन गरिएको) ३४ हजार ४ सय ९७ हो । बुधबारको वृद्धि नेपाली बजारमा बिहीबार समायोजन भयो । समायोजन हुँदा २० हजार ५ सय रुपैयाँले बढेको भन्दै नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला (११.६६३४ ग्राम) सुनको मूल्य ३ लाख ३९ हजार ३ सय कायम गरिदियो ।

त्यसपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔन्स सुनको मूल्य ३६.५४० डलर अर्थात् ५ हजार ३ सय ५५ रुपैयाँले घट्यो ।  तर, महासंघले शुक्रबार प्रतितोला २० हजार ५ सय रुपैयाँ घटाइ ३ लाख १८ हजार ८ सय कायम गरिदियो ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔन्स सुनको मूल्य ४८४.२३२ डलर अर्थात् ७१ हजार १ सय ४ रुपैयाँले घट्यो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको मूल्य नेपालमा आइतबार समायोजन भयो ।

शनिबार मूल्य निर्धारण नगर्ने भए पनि महासंघले आइतबार मूल्य तोक्यो । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार शनिबार र आइतबार बन्द हुन्छ । महासंघले आइतबार प्रतितोला सुनमा १८ हजार ८ सय रुपैयाँ घटाइ ३ लाख रुपैयाँ तोक्यो ।

त्यसैगरी सोमबारका लागि महासंघले पुन प्रतितोला १३ हजार ४ सय रुपैयाँ घटायो । सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔन्स २३७.७७६ डलर अर्थात् ३४ हजार ९ सय २४ रुपैयाँ घटेको थियो । त्यसपछि महासंघले मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ७ सयले बढायो ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔन्स सुनको मूल्य २८६.६९८ डलर अर्थात् ४१ हजार ८ सय ९५ रुपैयाँ बढेको थियो । महासंघले बुधबारका लागि नेपाली बजारमा सुनको मूल्य १४ हजार ४ सयले बढाउँदै प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ तोक्यो । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔन्स १ सय २४ डलर बढेको छ ।

गत साता बिहीबारदेखि यो साता बुधबारसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔन्स मूल्य ७५८.५३८ डलर अर्थात् १ लाख ११ हजार ३ सय ३८ रुपैयाँ घटेको छ । यो अवधिमा महासंघले कुल ५२ हजार ७ सय रुपैयाँ घटाएको छ ।

नेपालमा सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य तय गर्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उतारचढाव र नेपाली बजारमा महासंघले तोक्ने सुनको मूल्य निर्धारण फरक देखिन्छ । नेपालमा अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव अनुसार समायोजन नगरेकाले पनि सुनको मूल्यमा फरक परेको हो ।

माथि प्रस्तुत गरिएको गत साता बुधबारदेखि यो साताको बुधबारसम्म अन्तर्राष्ट्रिय बजारमा कायम भएको मूल्य र नेपालमा निर्धारण गरिएको मूल्यमा तालमेल नमिलेको पाइएको हो ।

सामान्यतया अन्तर्राष्ट्रिय बजारमा एक दिनअघि कायम भएको सुन मूल्यका आधारमा नेपालमा अर्को दिन समायोजन गर्ने गरिएको छ । तर, जुन दिनको मूल्य निर्धारण हुने हो, त्यस दिन बिहान साढे १० बजे कायम भएको अन्तर्राष्ट्रिय बजार मूल्यसमेत आधार बनाउने गरेको सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष अर्जुन रसाइलीले बताए ।

तर, अन्तर्राष्ट्रिय बजारमा घटे अनुसार नेपाली बजारमा मूल्य समायोजन नहुने गरेको गुनासो उपभोक्ताको छ । व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा घटेको अनुपातमा मूल्य समायोजन नगर्ने र बढ्दा तत्काल गर्ने गरेको गुनासो गर्दै आएको विषय नयाँ होइन ।

तर, पछिल्लो साताको सुनको मूल्य उतारचढाव र महासंघले निर्धारण गरेको मूल्यको प्रवृत्ति पनि जालझेलपूर्ण देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार औन्समा हुन्छ । नेपालमा तोलाका आधारमा कारोबार गरिन्छ । एक औन्समा २.६६७ तोला हुन्छ । साथै, अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार डलरमा हुन्छ ।

सुनचाँदी व्यवसायी अन्तर्राष्ट्रिय बजारमा कायम भएको मूल्य नेपालमा एकदिन ढिला गरी लागु हुन्छ । सुनचाँदी व्यवसायीले मूल्य निर्धारण गर्दा रियल टाइममा मूल्य निर्धारण नहुने, डलरको मूल्य, भारतीय सुन बजारको अवस्था, बैंकहरूले लिने सेवा तथा प्रिमियमलाई देखाउँदै अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपालको नमिल्ने गरेको तर्क गर्छन् ।

तर, व्यवसायीलाई अनेक बहाना देखाएर घट्दा कम तथा ढिला गरी घटाउने र बढ्दा तत्काल बढाउने गरेको आरोप लाग्दै आएको छ । त्यो अरोपमाथि उल्लेख गरिएको मूल्यबाट पनि प्रमाणित हुन्छ ।

त्यति मात्रै होइन, महासंघले पछिल्लो साता सुनमा भएको तीव्र उतारचढावको तथ्यांक आफ्नो वेबसाइटमा पारदर्शी रूपमा राखेको पनि छैन ।

बैंकहरूले व्यवसायीलाई सुन बिक्री गर्दा समान्यतया अन्तर्राष्ट्रिय बजार मूल्यमा ०.५ प्रतिशत लागत जोडी बिक्री गर्ने नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए ।

बैंकबाट व्यवसायीले सुन खरिद गर्दा बिहान साढे १० बजे किन्ने र दिउँसो २ बजे किन्ने अर्को मूल्य फरक पर्न सक्ने उनले बताए । बैंकबाट लगेको मूल्यका आधारमा व्यवसायीले आफैं मूल्य तोक्ने गरेको उनले बताए ।

‘बैंकले व्यवसायीलाई सुन बक्री गर्दा रियल टाइमका आधारमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा दिने भएकाले खुद्रा मूल्य तोक्दा धेरै फरक पर्छ,’ उनले भने, ‘व्यवसायीले कुनै निश्चित समयको कट अफ प्वाइन्टमा त्यो बेलाको इन्टरनेसनल रेट कति छ, त्यसका आधारमा आफ्ना लागत जोडेर निर्धारण गर्ने भए पनि फरक पर्ने नै भयो, जुन हिसाबले बाहिरको बढ्दाखेरी बढी नै रहेको हुन्छ, घट्दा भने बाहिर जति घट्छ त्यो अनुपातमा यहाँ घटेको हुँदैन ।’

आफूले सुनको मूल्यलाई नेपाली रुपैयाँमा परिवर्तन गरेर नहेरे पनि सैद्धान्तिक रुपमा नै मूल्य निर्धारणमा फरक देखिने गरेको उनले बताए ।

महासंघले सुनको खुद्रा मूल्य निर्धारण गर्दा विनिमय दरले फरक पार्ने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष रसाइलीले बताए ।

नेपाली रुपैयाँसँग अमेरिकी डलरको विनिमयदर बढी हुँदा सुनको मूल्यमा पनि फरक गर्ने रसाइलीले बताए । ‘बैंकको प्रिमियम बढ्दा पनि मूल्यमा फरक पर्छ, बैंकले सुन ल्याउँदाको प्रिमियम कहिले ०.२५ हुन्छ, कहिले ०.५ हुन्छ, कहिले ०.७ हुन्छ, त्यो कारणले पनि कहिलेकाहीँ तलमाथि हुन्छ,’ उनले भने ।

नेपालमा बैंकहरूले मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । राष्ट्र बैंकले नै बैंकलाई सुन बेच्दा ०.५ प्रतिशत शुल्क लिन पाउने व्यवस्था गरेको उनले बताए ।

‘त्यसैगरी व्यवसायीको ०.५ प्रतिशत मार्जिन जोडिएको हुन्छ र कहिलेकाहीँ ०.७ प्रतिशत मार्जिन पनि राखिदिएको हुन्छ,’ उनले भने, ‘यिनै कुराले अलिकति फरक पार्छ ।’

सुन आयातमा १० प्रतिशत भन्सार लाग्छ । त्यो पनि मूल्यमा जोडिन्छ । समान्यत: भन्सार १० प्रतिशत बैंक र व्यवसायीको मार्जिन गरी कुल १ प्रतिशत गर्दा बाहिरको तुलनामा सुन सामान्य हिसाबले पनि ११ प्रतिशत महँगो पर्ने उनी बताउँछन ।

त्यसपछि व्यवसायीको नाफालाई पनि त्यसैमा मिलाई मूल्य निर्धारण हुँदा फरक पर्ने रसाइलीले बताए । उनका अनुसार महासंघको मूल्य हरेक दिन बिहान १०:३० बजे अपडेट हुन्छ ।

‘जति नै घटे पनि जति बढे पनि त्यो तलमाथि गर्दैनौं,’ अध्यक्ष रसाइलीले भने, ‘त्यो समयका आधारमा अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार बनाइ भन्सार र लागत जोडेर मूल्य तय हुने गरेको छ ।’

महासंघले सुनचाँदीको भाउ तोक्नै मिल्दैन : उपभोक्ता अधिकारकर्मी

सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोक्नै नमिल्ने उपभोक्ता अधिकारीकर्मी माधव तिमल्सिनाले बताए ।

‘व्यवसायी संस्थाले मूल्य तोक्नु कानुनद्वारा निषेधित कुरा हो,’ तिमल्सिनाले भने, ‘कुनै पनि व्यापारिक संस्थाले तय गर्ने मूल्य उचित हँुदैन, यसलाई हाम्रो कानुनले ‘कार्टेलिङ’ भन्छ, जुन कानुनद्वारा निषेधित क्रियाकलाप हुँदा पनि त्यसलाई कसैले नियमन गर्न सकिरहेको अवस्था छैन ।’

सुनचाँदी व्यवसायी महासंघले तोकेको सुनको मूल्यलाई आधार मान्ने हो भने अन्तर्राष्ट्रिय बजारसँग कुनै तालमेल नहुने उनले बताए । व्यवसयाीले आफूलाई घाटा हुने गरी मूल्य निर्धारण नगर्ने बताउँदै उनले अन्तर्राष्ट्रिय बजार मूल्य के कति थियो भन्दा पनि आफूलाई कसरी नाफा हुन्छ भनेर मूल्य तय हुने तर्क गरे ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?