आसन्न चुनावले यसपटक भने धेरै नयाँ कुरासँग परिचय गराइ रहेको छ ।
चुनावको रोचकता कसले जित्यो र कसले हार्यो भन्ने कुरामा मात्र सीमित हुँदैन । प्रत्येक चुनावमा मानिसहरूको के अपेक्षा छ ? मानिसहरूको अपेक्षा कसरी निर्माण भइरहेको छ ? भन्ने कुरा पनि महत्त्वपूर्ण सावित हुन जान्छ ।
सन् २०२६ सम्म आइपुग्दा भने हरेक लोकतान्त्रिक प्रक्रियाहरूमा प्रविधि व्याप्त भएको छ । कुनै समयमा प्रविधिको दुरुपयोगलाई खतरनाक मान्ने गरिन्थ्यो भने अहिले तिनै खतराहरू भोट बटुल्ने साधन बन्न पुगेका छन् ।
आजभन्दा १० वर्ष अघि क्याम्ब्रिज एनालिटिकाको समाचार विश्वभर तरंग ल्याउने घटनाहरूमध्येको एक थियो ।
डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपति निर्वाचनको प्रचार अभियानमा संलग्न गरेको एक सूचना विश्लेषण संस्थाले ५ करोड फेसबुक प्रयोगकर्ताबारे सूचनाहरू बिनाअनुमति प्रयोग गरेको कुरा खुलेको थियो ।
यिनै सूचनाहरूको सहायताबाट यस्तो सफ्टवेयरको निर्माण भएको थियो, जसले फेसबुक प्रयोगकर्ताहरूको रुचि अनुसार ट्रम्पको पक्षमा सकारात्मक धारणाको निर्माण गर्नमा प्रयोग भएको थियो । त्यसबेला ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको भनिए पनि पछि फेसबुकले ८ करोड ७० लाख प्रयोगकर्ता प्रभावित भएको स्वीकार गरेको थियो।
जति नै आलोचना भए पनि त्यसपछिको निर्वाचनहरूमा भने यिनै तरिकाहरू भरमार प्रयोग हुँदै आयो । त्यसपछि वैश्विक रूपमा नै चुनावहरू वैचारिक प्रष्टताको प्रतिस्पर्धा नभएर एल्गोरिदमको प्रतिस्पर्धामा परिवर्तन हुन थालेको देखिन्छ।
‘अदृश्य अभियान‘ को सुरुवात
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन र बेलायतको ब्रेक्जिट जनमत संग्रहले एउटा नयाँ प्रकारको युद्धको परीक्षण गर्यो द गार्डियन र द न्युयोर्क टाइम्सका तत्कालीन रिपोर्टहरूले ‘साइकोग्राफिक माइक्रो-टार्गेटिङ’ को पर्दाफास गरेका थिए।
यस प्रविधिमार्फत उम्मेदवारहरूले जनतालाई सामूहिक रूपमा नभई व्यक्तिगत रूपमा प्रभाव पार्न थाले। फेसबुक जस्ता प्लेटफर्मबाट मतदाताको व्यक्तिगत रुचि, बानी र स्वभावको डेटा संकलन गरियो।
यदि कुनै मतदाता डराउने स्वभावको छ भने उसलाई अपराध वा आर्थिक संकटहरूसंग सम्बन्धित विज्ञापनहरू पठाइयो । यो ‘डार्क एड’ को युग थियो जहाँ विज्ञापनदाता र लक्षित व्यक्तिबाहेक अरू कसैले पनि ती सन्देशहरू देख्न सक्दैनथे । यसले गर्दा तथ्यहरूको जाँच गर्न असम्भव हुन्थ्यो।
सन् २०१९ मा युक्रेनमा भएको राष्टपतिको चुनावमा जेलेन्स्की पनि यिनै प्राविधिक आधारमा टेकेर निर्वाचित भएका थिए । जेलेन्स्कीको टोलीले डिजिटल रणनीतिकार मिखाइलो फेडोरोभको नेतृत्वमा सामाजिक सञ्जालका ‘एल्गोरिदम’हरू विशेष गरी इन्स्टाग्रामको प्रयोग गरेर एक ‘इन्फोटेनमेन्ट’ शैलीको चुनावी अभियान सञ्चालन गरेको थियो। यस अभियानले सामाजिक सञ्जालका लाइक र फलोलाई मतदाताको सक्रियता र संलग्नतामा परिणत गरिदिएको थियो।
एल्गोरिदमको खास समय
सन् २०२० को दशकको सुरुतिर भने मतदाताहरूलाई प्रभावित पार्नका लागि एल्गोरिदमको झनै प्रयोग गर्न थालियो ।
विभिन्न रिपोर्टहरूको मानिसहरूको परम्परागत सञ्चारमाध्यमप्रतिको विश्वास घट्दै गयो । मानिसहरू समाचारका लागि सामाजिक सञ्चालको एल्गोरिदममा निर्भर हुन थाले।
फेसबुक, एक्स र युट्युबका एल्गोरिदमहरूले मानिसलाई बढीभन्दा बढी समय अलमल्याउनका लागि विवाद र अतिरञ्जित क्रोध जस्ता कुराहरूलाई बढी प्राथमिकता दिन थाले। यसले मतदाताहरूलाई आफ्नै विचार मिल्ने समूहमा मात्र सीमित गरिदियो र भिन्न विचारहरूप्रति असहिष्णु बनाइदियो जसलाई इको चेम्बरको नामले चिनिन्छ ।
सन् २०२० को अमेरिकाको राष्ट्रपतीय चुनावमा इको चेम्बरको प्रयोग अत्यधिक रूपमा भएको थियो जसबाट आम जनमानस तीव्र रुपले ध्रुवीकृत भएको थियो । रिपोर्टहरूका अनुसार, ७५ प्रतिशत सामाजिक सन्जालका प्रयोगकर्ताहरूले केही निश्चित र झुटा सूचनाहरू प्रयोग गरेका थिए ।
अटोमेटेड र एआई जेनेरेटेड समाचारहरूले राजनीतिक विचारहरूको सम्प्रेषण गर्ने क्रम पनि बढीरहेको थियो जसलाई पिंक स्लाइम जर्नालिज्म पनि भनिन्छ ।
त्यस्तै गरी सन् २०२२/२३ को बीचमा युरोपमा भएका पपुलिस्ट मुभमेन्टहरूलाई एल्गोरिदमको प्रयोगले उकासेको थियो । उदाहरणस्वरूप फ्रान्समा भएको निर्वाचन पनि पपुलिस्ट मुभमेन्ट थियो जसमा अल्गोरिदमको अत्यधिक प्रयोग भएको थियो ।
२०२४ पछिको समय
सन् २०२४ इतिहासकै सबैभन्दा व्यस्त चुनावी वर्ष थियो, जहाँ विश्वको आधा जनसंख्याले मतदान गरे। त्यस वर्ष ‘जेनेरेटिभ एआई’ चुनावी अभियानको मुख्य हिस्सा बन्यो।
एसियाली देशहरूमा निर्वाचनको समयमा एआईको प्रयोग उम्मेदवारको छवि सुधार्न गरियो । द गार्डियन को रिपोर्ट अनुसार इन्डोनेसियामा एक पूर्व सैनिक जनरललाई एआई मार्फत ‘क्युट’ एनिमेसन र टिकटक डान्स ट्रेन्डको सहयोगमा ‘मायालु हजुरबुबा’ का रूपमा पुन: ब्रान्डिङ गरियो।
सन् २०२४ कै भारतको लोकसभा निर्वाचनलाई पहिलाे एक आई चुनाव भनेर पनि भन्ने गरिन्छ।
दक्षिण भारतमा, विशेषगरी तमिलनाडुमा, यसको सबैभन्दा बढी प्रभाव देखियो ।
सन् २०१८ मा निधन भएका डिएमकेका भीष्म पितामह करुणानिधिलाई एआईमार्फत भिडियोमा देखाइयो। उनले आफ्नो पार्टीको सरकारले गरेका कामको प्रशंसा गर्दै र आफ्ना छोरा (वर्तमान मुख्यमन्त्री एमके स्टालिन) को तारिफ गर्दै भोट मागेका थिए ।
त्यस्तै गरी सन् २०१६ मा निधन भएकी जयललिताको स्वर एआईमार्फत सिर्जना गरी अडियो सन्देशहरू जारी गरिए । जसमा उनले वर्तमान सरकारको आलोचना गर्दै आफ्नो पार्टीलाई जिताउन अपील गरेकी थिइन्।
एआईको प्रयोग ‘मृत नेताहरूलाई जीवित’ गराउन गरियो । मृत नेताहरूको स्वर र भिडियो एआईमार्फत बनाएर उम्मेदवारको समर्थनमा बोल्न लगाइयो । यसले इतिहास र प्रोपागान्डा बीचको रेखालाई अझ धुमिल बनाइदियो ।
अहिलेको समय
आज २०२६ मा आइपुग्दा चुनावी क्षेत्र केवल डिजिटल मात्र रहेन, यो पूर्ण रूपमा कृत्रिम भएको छ। अहिले मतदातालाई प्रभाव पार्ने दुई मुख्य तत्वहरू छन्: ‘एजेन्टिक एआई’ र ‘इन्फ्लुएन्सर’ राजनीति।
सन् २०२६ को सुरुमा प्रकाशित एक रिपोर्ट अनुसार ‘एआई बट’ हरूले अहिले मानिस जस्तै कुराकानी गर्न सक्छन्। यस्ता बटहरूले ह्वाट्सएप र डिस्कोर्ड जस्ता प्लेटफर्ममा छिरेर मानिसहरूसँग बहस गर्ने र समाजमा भ्रम फैलाउने काम गरिरहेका छन्। यिनीहरूलाई पहिचान गर्न लगभग असम्भव छ।
रोयटर्स डिजिटल न्यूज रिपोर्ट २०२५ का अनुसार अहिलेका मतदाताहरूले टेलिभिजनका समाचार भन्दा युट्युब र टिकटकका ‘इन्फ्लुएन्सर’ हरूलाई बढी विश्वास गर्छन्। उम्मेदवारहरू पनि पत्रकारका कडा प्रश्नहरूको सामना गर्नुभन्दा आफू अनुकूलका इन्फ्लुएन्सरहरूलाई अन्तर्वार्ता दिन रुचाउँछन्।
नेपालको सन्दर्भमा
भूगोलबाट सामाजिक सञ्जालमा सरेको यो पहिलो चुनाव हुनेछ । यसभन्दा अघि समाजिक सञ्जालको प्रयोग नभएको त हैन । तर अहिलेको निर्वाचन भने प्राथमिक रूपमै सामाजिक सञ्जालबाटै लडिँदैछ।
टिकटकमा अहिले एउटा भिडियो भाइरल भएको छ।
एउटा बालकले सोध्छ, ‘भोट कसलाई हाल्छस् ए सौरे !’
‘बालेनलाई नि हो, कसले हाल्छ केपीलाई ?’
त्यसपछि प्रश्नकर्ता बालक भन्छ, ‘धन्न, केपीलाई भनेको भए ढुंगाले हानेर मारिदिन्थेँ।’
यस्तै खालका भिडियो सामग्रीहरू भिन्न पात्र र परिवेशमा अत्यधिक सङ्ख्यामा बनाइएको भेटिन्छ।
यहाँ प्रश्न केपी ओली या बालेनको चयनको मतभिन्नताबारे होइन । प्रश्न हिंसालाई प्रेरित गर्ने अभिव्यक्तिको बारेमा हो ।
निर्वाचनको समयमा विशेष गरी टिकटकमा सामाजिक हिंसा भड्काउने खालको कन्टेन्टहरू छ्याप्छ्याप्ती भेटिइरहेका छन् । प्रचलित धार अनुसार अलिक भिन्न मत राख्ने व्यक्तिहरूप्रति उपहास र हिंसाको भाव जनाउनु ट्रेन्डको विषय बनेको छ ।
फेसबुकमा पनि कुनै निश्चित विचार या पार्टीमा आस्था राख्ने मानिसहरूलाई अनैतिक र अस्वीकार्य मानिएको एआई जेनेरेटड भिडियोहरू छरपष्ट भेटिएको छ। त्यस्ता भिडियाेहरू यदि मनोरञ्जनात्मक उद्देश्यले बनाइएको भए पनि हिंसालाई प्रवर्द्धन गर्ने किसिमका छन्।
लभगभ एक दशक अगाडिदेखि संसारमा कायम रहेको ‘वास्तविक भूमिदेखि डिजिटल भूमिसम्म स्थानान्तरण ‘ नेपालमा भने अब मात्र प्रधान विषय बन्न लागेको छ। जनताको चाहना नै देशको चहाना मानिनु पर्ने ठाँउमा प्रविधिको दुरुपयोग मार्फत जनताको विवेकमा अतिक्रमण गरिनुले लोकतान्त्रिक निर्वाचनका आयामहरूमा भने खलल पुग्ने देखिन्छ।
प्रतिक्रिया 4