+
+
Shares

अरिजित सिंहको फिल्ममा नवाजुद्दीन सिद्दीकीकी छोरी शोराले डेब्यू गर्ने चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अरिजीत सिंहले बलिउडमा पाश्र्व गायनबाट सन्यास लिने घोषणा गरेपछि निर्देशन क्षेत्रमा पाइला चाल्ने तयारी गरिरहेका छन्।
  • उनी १५ वर्षीया नवाजुद्दीन सिद्दीकीकी छोरी शोरा सिद्दीकी अभिनीत फिचर फिल्म निर्देशन गर्ने तयारीमा छन्।
  • फिल्म जङ्गलको कथामा आधारित छ र अरिजीत र उनकी पत्नी कोयलले मिलेर लेखेका छन्, छायाङ्कन सुरु भइसकेको बताइएको छ।

मुम्बई । अरिजीत सिंहले बलिउडमा पाश्र्व गायनबाट सन्यास लिने घोषणा गरेको केही दिनमै आफ्नो सिर्जनात्मक यात्रामा नयाँ पाइला चाल्ने तयारी गरिरहेका छन् । खबरअनुसार अब उनी निर्देशनको क्षेत्रमा पाइला टेक्दैछन् ।

गायक सिंहले आफ्नो ‘म्युजिक लेबल’ मार्फत स्वतन्त्र संगीतलाई भने निरन्तरता दिने स्पष्ट पारेका छन् । यद्यपि, नयाँ रिपोर्टका अनुसार अब उनको मुख्य ध्यान फिल्म निर्माणमा हुन सक्छ ।

स्रोतका अनुसार, ३८ वर्षीय यी गायक एउटा फिचर फिल्म निर्देशन गर्ने तयारीमा छन् । यसै फिल्ममार्फत चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकीकी छोरी, १५ वर्षीया शोरा सिद्दीकीले अभिनयमा डेब्यु गर्दैछिन् ।

शोरा हाल लण्डनमा अभिनयको कोर्स गरिरहेकी छन् । जानकारीअनुसार यस प्रोजेक्टको नाम अहिलेसम्म तय गरिएको छैन ।

अरिजीतले पाश्र्व गायनबाट विश्राम लिने घोषणा गरेपछि चलचित्र र संगीत क्षेत्रमा निकै चर्चा चुलिएको छ । प्रशंसक र यस क्षेत्रका जानकार यो निर्णयको पछाडि के कारण होला भनेर अड्कलबाजी गरिरहेका छन् ।

स्रोतका अनुसार यो फिल्म देशभरका दर्शकलाई लक्षित गरिएको र जङ्गलको कथामा आधारित छ । यस फिल्मलाई अरिजीत र उनकी पत्नी कोयलले मिलेर लेखेका हुन्, जसले यस प्रोजेक्टमा उनीसँग नजिक रहेर काम गरिरहेकी छन् ।

रिपोर्टमा उल्लेख गरिएको एक स्रोतका अनुसार, अरिजीत लामो समयदेखि यस फिल्मप्रति निकै उत्साहित थिए । धेरै फिल्ममा गीत गाउने जिम्मा लिइरहँदा यो प्रोजेक्टलाई न्याय गर्न गाह्रो हुने ठानेर नै उनले यस्तो निर्णय लिएको बताइएको छ ।

यस फिल्मलाई महावीर जैन फिल्म्स, एल्काद्युति फिल्म्स र गड ब्लेस इन्टरटेनमेन्टले निर्माण गर्ने बताइएको छ । केही रिपोर्ट अनुसार छायाङ्कन सुरु भइसकेको छ । यद्यपि, गायक सिंह वा निर्माण टोलीबाट यसबारे आधिकारिक जानकारी भने आएको छैन ।

अरिजीतले सन् २०२१ को फिल्म ‘पग्लेट’ बाट बलिउडमा संगीतकारको रूपमा पाइला टेकेका थिए, जसको सरल र भावपूर्ण संगीतको निकै प्रशंसा भएको थियो । संगीतबाट निर्देशनतर्फको उनको यो यात्रालाई धेरैले विशाल भारद्वाज जस्ता सफल कलाकारसँग तुलना गरेका छन्, जो संगीतबाट निर्देशनमा आएर निकै कहलिएका छन् ।

हालसम्म, अरिजीतले आफ्नो निर्देशकीय डेब्युको बारेमा कुनै सार्वजनिक आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?