+
+
Shares

‘फिल्म गायन’ छाड्ने अरिजित सिंहको घोषणाबारे के भन्छन् नेपाली संगीतकर्मी ?

प्रशस्तै नेपाली पाश्र्वगीतमा संगीत दिएका अर्जुन पोखरेलले अरिजितको प्रशंसा गर्दै लेखेका छन्, ‘जति सुने पनि धीत नमर्ने, मन कहिल्यै नअघाउने आवाज र गायन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय गायक अरिजित सिंहले अबदेखि फिल्म गायन नगर्ने घोषणा गरेका छन् जसले बलिउड र नेपाली संगीतकर्मीहरूमा निराशा छाएको छ।
  • नेपाली गायक प्रताप दासले अरिजितको संगीत सधैँ कालजयी रहने र अब स्वतन्त्र भएर बहने बताएका छन्।
  • अरिजितको निर्णयपछि नेपाली र भारतीय संगीतकर्मीहरूले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्रामा शुभकामना दिएका छन्।

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले अबदेखि फिल्म गायन नगर्ने घोषणा गरेपछि उनका प्रशंसक स्तब्ध बनेका छन् । बलिउड मात्र होइन, नेपाली संगीतकर्मीले पनि निराशा व्यक्त गरेका छन् ।

नेपाली पाश्र्वगायनमा सक्रिय केही संगीतकर्मीले सिंहको प्रशंसा गर्दै उनको स्टाटस सेयर गरेका छन् । प्रशस्तै नेपाली पाश्र्वगीतमा संगीत दिएका अर्जुन पोखरेलले अरिजितको प्रशंसा गर्दै लेखेका छन्, ‘जति सुने पनि धीत नमर्ने, मन कहिल्यै नअघाउने आवाज र गायन ।’

युवापुस्ताका चर्चित गायक प्रताप दासले अरिजितको अबको सांगीतिक यात्रा अझै स्वतन्त्र भएर बहने बताएका छन् । उनले अरिजितको संगीत सँधै कालजयी रहनेछ भनेर लेखेका छन् ।

२ वर्षअघि सिंहले काठमाडौंमा प्रस्तुति दिएका थिए । त्यतिबेला उनको कन्सर्टमा सहभागी हुँदाको भिडियो क्लिप सेयर गर्दै दासले लेखेका छन् : तपाईँले प्लेब्याक गायनबाट विश्राम लिने निर्णय मात्र लिनुभएको हो । एउटा यस्तो आवाज जसले अनगिन्ती फिल्महरूमा प्राण भर्‍यो । अब त्यो सिनेमाको घेराभन्दा बाहिर झन् स्वतन्त्र भएर बहनेछ । प्लेब्याक होस् वा नहोस्, तपाईँको संगीत सधैँ कालजयी रहनेछ । किनकि केही आवाजहरू पर्दाका लागि मात्र हुँदैनन्, ती त सीधा आत्मासँग जोडिन्छन् । तपाईँको आगामी सांगीतिक यात्रामा शान्ति, स्वतन्त्रता र मिठासको कामना गर्दछु । नेपालबाट धेरै धेरै माया !’

गायक पुष्पण प्रधानले पनि अरिजितले प्लेब्याक भोकलिस्टको रुपमा सन्यास लिएपछि उनको योगदानको प्रशंसा गर्दै टिप्पणी गरेका छन् ।

प्रधान लेख्छन्, ‘उनी ज्ञानीपनि गुणीपनि । सायद अब उनी स्वतन्त्र भएर…चराले जसरी, हावाले जसरी, सागर, खोलाले जसरी, रुख-पातले जसरी कुनै सीमा र धेरामा नबाँधिएर गाउन जाँदैछन्, आफ्नै निम्ति, आफ्नै मनको ‘ईश्वर’–को निम्ति । ल सिर्जनाको यो अध्याय दिव्य बनोस् । अहिलेसम्मकै सबै तपाईँका कीर्ति र कीर्तिमानभन्दापनि अद्वितीय होस् । केही त बुझाउनलाई नै हो यो पहल । त्यसैका लागि शुभकामना ।’

अभिनेत्री वर्षा सिवाकोटीले दुःखी हुँदै अरिजितको स्टाटसमा रोइरहेको इमोजी कमेन्ट गरेकी छन् । नेपाली फिल्म सशान कँडेलले अरिजितको स्टाटस सेयर गर्दै लेखेका छन्, ‘अरिजित सिङ्को आवाज अबदेखि प्लेब्याक सिंगरको रुपमा सुन्न नपाइने भयो । सार्है दुखद, कारण के हुन सक्छ ?’

अन्य नेपाली संगीतकर्मी, फिल्मकर्मी र सेलिब्रेटीले पनि अरिजित सिंहको सन्यासप्रति प्रतिक्रिया दिएका छन् । नेपालमा समेत अरिजितको निकै ठूलो क्रेज छ । अरिजित युट्युब चार्ट्समा नेपालमा सबैभन्दा धेरै सुनिने संगीतकर्मी हुन् ।

४० वर्षको उमेरमै पाश्र्वगायन छाड्ने सिंहको घोषणापछि बलिउड र भारतीय सिनेमा जगत पनि तरंगित बनेको छ । उनी केही समयदेखि बलिउड थलो मुम्बईमा बसोबास गर्दैनन् । उनी नेपालसँग सीमा जोडिएको भारतीय राज्य पश्चिम बंगालको मुर्सिदाबादमा बसोबास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?