+
+
Shares

जनावरहरूले ‘हेल्लो’ त भन्छन्, तर के उनीहरू ‘गुड बाई’ पनि भन्छन् ?

कतिपय वैज्ञानिकहरू अझै पनि जनावरको बिदाइलाई लिएर शंकास्पद छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रख्यात प्राणीशास्त्री जेन गुडअलले चिम्पान्जीहरूको अभिवादन व्यवहारमा हजारौं तरिका देखिन् र सन् २०१९ मा बेलायती राजकुमार ह्यारीसँग चिम्पान्जी शैलीमा अभिवादन गरिन्।

विश्वप्रख्यात प्राणीशास्त्री जेन गुडअल चिम्पान्जीहरूको व्यवहार बुझ्न माहिर थिइन् । उनीहरूको नक्कल गर्न पनि उनी उस्तै थिइन् । त्यस्तै एउटा भेटमा उनले चिम्पान्जीहरूको नक्कल गरेको घटना निकै चर्चित छ ।

सन् २०१९ मा उनको र ‍बेलायती राजकुमार ह्यारीको भेट भएको थियो । त्यसबेला उनले राजकुमार ह्यारीसँग मानिसहरूले झैँ हात मिलाइनन् । बरू ओठ गोलो बनाएर चिम्पान्जीले जस्तै ‘स्वाँ-स्वाँ’ आवाज निकाल्दै ह्यारीतिर अघि बढिन्, टाउकोमा धाप मार्न लगाइन् र मधुरो स्वर निकाल्दै अंकमान गरिन् ।

अर्थात् त्यसबेला उनले चिम्पान्जीहरूले झैं राजकुमार ह्यारीलाई अभिभादन (हेल्लो) गरेकी थिइन् ।

आफ्नो करियरको दौरान गुडअलले चिम्पान्जीहरूमा त्यस्ता हजारौं अभिवादन शैलीहरू देखिन् । तिनीहरू कहिलेकाँही ओठ जोड्थे, एकअर्काको खुला मुखमा सास फेर्थे, दुई खुट्टामा उभिएर अंकमाल गर्थे ।

जसरी चिनजानमा रहेका मान्छेहरू एकअर्कासँग भेटन्छन्, शैली फरक होस्, अभिवादन गर्छन् । त्यस्तो चलन प्राणी जगतभरि नै पाइन्छ । कुकुरहरू एकअर्काको पुच्छरमुनि सुँघ्छन् । अफ्रिकी हात्तीहरू सुँड हल्लाउँछन् । चराहरू एकअर्काको प्वाँख ठुङ्छन् । ओर्का (माछाको एक प्रकार)हरू एकअर्काको अगाडि ताँती लागेर उभिन्छन् र त्यसपछि जिस्कँदै पुच्छरले हिर्काउने र सिठी बजाउने गर्छन् ।

प्राणी जगतमा अभिवादनका यी व्यवहारहरू यति व्यापक छन् कि यो मानव विकासभन्दा धेरै अघिदेखि सुरु भएको मानिन्छ । तर, ‘हेल्लो’ त्यति प्राचीन हुँदा एउटा प्रश्नले वैज्ञानिकहरूलाई सधैँ अलमलमा पारिरहेको छ, के जनावरहरूले पनि मान्छेले जस्तै ‘बिदाइ’ (गुडबाई) गर्छन् त ?

लामो समयसम्म त्यस्तो बिदाइ मान्छेले मात्र गर्छन् भन्ने वैज्ञानिक वृत्तमा मत छ । तर हालैका केही अध्ययनले यो सोचलाई चुनौती दिएको छ । भलै, यो बिदाइबारे केही धेरै सिद्धान्तहरू जन्मिए ।

जस्तो,
सन् २०१३ मा गुडअलले ‘उन्डा’ नामको एक चिम्पान्जीलाई कंगोको संरक्षण क्षेत्रमा छोड्दाको दृश्यलाई लिऔं । जङ्गलमा पस्नुअघि उन्डाले गुडअललाई केही सेकेन्डसम्म अँगालो हालेको थियो ।

गत अक्टोबरमा गुडअलको निधन भएपछि धेरैले त्यो भिडियोलाई उन्डाले ‘बिदाइ’ गरेको भनी व्याख्या गरे । भलै, जेन गुडअल इन्स्टिच्युटले त्यसलाई केवल ‘धन्यवाद’ दिएको रूपमा मात्र अर्थ्यायो ।

सन् २०१६ मा गरिएको एक अध्ययनले चिम्पान्जीहरूमा सयौं अभिवादनका तरिकाहरू फेला पारे पनि ‘बिदा माग्ने’ कुनै ठोस व्यवहार फेला पार्न सकेको थिएन । अक्सफोर्डकी प्राणीशास्त्री सुसाना कार्भाल्होका अनुसार मान्छेले बाहेक जनावरहरूले बिदाइ गर्छन् भन्ने धारणा नै अस्तित्वमा थिएन/छैन ।

बिदाइ : मानिसको मात्र विशेषता ?

कतिपय वैज्ञानिकहरू ‘बिदाइ’ गर्ने बानी अभिवादनभन्दा धेरै पछि र छुट्टै विकसित भएको मान्छन् । केही अनुसन्धानकर्ताका अनुसार बिदाइ गर्नका लागि भविष्यको योजना बनाउने वा कल्पना गर्ने क्षमता चाहिन्छ, जुन धेरै जनावरहरूमा हुँदैन अथवा नहुन सक्छ । त्यसकारण नै ‘यदि फर्केर आउँदा कसैले सम्झिँदैन भने किन बिदाइ गर्ने ?’ कार्भाल्होको तर्क थियो ।

तर केही वर्षअघि उनै कार्भाल्हो र लुसी बेरेनले ‘चाक्मा बेबुन’हरूको भिडियो विश्लेषण गर्दा एउटा सूक्ष्म शारीरिक चाल फेला पारे, जुन तिनीहरूले समूहबाट छुट्टिनु ठीक अघि मात्र गर्थे ।

उनीहरूले यसलाई मानव बाहेकका जनावरमा ‘बिदाइ’ को पहिलो प्रमाणका रूपमा प्रकाशित गरेका छन् । मानिस र बेबुनहरू दुई करोड वर्षभन्दा पहिले छुट्टिएका हुन्, त्यसैले यो व्यवहार धेरै प्राचीन हुन सक्ने उनीहरूको निष्कर्ष छ ।

मानिसका लागि बिदाइको अर्थ

समाजशास्त्री अर्भिङ गोफम्यानका अनुसार बिदाइले कुनै पनि भेटघाटलाई स्पष्ट रूपमा टुङ्ग्याउँछ र सम्बन्धलाई भविष्यका लागि सुरक्षित राख्छ । उनले ‘असफल प्रस्थान’ (फेल्ड डिपार्चर) को रमाइलो उदाहरण पनि दिए ।

जस्तै,
जब दुई व्यक्तिहरू बिदाइ गरेर छुट्टिन्छन् । तर पछि दुवै एउटै दिशातिर हिँड्न पुग्छन्, तब एक किसिमको अप्ठ्यारोपन महसुस हुन्छ । यसैलाई फेल्ड डिपार्चरको उपमा दिइएको हो ।

संसारभर बिदाइका शैलीहरू संस्कृतिअनुसार फरक पाइन्छन् । कतै गालामा चुम्बन गर्ने चलन छ भने कतै हात मिलाउने । चीनमा बिदाइको भोजमा लामो चाउचाउ खुवाइन्छ (लामो यात्राको प्रतीक), तर नास्पाती काटिँदैन किनकि चिनियाँ भाषामा ‘नास्पाती’ र ‘बिछोड’ को उच्चारण उस्तै हुन्छ । बेलायत वा अन्य देशहरूमा बिदाइको प्रक्रिया निकै लामो हुन सक्छ, जहाँ ढोकामा पुगेर पनि कुराकानी टुङ्गिँदैन ।

यसरी मान्छेका लागि ‘हेल्लो’ जति महत्त्वपूर्ण हो, ‘गुड बाई’ पनि त्यति नै महत्त्वपूर्ण हो । तर, के जनावरहरूले साँच्चै बिदाइ गर्छन् ?

कतिपय वैज्ञानिकहरू अझै पनि जनावरको बिदाइलाई लिएर शंकास्पद छन् । इभेलिना ड्यानिएला रोड्रिग्वेज जस्ता अनुसन्धानकर्ताका अनुसार बेबुनहरूले गर्ने व्यवहार केवल ‘निस्कने संकेत’ मात्र हुन सक्छ, ‘बिदाइ’ नै हो भन्न गाह्रो छ ।

उसो कुकुर र बिरालाहरूले हामी बाहिर जान लाग्दा गुनासो गरे झैँ व्यवहार गर्छन्, तर तिनीहरूले ‘म दुई हप्तामा फर्कन्छु’ भन्ने कुरा बुझ्न सक्दैनन् ।

यद्यपि, केही प्राणीशास्त्रीहरू भने जनावरलाई कम आँक्न नहुने बताउँछन् । चिम्पान्जीहरूले आफूले वर्षौंदेखि नदेखेका साथीहरूलाई सजिलै चिन्न सक्छन् र उनीहरूमा मृत्युको चेतना पनि हुन्छ ।

सेन्ट एन्ड्रुज विश्वविद्यालयका क्याट होबाइटरका अनुसार सायद अरू प्राणीहरूलाई हामीलाई जस्तो बिदाइको खासै आवश्यकता पर्दैन ।

आखिरमा गोफम्यानले भनेझैं बिदाइले हाम्रो सामाजिक सम्बन्धलाई व्यवस्थापन गर्छ । यसले हामी सधैंका लागि हराउन लागेका होइनौं र फेरि भेट्दा सम्बन्ध त्यहींबाट सुरु हुनेछ भन्ने यो संकेत दिन्छ ।

तर, प्राणी जगतको अध्ययनले मान्छेहरूले एउटा सानो सन्देशलाई पनि कति जटिल बनाएका रहेछन् भन्ने बुझाउँछ । सायद बेबुनका लागि त शरीर अलिकति मोडेर हिँड्नु नै पर्याप्त बिदाइ हो । किनकि, यहाँ बिदाइका अनेकन् तौरतरिका छन् ।

न्यूयोर्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?